s

खाडीबाट एक लाख १७ हजार कामदार माग

होम कार्की

काठमाडौँ — कोरोनाको संक्रमणको दोस्रो लहर चलिरहेका बेला मलेसियाबाहेकका प्रमुख श्रम गन्तव्यका रोजगारदाता कम्पनीले नेपालबाट झन्डै एक लाख १७ हजार कामदार लैजान मागपत्र प्रमाणीकरण गरेका छन् । ती देशले निर्माण क्षेत्रमा बढी कामदार लैजान माग पेस गरेका हु्न् । कामदारको माग भए पनि कोरोना संक्रमणले उडान रोकिएका कारण उनीहरु गन्तव्य देश जान भने पाएका छैनन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र ओमान, साइप्रस, रोमानियास्थित रोजगारदाताले नेपाली कामदारको माग गरेको हो । प्रमुख गन्तव्य मुलुक मलेसिया र कुवेतले भने कामदारको माग गरेका छैनन् ।

संघका महासचिव सुजित श्रेष्ठका अनुसार सबैभन्दा बढी कतारबाट ५० हजार, साउदी अरबबाट २६ हजार, साइप्रसबाट १७ हजार, संयुक्त अरब इमिरेट्स (यूएई)बाट ५ हजार, रोमानियाबाट ९ हजार, बहराइनबाट १७ सय र ओमानबाट १५ सय जना नेपाली कामदारको माग भएको हो । ‘साइप्रस बाहेकका देशमा निर्माण क्षेत्रमा उच्च माग छ । कतारको एउटै कम्पनीले ३ हजार सम्म कामदार माग गरेको छ,’ उनले भने, ‘सेवा क्षेत्रमा अझै माग भएको छैन ।’ साइप्रसमा भने घरेलु महिला कामदारको उच्च माग छ । युएईबाट सरकारी, अर्धसरकारी र फ्री जोन क्षेत्रका लागि कामदार माग भएको छ । ‘सबै व्यवसायीले ल्याएको मागपत्रको हामीले आन्तरिक रेकर्ड राखेका छौं । म्यानपावर कम्पनीमा झन्डै चार लाख नेपालीले जानको लागि आवेदन दिएका छन् । यो निकै उच्च संख्यामा आवेदन परेको छ,’ उनले भने ।

खाडीस्थित नेपाली दूतावासले रोजगारदाताबाट आउने मागपत्रलाई प्रमाणीकरण गरिरहेको छ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धाजले विश्वकप फुटबलको समय नजिकिदै आइरहेकाले कतारले आफूकहाँ निर्माणाधीन आयोजनाहरुलाई छिटो सम्पन्न गर्नतर्फ ध्यान दिएकाले कामदारको माग बढेको उनले बताए । ‘छिटो र छरितो प्रक्रियाबाट कामदार लैजानको लागि कतार सरकारले नेपालको सहजीकरण पनि खोजिरहेको छ,’ उनले भने, ‘श्रम सम्झौताको प्रक्रियाभित्र रहेर सहजै कामदार भर्ना गर्ने वातावरण बनाउनका लागि माथिल्लो निकायमा कुरा राखेको छु ।’

कतारले गत मार्चको २२ देखि कामदारको न्युनतम तलब एक हजार रियाललाई कार्यान्वयनमा ल्याएको छ । राजदूत भारद्धाजले कतारसँगको हवाई उडानलाई पनि निरन्तर दिनको लागि सरकारलाई अनुरोध गरेको बताए । ‘कामदारको उच्च माग छ । स्वास्थ्य मापदण्ड पूरा गरेर कामदार ल्याउन कतारले रोकेको छैन । यहाँ आइसकेपछि होटल क्वारेन्टाइनमा राखी पीसीआर परीक्षण गरेर मात्रै कम्पनीलाई पठाउने गरेको छ,’ उनले भने, ‘हवाइ उडान रोक्न जरुरी छैन ।’ 

संघका महासचिव श्रेष्ठले निषेधाज्ञाका कारण कामदार भर्ना प्रक्रिया भने पूर्ण रूपमा प्रभावित भएको बताए । ‘मागपत्र छ । अन्तर्वार्ता लिन विभागबाट स्वीकृति पनि छ तर एकातिर अन्तर्वार्ता लिन सकिएको छैन, अर्कोतिर भिसा आइसकेको कामदारलाई अभिमुखीकरण तालिम गर्न रोकिएको छ,’ उनले भने, ‘गन्तव्य देशमा कोरोना संक्रमणलाई नियन्त्रण गर्ने मापदण्डलाई पूर्ण पालना गरिरहेकाले कामदारलाई छिटो पठाइदिन अपेक्षा राखेको छ ।’

खाडी क्षेत्रमा यूएई र कुवेतले मात्रै नेपालबाट आउने उडानलाई रोकेका छन् । कतार, साउदी, बहराइन, ओमान, साइप्रस लगायत देशले भने नेपाली कामदार आउन प्रतिबन्ध लगाएका छैनन् । बरु साउदीले भारतबाट आउने उडान रोकेपछि नेपालको हवाइ उडान प्रयोग गरिरहेको छ । ‘खाडीमा कतारको उडान मात्रै खोलिदिए पनि हुन्थ्यो । कतार खोलिदिएमा खाडी क्षेत्र कभर गर्थ्यो,’ श्रेष्ठले भने, ‘नेपाली कामदारलाई मात्रै आउनजान दिएमा पनि करार अवधि समाप्त भएर बसेकाहरुको समस्या पनि समाधान हुने थियो ।’

Published on: 27 May 2021 | Kantipur

Link

Back to list

;