s

खाडीबाट जोगिएकी महिलालाई फुलमालाले स्वागत

रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ।

आकर्षक तलबको प्रलोभनमा परेर भारत हुँदै कुवेत पुगेकी ३३ वर्षीया चोखालले आफूमाथि चरम श्रम शोषण भएको भन्दै उद्धारको लागि अनुरोध गरेपछि म्याग्दी प्रवासी नेपाली सङ्घ मोना कुवेत, मोना अन्तरराष्ट्रिय, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कुवेत लगायत निजको उद्धार लागेका थिए।

कुवेतबाट नेपाल फर्किएकी चोखाल बुधबार आफ्नो घरमा आइपुगेकी छन्। खाडी मुलुकमा शोषणमा परे पनि गुहार मागेर सकुशल घर फर्कन सफल भएकी चोखाललाई घरपरिवार र छिमेकीले फूलमाला लगाएर स्वागत गर्दै खुसी बाँडेका थिए।

करिब आठ महिनाअघि जटिल रोगबाट ग्रसित श्रीमान्को उपचार र छोराछोरीको शिक्षादीक्षाका लागि भारत हुँदै कुवेत पुगेकी चोखाल घरेलु काममा चरम शोषणमा परेकी थिइन्।

दैनिक १८ घण्टासम्म काममा लगाउने र मानसिक तथा शारीरिक यातना दिने गरेको र समयमा पारिश्रमिक समेत नदिएपछि आफूले उद्धारका लागि अपिल गरेको उनले बताइन्।

Published on: 7 December 2023 | Nagarik

Link

Back to list

;