s

खाडीबाट फर्किनेमाथि सुरक्षा जाँच कडा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट नेपाल फर्किनेमाथि सुरक्षाजाँच ‘कडा’ गरिएको छ । 
 
सुन तस्करीमा संलग्न गिरोहको ‘सेटिङ’ मा अवैध सुन लुकाइछिपाइ ल्याउने गरिएकाले खाडीबाट फर्किनेमाथि सुरक्षा जाँच कडा पारिएको प्रहरीले जनाएको छ । आइतबारमात्र प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमनकक्षको बाहिर पार्किङ् क्षेत्रबाट करिब १२ लाख ८९ हजार रुपियाँ मूल्य बराबरको दुईसय ४९ ग्राम सुनका पाँचथान बालासहित फहिमुदीन मिरुँयालाई पक्राउ गरेको छ । 
 
बैदेशिक रोजगारको सिलसिलामा खाडीबाट फर्किएकासँंग स–सानो परिमाणको सुन सङ्कलन गरिरहेको अवस्थामा मिँया पक्राउ परेका हुन । मिँयालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको छ । यसअघि पनि विमानस्थलको भन्सार सुरक्षा जाँच कक्षमा ‘सेटिङ’ मिलाई अवैध सुन बोकेर ट्याक्सी पार्किङ क्षेत्रमा पुगेका चारजना पक्राउ परेका थिए । ती अभियुक्तको साथबाट जनही एक–एकसय ग्रामको चार थान बाला बरामद गरिएको थियो ।
 
उनीहरू पक्राउ परेसँगै थप रहस्य खुलेपछि महानगरीय प्रहरी विमानस्थल कार्यालयले खाडी मुलुकबाट फर्किने माथि कडाइ गरेको हो । सुन तस्करीमा संलग्न गिरोहले स–सानो परिमाणको सुन लुकाइ छिपाई नेपाल पु¥याए वापत बाटोखर्च दिने गरेको पाइएको छ । सरकारले अधिकतम् १० ग्राम सुनको गरगहना ल्याउनलाई भन्सार छुट दिएको छ तर बैदेशिक रोजगारीबाट फर्किएकाले बाला, औंठी तथा सिक्री बनाएर १० ग्रामसम्म देखिने गरी ल्याउने बाँकी लुकाएर ल्याउने गरेको पाइएको छ । 
 
विमानस्थल प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले खाडी मुलुकबाट फर्किने कतिपय व्यक्तिको गतिविधि शङ्कास्पद देखिन थालेपछि सुरक्षा जाँचमा कडाइ गरिएको बताउनुभयो । सरकारले तोकेको मापदण्डभन्दा बढी सामान ल्याउने र भन्सार शुल्क नतिर्नेको सामान जफत गर्ने गरेको छ । विमानस्थलको पार्किङ क्षेत्रबाट पक्राउ पर्ने अधिकांशले भन्सार कार्यालयका कर्मचारीलाई झुक्याएर तस्करी गर्नेगरेको भनाइ प्रहरीको छ ।
 
Published on: 25 March 2019 । Gorkhapatra

Back to list

;