s

खाडीबाट तीन सय ३६ कामदार फिर्ता ल्याउन नेपाललाई दबाब

भिसा आइसकेका ५० हजार कामदार रोकिए

खाडी क्षेत्रका विभिन्न मुलुकका रोजगारदाताले नेपाली कामदारलाई फिर्ता लैजान दबाब दिन थालेका छन् । संसारभर फैलिएको कोरोना भाइरसका कारण धमाधम कम्पनी बन्द हुन थालेपछि युएईका आबुधाबी र दुबई तथा बहराइनका सेवा क्षेत्रका रोजगारदाताले नेपाली म्यानपावर व्यवसायीलाई कामदार फिर्ता लैजान दबाब दिएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

यी देशका विभिन्न आठवटा कम्पनीले कामदार फिर्ता लैजान नेपाली म्यानपावर व्यवसायीलाई पत्राचार गरिसकेका छन् । ती कम्पनीमा तीन सय ३६ नेपाली कामदार कार्यरत छन् । संघका महासचिव सुजित श्रेष्ठका अनुसार दुबईका इन्टरकन्टिनेन्टल होटेलले एक सय २०, मिलेनियम एयरपोर्ट होटेलले ४, ग्यान्ड कज्मोपोलिटन १९ र अरबियन होटेल गु्रपले ७ नेपाली कामदारलाई फिर्ता पठाउन पत्राचार गरेको छ । त्यस्तै, बहराइनको फोर सिजन होटेलले ४८, आबुधाबीका क्राउन प्लाजा होटेलले ७८, आबुधाबी गल्फ क्लबले १३, र -याडिसन होटेलले ४७ कामदार फर्काउने भएको छ ।

लक डाउनका कारण यी कम्पनी बन्द भएका छन् । आर्थिक अवस्थामा नाजुक हुने भएपछि उनीहरूले कामदार फिर्ता पठाउने तयारी गरेको महासचिव श्रेष्ठले बताए । तर, कामदार फिर्ता ल्याउन नेपाल सक्षम नभएको उनको दाबी छ ।

वैदेशिक रोजगार विभागका अनुसार विश्वका विभिन्न मुलुकमा ४२ लाख नेपाली कामदार छन् । जसमध्ये सेवा क्षेत्रमा मात्रै ९३ हजार नौ सय ११ पुरुष र एक सय ७ महिला गरी ९४ हजार १८ कार्यरत छन् ।

सुरक्षित बस्ने वातावरण मिलाइदिन सम्बन्धित देशलाई आग्रह गरिने

सरकारले फिर्ता पठाउने तयारी गरेका कामदारलाई सम्बन्धित देशमै सुरक्षित राख्न आग्रह गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको कोरोना संक्रमण व्यवस्थापन समितिको आइतबार बसेको बैठकले तत्काल नेपाली कामदारलाई फिर्ता ल्याउन नसकिने निष्कर्ष निकालेको छ । बरु, सम्बन्धित मुलुकमा नै सुरक्षित रहने वातावरण बनाइदिन दूतावासमार्फत आग्रह गर्ने निर्णय गरिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनकुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार यति वेला सबै मुलुकले लक डाउन गरेका छन् । ‘रोजगारदाताले कामदार फिर्ता लैजान भने पनि हामी ल्याउन सक्ने अवस्थामा छैनौँ । त्यसैले, सम्बन्धित देशको सरकारलाई सोही मुलुकमा रहन दिने वातावरण मिलाउन आग्रह गरिनेछ,’ उनले भने । औपचारिक रूपमा कुनै रोजगारदाताले कामदार फिर्ता लैजाऊ नभनेको उनको दाबी छ ।

भिसा आएका ५० हजार कामदार रोकिए छुट्टीमा आएका पनि जान पाएनन्

कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जानका लागि तयारी अवस्थामा रहेका ५० हजारभन्दा बढी कामदार नेपालमा नै रोकिएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार भिसा आएर अन्तिम श्रम स्वीकृति लिएका करिब १७ हजार र भिसा आइसकेका ४० हजार कामदार नेपालमै रोकिएका छन् । त्यस्तै, बिदामा आएर पुनः श्रम स्वीकृति लिएका ७ हजार कामदार पनि रोकिएका छन् । श्रम स्वीकृति लिइसकेका कामदारको हकमा भिसा र श्रम स्वीकृतिको अवधि बढाउन पहल गरिने श्रेष्ठले बताए । 

यसैबीच, कोरोना प्रभावका कारण वैदेशिक रोजगारीबाट देश फर्केका कामदारलाई मुलुकमै व्यवस्थापन गर्न कोरोना संक्रमण व्यवस्थापन समितिले विभिन्न अभियान चलाउने तयारी गरेको छ । यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा जम्मा भएकोे रकमबाट छुट्टै कोष खडा गरिने भएको छ । जसमा बैंक, बिमा कम्पनी र म्यानपावर व्यवसायीको पनि योगदान रहनेछ । उक्त कोषबाट विदेशबाट फर्केका कामदारलाई विभिन्न खालका रोजगारमूलक तालिम प्रदान गर्ने तथा कर्जा सुविधा उपलब्ध गराउने बोर्डको निर्णय छ ।

चार नेपाली कामदारमा संक्रमण, एकको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट वैदेशिक रोजगारीमा गएका एक नेपाली कामदारको मृत्यु भएको छ भने चारमा संक्रमण देखिएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार लन्डनमा रहेका एक नेपालीको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै, दुबई र पोर्चुगलमा दुई÷दुईजनामा संक्रमण देखिएको छ ।

रणनीति बनाउँदै छौँ : कुमारप्रसाद दाहाल, महानिर्देशक, वैदेशिक रोजगार विभाग

कोरोनाले विश्वव्यापी रूपमा प्रभाव पारेको छ । त्यसैले, भोलिका दिनमा नेपाली कामदार फर्कनुपरेको अवस्थामा के गर्ने भन्ने विषयमा विपद् व्यवस्थापन समितिले आज छलफल गरेको छ । स्टक होल्डरहरूसँग सुझाब मागेका छौँ । कामदार नेपाल ल्याउनुपरेमा वा व्यवस्थापन गर्नुपरेमा के गर्ने भन्ने विषयमा रणनीति बनाउँदै छाँै ।

एउटा कामदार फर्कियो भने पनि अवस्था गम्भीर हुन सक्छ : सुजित श्रेष्ठ, महासचिव, वैदेशिक रोजगार व्यवसायी संघ

अहिले सेवा क्षेत्रका रोजगारदाताहरूले नेपाली कामदार लैजान व्यवसायीहरूलाई मेल गरिरहेका छन् । उनीहरूले कम्पनी बन्द भएका कारण कामदार धान्न नसक्ने कारण देखाउँदै कामदार फिर्ता लैजान दबाब दिएका छन् । उनीहरूको पत्रअनुसार १५ अप्रिल २०२० पछाडि कामदार फर्काउन सक्ने देखिएको छ । तर, एउटा नेपाली कामदारलाई फर्काइयो भने सबैले त्यसको सिको गर्नेछन् । जुन नेपालले थेग्न सक्दैन । त्यसैले, मलेसिया सरकारले जस्तै ६ महिनामा आधा तलब दिएर भए पनि सोही मुलुकमा राख्न आग्रह गर्नुपर्छ ।

सम्बन्धित मुलुकमा नै राख्न अनुरोध गर्दै छाैँ : राजनप्रसाद श्रेष्ठ, कार्यकारी निर्देशक, वैदेशिक बोर्ड

यतिवेला कुनै पनि मुलुकको रोजगारदाताले कामदार लैजा भन्दैमा ल्याउन सक्ने अवस्था छैन । रोजगारदाताभन्दा पनि सो मुलुकको सरकारले भन्नुप¥यो । त्यसमा पनि सबैतिर लक डाउन भएको अवस्थामा हामीले चाहेर पनि ल्याउन सक्दैनौँ । त्यसैले, सोही मुलुकमा सुरक्षित राख्न दूतावासमार्फत आग्रह गर्दै छाँै ।

Published on: 23 March 2020 | Nayapatrika

Link

Back to list

;