s

खाडी त्यागेर झाडी फाँड्दै, युट्युब हेरेर गँड्यौला व्यवसाय

नवीन शिशिर विक

बागलुङ, पुस १३ गते । बागलुङको जैमिनी नगरपालिका–१० राङखानी पाहीका एक युवाले भने गँड्यौला बेचेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ ।

करिब ६ वर्ष खाडीमा श्रम बेचेर नेपाल फर्कनुभएका राङखानी पाहीका ३६ वर्षीय केदार आचार्यले खाडी त्यागेर बाँझो जमिनको झाडी फाँड्दै आफ्नै देशमा उत्पादनसँग जोडिनुभएको हो ।

सामाजिक संजाल युटुवमा गड्यौलाको व्यावसायिक खेती देखेर आकर्षिक आचार्यले पनि बागलुङमा गँड्यौलाको व्यवसायिक उत्पादन थाल्नुभएको छ । गँड्यौलाबाट मात्रै वर्षमा एक लाख ५० हजार रुपियाँ आम्दानी गर्न सफल हुनुभयो । विगत तीन वर्षदेखि गड्यौला पालन थाल्नुभएका आचार्यले अघिल्लो वर्ष (२०७६) मा एक क्वीन्टल गड्यौला बिक्री गर्नुभएको थियो ।

‘अघिल्लो वर्ष गँड्यौला बेचेर मात्र १ लाख ५० हजार रुपैयाँ आम्दानी गरे उहाँले भन्नुभयो, अहिले पनि एक क्वीन्टल विक्रीको लागि तयारी अवस्थामा छन् । गँड्यौला खरिदको लागि म्याग्दीबाट माग भएको आचार्यको भनाइ छ । खास गरि कम्पोष्ट मलको लागि गँड्यौलाको प्रयोग गरिन्छ । आचार्यले सुरुमा पोखराबाट गँड्यौला ल्याएर बेच्न थालेको बताउनुभयो ।

पानीको मात्रा बढी सोस्ने हुँदा भूक्षय कम हुन्छ, सूक्ष्म खाद्य तत्व विरुवाले सजिल्यै प्राप्त गर्न सक्ने, गड्यौलाको मलमा खाद्य तत्व बढी हुने र बारीमा थोरै मल राखे पनि राम्रो उत्पादन दिनेहुँदा पछिल्लो समयमा कृषकहरुको रोजाइमा गँड्यौला पर्न थालेको छ ।

गँड्यौला हाँस, कुखुरा र माछाको दानाको लागि पनि गड्यौला बिक्री हुने गर्दछ । पोखरामा गँड्यौला पालेको विषय युट्युवमा देखेपछि त्यसैलाई पछ्याउँदै उहाँले व्यावसायिक रुपमा गँड्यौला पालन थाल्नुभएको हो ।

मलेसियामा ३ वर्ष र दुबईमा ३ वर्ष गरि ६ वर्ष विदेशमा बिताउनुभएका आचार्यले गाउँमा नै ‘आचार्य जैविक नमुना कृषि फर्म’ सञ्चालन गर्नुभएको छ । फर्ममा अलैची, च्याऊ, सुन्तला किबी, चियाको नर्सरी गर्नुभएको छ ।

२० रोपनी जग्गामा लगाएको अलैचीबाट मात्र वार्षिक ४ लाख रुपियाँ आम्दानी हुने गर्दछ । ५ वर्षदेखि अलैची खेती गर्दै आउनुभएका आचार्यको फर्ममा अझै एक लाख अलैचीका बिरुवा रहेका छन् । तरकारी, च्याऊबाट दुईलाख ५० हजार रुपैयाँको आम्दानी उहाँले बताउनुभयो । विगत पाँच वर्षदेखि कृषी कर्मको लागि १८ लाख रुपियाँ लगानी गर्नुभएको छ ।

Published on: 28 December 2020 | Gorkhapatra

Link

Back to list

;