s

खाडी पुर्‍याउन नेपालगन्ज नाका

ठाकुरसिंह थारु

काठमाडौँ — वास्तविक उमेर १७ वर्ष । तर खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने प्रलोभनमा परेका उनीहरूको उमेर २३ वर्ष लेखाएर उनीहरूको राहदानी बन्यो । सोलुखुम्बुको दूधकोसीका दुई किशोरीलाई सविना नामक महिलाले खाडी मुलुक पठाउने भन्दै राहदानी बनाउन सघाइन् ।

विदेश जाने उनीहरूलाई काठमाडौं बोलाएर एक साता राखियो । काठमाडौंबाट हवाई उडान बन्द भएको भन्दै माघ ८ गते काठमाडौंबाट बसमा नेपालगन्ज ल्याइयो । नेपालगन्जका लागि यी नौला किशोरीलाई सिकाइयो, ‘कसैले सोधे घुम्न आएको भन्नू ।’

नेपालगन्जबाट अटोरिक्सामा भारतको रुपैडिहा जाने क्रममा सीमामा रहेका मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनःस्थापना गृहका कर्मचारीले रोकेर सोधपुछ गरे । परिचयपत्र मागे । दुवै किशोरीले घुम्न जान थालेको बताए । सोधपुछकै क्रममा ‘आफूहरूसँग खर्च एक रुपैयाँ नभएको’ बताएपछि भने सोधपुछ गर्नेलाई शंका लाग्यो । सँगै रिक्सामा रहेका पुरुषसँग सोधपुछ गर्दा नाम दिलबहादुर विक बताए तर उनको परिचयपत्रमा नाम बाबुराम अधिकारी देखियो ।

शंकास्पद देखिएपछि प्रहरीलाई जानकारी दिइयो । खानतलासी गर्दा अधिकारीसँग किशोरीहरूको राहदानी फेला पर्‍यो । वैदेशिक रोजगारीका लागि नेपाल सरकारले भारतबाट जान प्रतिबन्ध लगाएको बारे किशोरीहरूलाई थाहै थिएन । गृहका कर्मचारीसँगको परामर्शपछि किशोरीहरूले सोलुको दूधकोसीबाट काठमाडौं र नेपालगन्जसम्मको यात्रावृत्तान्त सबै खुलाए । प्रहरीले अधिकारीलाई पक्राउ गरी मुद्दा चलाएको छ । दुई किशोरीलाई खाडी पठाउने भन्दै प्रलोभनमा पार्ने महिला फरार छिन् ।

बाँके प्रहरीका डीएसपी सुवास खड्काले मानव तस्करहरूले चोर बाटोका रूपमा नेपालगन्ज नाकालाई प्रयोग गर्न खोजेको घटना भेटिन थालेको बताएका छन् । उनले भने, ‘भारतबाट विदेश जान सरकारले रोक लगाएको थाहा नपाएकाहरूलाई यो नाकाबाट लैजाने प्रयास गरेका हुन सक्छन् ।’ यसैगरी नाकामा रोकेर सोधपुछपछि वास्तविकता खुल्दा मानव बेचबिखनका मुद्दा विस्तारै बढ्न थालेको उनले बताए ।

नुवाकोटको दुप्चेश्वरका दुई किशोरीलाई पनि यसैगरी काठमाडौंमा एक साता राखेर पुस १२ गते नेपालगन्ज ल्याइएको थियो । भारत लैजाने क्रममा सीमामा सोधपुछ गर्दा भारतको दिल्लीमा बुटिकमा काम गर्न जान थालेको बताएका थिए । उनीहरूलाई गाउँकै श्याम तामाङले काठमाडौं पुर्‍याएको खुलेको थियो । उनीहरूलाई काठमाडौंबाट सुनिता तामाङले नेपालगन्ज ल्याएकी थिइन् । सोधपुछका क्रममा शंकास्पद गतिविधि पुष्टि भएपछि प्रहरीले श्याम र सुनितालाई पक्राउ गरी मानव बेचबिखन अपराधमा मुद्दा चलाएको छ ।

कोरोना महामारी सुरु भएयता नेपाल–भारत सीमा सिल छ । तर मानव तस्करहरू भने बन्दका बेलामा पनि नेपालगन्ज नाका भएर भारत लैजान सक्रिय रहेका घटना भेटिएका छन् ।

शान्ति पुनःस्थापन गृहका अनुसार पुस महिनामा मात्रै जोखिमपूर्ण यात्रामा रहेका ५५ जनालाई सीमामा रोकेर घर फिर्ता गरिएको छ भने १ हजार २ सय जनालाई परामर्श दिइएको छ । नेपालगन्ज नाका भएर विभिन्न समय भारत पसेका करिब ८ सय महिला हराएकाको सूचीमा रहेको प्रहरीले जनाएको छ ।

Published on: 29 January 2021 | Kantipur

Link

Back to list

;