s

खाडी मुलुक जाने महिला बढे

रोजगारीका लागि खाडी मुलुक जाने महिलाको संख्या ह्वात्तै बढेको छ । दलालहरूले भारतमा भिसा बनाएर गाउँका महिलालाई खाडी पुर्‍याउने गरेका छन् ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जिल्ला समिति बाँकेको बिहीबार भएको समीक्षा बैठकमा सरोकारवालाले मानव तस्करी नियन्त्रण गर्न निकै ठूलो चुनौती रहेको बताए । प्रहरी प्रशासनले ती दलाललाई पक्राउ गर्न नसक्दा महिला सजिलै खाडी पुग्ने गरेको जनाएको छ ।अवैधानिक तरिकाले खाडी मुलुकमा जाने महिलाको तथ्यांक सरकारी निकायमा नहुने भएकाले यहाँबाट खाडी गएको महिलाको तथ्यांक यकिन छैन । तर खाडी गएका महिलाको खोजतलासका लागि ३ सय निवदेन परेका छन् ।

तथ्यांकका आधारमा यहाँबाट १ हजारभन्दा बढी महिला रोजगारका लागि खाडी लगिएको समितिले जनाएको छ ।हराएका महिलाको उद्धार भने हुन सकेको छैन । यसका लागि संयन्त्र नभएका कारण समस्या भएको समिति सदस्य तथा माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए । उनका अनुसार ७ जनाको उद्धार सम्भव भएको छ । बेचिएका चेलीबेटीको खोजीका लागि आमाबुबा र श्रीमान्हरूले निवेदन दिने गरेका छन् ।केही दिनअघि मात्रै दाङकी एक महिलाको उद्धार सम्भव भए पनि उनले मानसिक सन्तुलन गुमाएकी छन् । त्यसैगरी अर्की एकलाई शरीरको दायाँ भाग नचल्ने अवस्थामा उद्धार गरिएको छ । हराएका अन्य महिलाको अवस्था अज्ञात छ । समितिले संयन्त्र अभावबिना उद्धार गर्न नसकेको दाबी गर्‍यो । 

खाडी पुगेका अधिकांश महिला आफन्तहरूकै सहयोगमा त्यहाँ पुग्ने गरेको पाइएको छ । घरमा आर्थिक अवस्था कमजोर र चिनेकै व्यक्तिले विदेश पठाइदिने भएपछि अभिभावकले नै सजिलै सहमति दिने गरेको समिति सदस्य तथा सेलर्ड बाँके संयोजक वासुदेव ज्ञवालीले बताए ।तर लामो समयसम्म फिर्ता नभएपछि खोजीका लागि उनीहरूले नै निवेदन दिने गरेको उनले बताए । आर्थिक अवस्था कमजोर रहेका परिवारलाई चिनेका दलालले छिट्टै नै विश्वासमा पार्ने र भारतको बाटो भएर खाडी पुर्‍याउने गरेका छन् । केही दिनअघि मात्रै नेपालगन्ज नाका भएर खाडी लैजाने भन्दै भारत लैजान थालिएका ४ महिलालाई सिमानामा रोकिएको थियो ।

मानव बेचबिखनविरुद्धको गाउँगाउँमा चेतना फैलाउन जिविसले डेस्क स्थापना गरेको छ । संस्थाका स्रोत व्यक्ति रमेश शाहले महिलाले कुनै न कुनै रूपमा अभिभावकको सहमति लिएर जाने गरेको बताए । महिला विकास अधिकृत तथा समिति सदस्य सचिव शोभा शाहले ग्रामीण महिलालाई खाडी जाने प्रक्रिया जानकारी नभएकाले गलत बाटो भएर जाने र बेचबिखनमा पर्ने गरेको बताइन् । समितिका संयोजकसमेत रहेका प्रजिअ कृष्णचन्द्र घिमिरे मानव तस्करी रोक्न गाउँगाउँमा सचेतना फैलाउन आग्रह गरे ।

Published on: 30 September 2011 | Kantipur 

Back to list

;