s

खाडी क्षेत्रमा विदेशी घरेलु कामदारका पीडा

लाउरा सेकोरुन

ख्यातिप्राप्त कुवेती ब्लुटी ब्लगर सोन्डोस अल्गतमले खाडी क्षेत्रमा काम गर्ने फिलिपिनो घरेलु कामदारले बिदा बस्ने तथा पासपोर्ट बोक्ने आधिकार पाउनुहुन्न भनी प्रतिक्रिया दिइन् । उनको प्रतिक्रियालगत्तै विश्वभरका अधिकारकर्मीले चर्को विरोध गर्न थाले । साथै नाम चलेका ठूला कस्मेटिक कम्पनीले अल्गतमसँग काम नगर्ने घोषणा गरेका छन् । यद्यपि, उनले व्यक्त गरेको विचार अत्यन्तै असाधारण छ । लेबनानदेखि साउदी अरेबियासम्मका अधिकांश रोजगारदाताले घरेलु कमदार (बहुसंख्यक महिला)लाई दास/दासीको रूपमा हेर्ने गर्छन् । यसकारण, घरेलु महिला कामदारले काम गर्दै गरेको घर छाड्ने तथा आराम गर्ने अधिकार नभएको दाबी रोजगारदाताको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठनले हालै प्रकाशित गरेको एक रिपोर्टका अनुसार मध्यपूर्व क्षेत्रमा धेरै रोजगारदाता र घरेलु कामदारबीचको सम्बन्ध सकारात्मक रहेको छ । तर, रोजगारदाताबाट निरन्तर शोषण तथा ज्यादतीपूर्ण व्यवहार भएको भनी घरेलु कमदारले प्रमाणसहित लगाएका आरोपले यो क्षेत्र निरन्तर असुरक्षित बन्दै गएको छ । घरेलु महिलामाथि दुव्र्यवहार भएका सयौँ घटनाको विवरण मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले राखेको छ ।
 
यस्तो दुव्र्यवहारमा परेकी एकजना प्रतिनिधिमूलक पीडित पात्र सवला हुन् । कुवेतको एउटा घरमा काम गर्ने यी इथियोपियन महिलाले हरेक दिन बारम्बार निर्घात कुटपिट सहनुपथ्र्यो । कुटाइसँगै उनले दिनको १९ घन्टासम्म जबर्जस्ती काम गर्नैपथ्र्यो । उनी निरन्तरको दुव्र्यवहार तथा शोषण सहन बाध्य थिइन् । काम गर्ने घरको मालिकले उनको पासपोर्ट राखेकाले चाहेर पनि उनी त्यहाँबाट भाग्न सक्दिनथिन् । यस्तैमा, ह्युमन राइट्स वाचको रिपोर्टले आतिया नाम गरेकी तान्जेनियन महिलाको विवरण पनि प्रस्तुत गरेको छ । सुखद् जीवनको सपना देख्दै तान्जेनियाबाट घरेलु कामदारका रूपमा ओमन पुगेकी आतिया पनि मालिकको दैनिक कुटपिटको सिकार भइन् । जब उनी बिरामी परिन्, त्यसपछि उनको पीडा ह्युमन राइट्स वाचसमक्ष पोखिन् । बदलामा आफ्नो कर्तुत बाहिर पुर्याएको भन्दै घर मालिकले बलात्कार गरी थप प्रताडित बनायो ।
 
घरेलु महिला यस्ता दुव्र्यवहार तथा शोषणमा परेका कथाहरू अथाह छन् । तर, वीभत्स कथाहरू मात्र मिडियाको हेडलाइन बन्ने गरेका छन् । या भनौँ सार्वजनिक हुने गरेका छन् । यस वर्षको सुरुमै एकजना कुवेती रोजगारदाताको आपार्टमेन्टमा रहेको फ्रिजमा एकजना फिलिपिनो घरेलु कामदारको लास फेला पर्यो । यसैगरी, गत वर्ष एकजना इन्डोनेसियन घरेलु महिला कामदारलाई चरम यातना दिएर सधैँका लागि श्रवणशक्तिहीन बनाएको आरोपमा युएईस्थित रोजगारदाता दोषी ठहरिए । यस्तो घटना सार्वजनिक भएपश्चात् अन्तर्राष्ट्रियस्तरमा व्यापक विरोध तथा प्रदर्शन भए ।
 
साथै, केही देश आफ्नो देशको घरेलु कमादारसम्बन्धी व्यवस्थामा सुधार गर्न बाध्य भए । यस्तोमा कतार, युएई र साउदी अरेबियाले विदेशी कामदारमाथि हुने शोषण तथा दुव्र्यवहार रोक्ने उद्देश्यले हालै नयाँ नियामक व्यवस्था ल्याएका छन् । यस्तो कार्यस्वरूप फिलिपिनो कामदारको सुरक्षा व्यवस्थालाई कुवेती सरकारले बलियो बनाएको छ । यसर्थ, सरकारको यदि कदमप्रति आक्रोश पोख्ने क्रममा सोन्डोस अल्गतमले अलोकप्रिय प्रतिक्रिया दिएकी थिइन् ।
 
सुधारिएको व्यवस्थाले कमादारलाई जबर्जस्ती काममा लगाउने प्रवृत्ति घटाउन सक्छ, तर रोक्न सक्दैन । पहिले त यस्तो नयाँ कानुन खाडी क्षेत्रको ‘कफला व्यवस्था’मा लागू हुनुपर्ने हुन्छ, जुन व्यवस्था पुरातनकालदेखि नै शोषणात्मक संरचनामा आधारित छ । खासगरी खाडी मुलुकका निर्माण तथा घरेलु क्षेत्रमा काम गर्ने श्रमिक अवस्था जाँचबुझ गर्ने व्यवस्थालाई कफला व्यवस्थाका रूपमा बुझिन्छ । खाडी देशमा यस्तो काम गर्न पाकिस्तान, श्रीलंका र बंगलादेशजस्ता दक्षिण एसियाली मुलुकबाट सबैभन्दा बढी विदेशी कामदार लग्ने गरेको छ । कामदारको सुरक्षा गर्न लक्षित कफला व्यवस्था पछिल्ला वर्षमा घरेलु कामदारको अधिकार खुम्च्याउने कार्यमा सीमित भएको छ ।
 
हालको कफला व्यवस्थाअनुसार रोजगारदाताको अनुमति वा सहमतिविना कुनै पनि घरेलु महिला कामदारले काम गरिरहेको घर छाड्न सक्दैन । रोजगारदाता परिवर्तन गर्न तथा उक्त देशबाहिर भ्रमण गर्न घरेलु कमदारमाथि प्रतिबन्ध लगाइएको छ । भाग्ने कार्यलाई अपराधको दर्जामा राखिएको छ । यसर्थ, पक्राउ परी सजय भोग्नेदेखि देशनिकालासम्मका सजायको भागीदार घरेलु महिला बन्नुपर्ने हुन्छ । यसकारण, कफला व्यवस्था रहेसम्म कुनै पनि दोस्रो नियामक व्यवस्थाले घरेलु कामदारको सुरक्षाको प्रत्याभूति गर्न सक्दैन भनी ह्युमन राइट्स वाचले धेरैअघिदेखि नै वकालत गर्दै आएको थियो । यो व्यवस्थाले कानुनी रूपमै रोजगारदातालाई बलियो बनाएको छ ।
 
श्रमसम्बन्धी कानुन मुख्यतया श्रमिक पठाउने र श्रमिक लिने देशबीचको आपसी समझदारी तथा सहमतिबाट निर्माण तथा लागू हुनुपर्छ । यसको अर्थ साधारण श्रम कानुनी व्यवस्थाभन्दा पनि देशविशेषले श्रमिकका लागि श्रमको सर्त तथा व्यवस्थाहरू तय गर्नुपर्ने हुन्छ । भारतजस्ता मुलुकले आफ्ना देशका श्रमिकका लागि अझ सुरक्षित व्यवस्थाको माग गरेको खण्डमा रोजगारदाताले थोरै कामदार आइरहेका मुलुकबाट घरेलु महिला कामदार माग गर्न सुरु गर्छन् । यसर्थ, नयाँ कुवेती श्रम व्यवस्थामाथि आक्रोश पोख्नेक्रममा अल्गतमले आफूले अब फिलिपिन्सबाट महिला कामदार नल्याउने तर्क राखेकी हुन् । अर्को शब्दमा भन्नुपर्दा कमजोर श्रम सुरक्षा भएको कुनै देशबाट महिला कामदार ल्याउने नियत उनको हो ।
 
यसैगरी, घरेलु महिला कामदरका लागि आवास तथा सुविधाको विषयलाई पनि प्राथमिकताका साथ हेरिनुपर्छ । अहिलेको अवस्थामा घरेलु कामदारहरू व्यक्ति विशेषको निजी निवासमा काम गर्छन् । यसको अर्थ उत्कृष्ट भनिने कानुन पनि लागू गर्न गाह्रो हुने देखिन्छ । मध्यपूर्व र खाडी क्षेत्रमा करिब १६ लाख विदेशी घरेलु कमदार कार्यरत छन् । यतिका संख्यामा निजी निवासमा कार्यरत प्रत्येक घरेलु कामदारको अवस्था निगरानीमा राख्न तथा अनुसन्धान गर्न ठूलो कठिनाइ उत्पन्न हुनेछ । यस्ता घरेलु कामदार बस्ने घरको पहिले निरीक्षण तथा विवरण राख्ने तथा समय–समयमा निरीक्षण गर्ने कार्य भएमा उनीहरूको अवस्थामा सुधार आउनेछ ।
 
तर, यस्तो अवस्थामा पनि शोषणमा महिला फसेको खण्डमा कानुनले घरेलु महिलाका लागि धेरै न्याय गर्न सक्दैन । यसकारण, जबर्जस्ती लगाइने घरेलु श्रम वास्तवमै रोक्ने हो भने यसको पछाडि रहेको अनियन्त्रित पूर्वाग्रह हटाउनुपर्ने हुन्छ । हामीले चाहेको घरेलु कामदारका लागि रोजगारदाताले आफ्नो निवासलाई कार्यक्षेत्रको रूपमा स्थापित गर्ने र विदेशी घरेलु कामदारले सुरक्षित तथा न्यायोचित रूपमा व्यावसायिक कामदारको काम गर्न सक्ने व्यवस्था हो । केही गैरसरकारी संस्थाले यस्तो अभियानको सुरुवात गरिरहेका छन् । कतारस्थित माइग्रन्ट राइट्सजस्ता गैरसरकारी संस्थाले कतारका घरधनीलाई घरेलु श्रमिकको अधिकारको सम्मान गर्दाका फाइदाबारे शिक्षा दिने तथा चेतना जगाउने काम गरिरहेको छ ।
 
यसैगरी, कामदार भर्ती गर्ने प्रणाली पनि सुधार गर्न आवश्यक छ । रोजगारदाता र घरेलु कामदारबीच विश्वासको वातावरण तथा समझदारीलाई बढावा दिने प्रणाली विकास गर्नुपर्छ । अहिलेका कामदार भर्ती गर्ने एजेन्टहरू नाफामुखी भएकाले पनि धेरै समस्या खडा भएका छन् । सबैभन्दा माथि, विदेशी घरेलु कामदारले आफ्नो गुनासो तथा समस्या उठाउन पाउने अधिकार पाउनु अपरिहार्य छ । फोनमा पहँुच भएका अत्यन्तै थोरै घरेलु कामदारले मात्र वाट्सएपजस्ता एप्लिकेसनको माध्यमबाट जोर्डन र कुवेतजस्ता मुलुकमा गोप्य सहयोगी समूह बनाएका छन् । यसकारण, यस्ता घरेलु महिला कमदारले आफ्नो माग राख्न सक्ने तथा आवाज उठाउन सक्ने सार्वजनिक प्लेटफर्मको प्रत्याभूति पनि गराइनुपर्छ । शोषण बढिरहेको लेबनानमा कार्यरत घरेलु कमादारले आफ्नो आवाज बुलन्द बनाउन संगठन नै खडा गरेका छन् ।
 
यस क्षेत्रमा सम्भवतः उनीहरूको संगठन नै पहिलो हो । तर, लेबनान सरकारले उक्त संगठनलाई कानुनी मान्यता दिएको छैन । उल्टै यस संगठनका नेतृ विदेशी घरेलु कामदारलाई देशनिकाला गर्दै आएको छ । घरेलु कामदारको हकहितमा सहयोग गर्ने दाबी गर्ने कुनै पनि देशको दाबी व्यवहारमा देखिएको छैन । खाडी तथा मध्यपूर्व क्षेत्रमा कार्यरत विदेशी घरेलु कामदारको अवस्था कति दर्दनाक छ भन्ने हामीले पहिले नबुझेसम्म व्याप्त समस्याको समाधान सम्भव छैन । यसर्थ, यस्ता घटनाप्रति आक्रोशको अझै आवश्यकता छ । तर, यो समस्या एकजना संकीर्ण मानसिकता भएकी ब्लगरको हो भनेर मात्र हामीले सोच्ने हो भने यस्तो घटना बारम्बार घटिरहनेछन् ।
 
Published on: 12 August 2018 | Naya Patrika
 
 

Back to list

;