s

खाडी जाने श्रमिकले निगमका उडानमा सस्तो टिकट पाउने

कान्तिपुर संवाददाता 

काठमाडौँ — नेपाल वायुसेवा निगमले काठमाडौंबाट कतार, दुबई र मलेसिया श्रम भिसामा जाने नेपालीलाई प्रत्येक उडानमा ४० वटा सस्तोदरको टिकट दिने भएको छ । 

पर्यटन मन्त्रालय सम्हालेको २ महिनापछि मंगलबार पहिलोपटक नेपाल वायुसेवा निगम पुगेका पर्यटनमन्त्री प्रेमबहादुर आलेले श्रम गन्तव्यमा जाने श्रमिकलाई प्रत्येक उडानमा ४० वटा सस्तो टिकट दिन निर्देशन दिएका थिए । 

‘४०–५० डिग्रीमा श्रम रगत, पसिना बगाउन जाने नेपाली कामदारलाई भिसा र पासपोर्ट ल्याई निगममा आएमा सस्तो टिकट दिनु,’ मन्त्री आलेले निगम मुख्यालयमा आयोजित कार्यक्रममा भने, ‘सस्तो दरको टिकट २० हजारमा निगमबाट दुई हप्ताअघि किनेर ४० हजारमा बिक्री गर्ने ट्राभल एजेन्सीलाई चाहिँ नदिनु ।’

निगमको टिकट बिक्री गर्ने वाणिज्य विभागका निर्देशक जनक कालाखेतीका अनुसार, सस्तोमा श्रमिकलाई टिकट दिने कार्य थालनी भइसकेको छ । उनले मन्त्री आलेलाई बताएअनुसार, सबैभन्दा सस्तो टिकट श्रमिकले ३२ हजार रुपैयाँमा पाउने छन् ।

साहु महाजनबाट महँगोमा ऋण लिई वैदेशिक यात्रामा जान बाध्य हुने नेपालीलाई म्यानपावर कम्पनी, एजेन्ट, ट्राभल आदीले ठग्ने चक्रलाई ‘ब्रेक’ लगाउन पर्यटन मन्त्रालयले पछिल्लोपटक खाडी जाने श्रमिकलाई ‘भीभीआईपी’ दर्जा दिई सम्मान सुरु गरेको छ । मन्त्रालयल आफ्नो मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रमिकका लागि रातो कार्पेटसहितको छुट्टै विश्राम कक्ष स्थापना गरिसकेको छ । 

जहाजमा उड्नुअघि विमानस्थल बाहिर घामपानीमा उभिनुपर्ने बाध्यता अन्त्य गर्दै मन्त्री आलेले त्यहाँ स्थापना गरिएको विश्राम कक्षमा वाईफाई, टेलिफोन, तातोचिसो पानी, कल सेन्टर थालनी गराइसकेका छन् । त्यसअघि उनले २ हजार रुपैयाँ पर्ने आरटी–पीसीआरको २ हजार रुपैयाँलाई घटाएर १२ सय रुपैयाँ कायम गराएका थिए ।

नेपाल वायुसेवा निगमको संचालक समितिमा स्वार्थ बाझिने निजी वायुसेवाका प्रतिनिधि पनि हटाइने भएको छ । पर्यटनमन्त्री प्रेम आलेले हाल निगमको संचालक समितिमा रहेका हेलिकप्टर कम्पनीका संचालक ताप्लेजुङका ईश्वरी पौडेल र सोलुखुम्बुका फुर ग्याल्जे शेर्पालाई नराख्ने भएका छन् । पौडेल र शेर्पालाई तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले निगमको बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

मन्त्रीले स्वार्थ बाझिने संचालकले निगमको हितविपरीत काम गर्ने, अन्य वायुसेवासँग मिलेर निगमको उडान रोक्ने, कमिसन असुल्ने लगायतका गुनासो सुनिएकाले नराख्ने बताए ।

निगममा निजी क्षेत्रको तर्फबाट तीन जना बोर्ड सदस्य नियुक्त गर्न पाइन्छ । निगममा निजी क्षेत्रको तर्फबाट अर्का व्यवसायी विराटनगरका किशोरकुमार प्रधान पनि संचालक समितिमा छन् । निगमको संचालक समिति नीतिगतलगायत विषयमा निर्णयक भूमिकामा रहन्छ ।

Published on: 22 December 2021 | Kantipur

Link

Back to list

;