s

खाडी जाने कामदारको संख्या निरन्तर घट्दै

नेपाली कामदारको प्रमुख गन्तव्य खाडी मुलुकमा जाने कामदारको संख्या निरन्तर घट्दो दरमा देखिएको छ । त्यसको तुलनामा मलेसिया र कोरिया जाने कामदारको संख्या बढेको छ । चालू आर्थिक वर्षको ७ महिनाको श्रम  स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पुनः श्रम स्वीकृति बाहेक करीव पाँच प्रतिशतले घटेको छ ।
 
नेपाल राष्ट्र बैंकले गरेको चालु आर्थिक वर्षको सात महिनाको अध्ययनको आधारमा उक्त स्थिति देखिएको हो । अघिल्लो वर्षको तुलनामा मलेसिया जाने कामदारको संख्या करीव २० हजारले बढेको छ । गत आर्थिक वर्षको सात महिनामा ४८ हजार ६ सय ६७ जना नेपाली कामदार मलेसिया गएकोमा यो वर्षको सात महिनामा २० हजार बढी ६८ हजार ७० जना  मलेसिया गएका गएका छन् ।
 
कतार जानेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ह्वात्तै घटेको छ । गत वर्ष सात महिनाको अवधिमा ७६ हजार ४ सय २९ जना कतार गएकोमा यो वर्षको सात महिनामा १७ हजार भन्दा कम कतार गएका छन् । यूएई जाने कामदारको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा हाराहारी रहेको छ । गत आर्थिक वर्षको ७ महिनामा ३२ हजार ६ सय ७१ जना उक्त मुलुकमा गएकोमा यो वर्षको सात महिनामा ३ हजार बढी ३५ हजार ८ सय १३ जना गएका छन् ।
 
साउदी जाने कामदारको संख्या करीव आधाले घटेको छ । गत वर्ष सात महिनाको अवधिमा ४९ हजार ८ सय ८२ जना गएको साउदी अरबमा यस आर्थिक वर्षको सोही अवधिमा २६ हजार ५ सय ९२ जना मात्र गएका छन् ।
 
कुवेत र वहराइन जाने कामदारको संख्या अघिल्लो वर्षको तुलनामा हाराहारी रहेको छ भने दक्षिण कोरीया जाने कामदारको संख्या तीन दोब्बर बढेको देखिएको छ । अघिल्लो वर्ष ७ महिनाको अवधिमा ९ सय १८ जना कोरिया गएकोमा यस वर्षको सात महिनाको सोही अवधिमा २ हजार ७ सय ८५ जना गएका छन् ।
 
यस वाहेक ओमान, अफगानिस्तान, इजरायल जानेको संख्या बराबरी रहेको छ भने जापान जानेको संख्या ह्वात्तै घटेको छ । गत वर्ष १ हजार ७ सय ७७ जना जापान गएकोमा यस वर्ष जम्मा ४ सय ३७ जना मात्र गएका छन् ।
 
पुनः श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने गत वर्षको तुलनामा हाराहारीमा रहेको छ । गत वर्ष सात महिनाको अवधिमा १ लाख ५० हजार ८ सय ८२ जना पुनः श्रम स्वीकृतिका माध्यमबाट वैदेशिक रोजगारीमा गएकोमा यस वर्ष करीव दुई हजार कम १ लाख ४८ हजार ५ सय ४ जना गएका छन् । राष्ट्र बैंकले कामदारको संख्या घटेपनि विप्रेषण आप्रवाह १.७ प्रतिशतले वृद्धि भई ४ सय १ अर्ब ३५ करोड रुपैयाँ पुगेको बताएको छ ।
 
Published on: 20 March 2018 | Madhyanha

Back to list

;