s

खाडी जान नक्कली डिपार्चर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसामा खाडी जानेलाई कडाइ गरेपछि मानव तस्कर गिरोहले नक्कली डिपार्चर स्ट्याम्प प्रयोग गर्न थालेको भेटिएको छ  ।

गिरोहले नागरिकता देखाएर भारतको नयाँदिल्ली पुर्‍याउने र त्यहाँ नक्कली डिपार्चर स्ट्याम्प हानेको पासपोर्टमार्फत तेस्रो मुलुक उडाउने गरेको खुलेको हो ।

तस्करहरूले भारत जान पासपोर्ट अनिवार्य नरहेको फाइदा उठाइरहेका छन् । अध्यागमन अधिकारीले मंगलबार बिहान नागरिकताकै भरमा भारत उड्न लागेका दुई महिला र एक पुरुषमाथि खानतलासी गरे । उनीहरूले पासपोर्ट नभएको र जरुरी काममा दिल्ली जान लागेको बताएका थिए । तर खानतलासीमा सप्तरी, फत्तेपुरका जितेन्द्रप्रसाद शाह, ललिता शाह र मुन्नीदेवी शाहले जुत्ताभित्र र मोजामा पासपोर्ट लुकाएको भेटियो । ललिता र जितेन्द्र पतिपत्नी हुन् । अध्यागमनका अनुसार दुई महिला दिल्लीबाट मकाउ उड्ने योजनामा थिए भने जितेन्द्र पत्नीलाई बिदाइ गर्न दिल्लीसम्म जाँदै थिए ।

दिल्लीस्थित विमानस्थलबाट उडदा शंका नहोस् र पासपोर्टको वैधता पुष्टि होस् भनेर उनीहरूले डिपार्चर स्ट्याम्प लगाएको अध्यागमनले जनाएको छ । अध्यागमन विभागले स्ट्याम्पको सिरियल नम्बर जाँच्दा नक्कली रहेको पुष्टि भएको थियो ।

दुवै महिलाको पासपोर्टमा फरक–फरक मितिमा डिपार्चर स्ट्याम्प लगाएको देखिन्छ । जबकि उक्त मितिमा उनीहरू काठमाडौंस्थित विमानस्थलबाट कतै उडेको रेकर्ड भेटिँदैन । एक अध्यागमन अधिकारीले भने, ‘यसको अर्थ हो, यसअघि पनि उनीहरूले नक्कली डिपार्चर स्ट्याम्प हानेर, पासपोर्ट लुकाएर र नागरिकता मात्रै देखाएर दिल्ली उड्ने प्रयास गरेका थिए ।’ उनीहरूको पासपोर्टमा ९ अक्टोबर २०१८ र १८ सेप्टेम्बर २०१८ मा पनि स्ट्याम्प लगाएको भेटिएको छ ।

कार्यालयले उनीहरूका साथबाट तीनवटा मोबाइलसमेत बरामद गरी थप अनुसन्धानका लागि विमानस्थलस्थित प्रहरीसमक्ष बुझाएको छ । थप अनुसन्धान गर्न अध्यागमन विभागलाई सिफारिस गरेको छ । ‘ती महिलाले आफ्नै बलबुतामा किर्ते काम गरेका पक्कै होइनन् । कुनै संगठित समूहले दुरुपयोग गरेको देखिन्छ,’ एक अध्यागमन अधिकारीले भने ।

अध्यागमन कार्यालय प्रमुख राजेन्द्र पौडेलका अनुसार मंगलबारको घटनाले सबैलाई झस्काएको छ । संगठित गिरोहले जसरी पनि मान्छे उडाउन नक्कली डिपार्चर स्ट्याम्प बनाउन थालेको पुष्टि भएको उनले बताए । ‘अध्यागमनमा विद्यमान प्रविधि स्तरोन्नति नगर्ने हो भने यस्ता किर्ते काम रोक्न गाह्रो हुने देखियो,’ पौडेलले भने ।

नागरिकता देखाएर भारत जानेले पासपोर्ट बनाएको छ/छैन, पत्ता लगाउने प्रणाली अध्यागमनसँग छैन । राहदानी विभागको तथ्यांकमा अध्यागमनको पहुँच भए नागरिकता नम्बरका आधारमा पत्ता लगाउन सकिने पौडेल बताउँछन् । ‘यति गर्न सकिए पनि पासपोर्ट लुकाएर नागरिकताकै भरमा भारत उड्ने प्रवृत्ति रोकिन्थ्यो,’ उनले भने।

Published on: 11 October 2018 | Kantipur

Back to list

;