s

खाडी गएकी महिला कुटाइ खाएर फर्किन्

अमृता अनमोल

सीप र योग्यता नचाहिने । मासिक ४० हजार तलब पाइने । दिनको आठ घन्टा काम गरे पुग्ने । बढी काम गरे अतिरिक्त रकम पनि । हाउस मेड भएकाले काम गरेकै ठाउँमा खान र बस्ने सुविधा हुने ।

झापाका दलाल रोशन शेर्माले यस्तै प्रलोभन देखाएपछि इलाम तोपगाछी १ कमलटोलकी ४४ वर्षे निरक्षर मनमाया थाम्सुहाङले विदेश जाने र भाग्य चम्काउने निधो

गरिन् । त्यसका लागि सयकडा ५ रुपैयाँमा ऋण खोजेर ६० हजार रुपैयाँ दलाललाई दिइन् र पुसको दोस्रो साता ५ छोराछोरीकी आमा मनमाया अनेकौं कल्पनामा डुबुल्किँदै भारतको मुम्बई सहर हुँदै साउदीको रियाद पुगिन् । तिनै मनमाया साउदी गएको तीन महिना नहुँदै मरणासन्न हुनेगरी कुटिएर स्वदेश फर्केकी छन् ।

चिसोले ज्वरो आएपछि शिथिल भएकी मनमायालाई रोगी मान्छे किन आएको भन्दै करिब दुई साताअघि घर मालिकले कुटेका थिए । कुटेर बेहोस अवस्थामै उनले साउदीको म्यानपावर कार्यालयमा पुर्‍याएका थिए ।

शिथिल अवस्थामा मुम्बई एयरपोर्ट झारिएकी मनमाया चार दिनसम्म त्यही एउटा कुना र अर्को कुनामा अलपत्र फालिएकी थिइन् । चार दिनपछि सोधखोज गरेर भारतीय प्रहरीले गोरखपुरसम्मको रेल चढाएका थिए । गोरखपुर रेल स्टेसनमा पुनः अलपत्र परेकी मनमायालाई सुर्खेतका एक प्रवासी नेपालीले उद्धार गरी रुपन्देही बेलहिया ल्याएर बुधबार माइती नेपालको जिम्मा लगाइदिएका हुन् । कुटिएकी मनमायाको अनुहार, घाँटी, छाती पूरै शरीरमा निलडाम छन् । शरीरका संवेदनशील अंगहरू सुन्निएका छन् । 'दुखेर बोल्न चल्न पनि मिल्दैन,' माइती नेपालको आवधिक गृहमा उपचार गराइरहेकी मनमायाले भनिन्, 'संवेदनशील अंगहरूमा अझै बढी मर्म परेको छ ।'

मालिकले सामान राखिदिएपछि घरको फोन नम्बरसमेत गुमाएकी मनमायाको घरपरिवार भने उनको अवस्थाबारे पूरै बेखबर छ । बरु उनीहरू कतिबेला मनमायाले पैसा पठाउने प्रतीक्षमा छन् । 'घरनिकाला हुनु दुई साताअघि फोन गरेथें । घरकाले उता जाँदाको पैसा साहूले अत्ताएको छ । छिटो पठाइदे भन्थे,' उनले सुनाइन् ।

Published on: 27 March 2012 | Kantipur

Back to list

;