s

खाडी डायरी

देवेन्द्र भट्टराई

हाउसमेडमाझ 'गुल्मेली बाजे’

उमेर गणनामा मित्र सिन्ज्याली ६० नाघेका छन् । तर उनको सधैंको धपेडी र हतार हेर्दा लाग्छ, उनी उमेरलाई चुनौती दिइरहेका छन् । ओमला मन्जलिया (प्रहरी चौकी) जाने हो कि डिपोर्टसन सेन्टर (घरफिर्ती केन्द्र) ? अथवा जेलमा डोल्मा शेर्पाको हाल पो बुझ्ने हो कि ? मित्र हाजिर हुन्छन् तत्कालै, घडीको काँटा नहेरी ।

गुल्मी रिडीमा जन्मे-हुर्केका मित्र एसएलसीपछि काठमाडौं बसेर ताहाचल क्याम्पसमा पढ्थे, नजिकै सोल्टी होटलमा काम पनि गर्थे । त्यही बेला युएईको दुबई पुगेको एकजना साथीले अरब फास्ट फुड कम्पनीमा काम गर्न बोलायो । भाग्यको लेखाजोखा गर्न उनी सन् १९८१ मा दुबई आइपुगे । अरब फास्ट फुडको 'डेरी क्विन' भन्ने रेस्टुराँमा काम गरेर निकै स्यावासी कमाएपछि त्यसैको 'चेन रेस्टुराँ' खोल्न मित्रलाई सन् १९९१ मा खाडीको अर्को गन्तव्य कुवेत पठाइएको थियो । त्यहाँ एक वर्षजति काम गरेर मित्रले आफ्नै चिनारीको रेस्टुराँ खोले- सगरमाथा । त्यो बेला प्रेम शाहजस्ता केही औंलामा गन्न सकिने नेपाली पात्र मात्रै कुवेतमा आफ्नो उद्यम गरिरहेका थिए । 

'लेखान्तमा खाडीको बास लेखेको रैछ,' गुल्मेली मगरको बान्की उतार्ने गरी बोलिरहेका थिए मित्र, 'खाडी छिरेपछि यतैको भइयो, जिन्दगीका उर्वर दिनहरू यही मरुभूमिमा बिताइसकें ।' ३२ वर्षअघि खाडी पस्दा फाटफुट मात्रै नेपाली भेटिने अवस्था थियो । त्यसबेला खाडीभरमै साउदी अरेबियाको रियादमा मात्रै नेपाली दूतावास थियो । विशेषतः नेपाली गतिविधि, सुख-दुःख र समस्यामा जोडिएका 'भेकियारी पात्र' भएकाले कुवेत-केन्दि्रत मामलामा अवैतनिक राजदूतसरह पनि थिए मित्र । कुवेतमा दूतावास स्थापना नभई बल्झेको डोल्मा शेर्पा प्रकरणदेखि अन्य मामलामा मित्र एकमात्र 'सहजकर्ता' थिए ।

'तीन वर्षअघि कुवेतमा दूतावास खुलेपछि राजदूत मधुवन पौडेलले स्थानीय कर्मचारीका रूपमा दूतावासलाई सहयोग गर्न भन्नुभयो, अफिसियल झन्झटमा पर्ने मन नभए पनि यता जोडिएको छु,' जाबि्रयास्थित दूतावासमा भेटिएका मित्रले भने । मित्रको कार्यभारमा दूतावास सेल्टरमा शरणागत झन्डै डेढ सय युवती -हाउसमेड) को प्रहरी-प्रशासन कागजात मिलाउनु, उनीहरूलाई घर फिर्ता गराउन आइपर्ने समस्या सुल्झाउनु, अड्डा-अदालत धाउनु र अरबी स्पोन्सर -कपिल) सँग 'डिल' गर्नु आदि रहेको छ । खाडीबासको धपेडीले गर्दा आफ्नै सन्तानको बीउ राख्ने मामलामा १८ वर्षको अन्तर राखेर दुई छोरी जन्माएका मित्र अरूहरूकै हितका निम्ति कुदाकुदमा अक्सर भेटिने गर्छन् । रोजीरोटीको सपनामा हुत्तिएर हाउसमेड काममैं भए पनि हुत्तिएर कुवेत आइपुग्ने अनि अनेक कारणले बिचल्ली बेहोर्दै दूतावासको सेल्टरमा आइपुग्ने २० देखि ५० वर्षसम्मका सबैजसो नेपाली चेलीबेटीले मित्रलाई 'बाजे' भन्ने गर्छन् । र, बाजे पनि छोटो फुर्सद मिल्नासाथै सेल्टरमा बसेका चेलीबेटीको आवाज-गुनासो सुन्न पुगिहाल्छन् ।

'गुल्मेली बाजे' आफू अब एक वर्षमात्रै -अहिलेका राजदूतको कार्यकालभर) दूतावासमा रहने र त्यसपछि फर्केर गुल्मी गाउँमा बुढ्यौली बिताउन जाने घोषणा कर्मचारीहरूमाझ दिनहुँजसो सुनाइरहने रहेछन् । 'ओहो, बाजे जता गए पनि हामी भने सम्भिmरहनेछौं,' सेल्टरमा बस्ने हाउसमेडहरूको साझा स्वर सुनिन्थ्यो, 'बाजे यहाँ नहुने हो भने हाम्रो हेरदेख, सन्चोबिसन्चो कसले पो बुझ्थ्यो होला र ?'

 

कुकुर हेर्ने पेसा

चितवन पदमपुरका कुमार चेपाङले सपनामा पनि चिताएका थिएनन् कि वैदेशिक रोजगारीको स्वाद यस्तो पनि होला भनेर । गाउँठाउँमा कहिल्यै नबेहोरेको र आफ्नो पुस्ताले कहिल्यै नधानेको पेसामा कुमार अहिले बाँधिएका छन् । साउदी बोर्डर ओप|mा -६०० रोड) मा उनको काम गर्ने कम्पनी छ । इलामका माधव मगर, मोरङका तीर्थनारायण खवाससँगै एउटै क्याम्प/कम्पनीमा कुमार बस्छन् । यस्तो एउटै कम्पनीमा घोडा हेर्नेदेखि तरकारी रोप्ने, परेवा हेर्नेदेखि हाँस स्याहार्नेसम्मका काम पर्न सक्छ । तर कुमार चेपाङको काम भने निकै भिन्न छ ।

उनी अरबी मालिकका एक दर्जनभन्दा बढी विभिन्न जातका कुकुर हेरचाह गर्छन् । ती कुकुरलाई दानापनी, औषधिमुलो, नुहाइधुवाइ गर्नेदेखि माया-ममता जनाउनेसम्मका जिम्मेवारी उनमा छन् । महिनाको मुस्किलले २० हजार रुपैंया कमाइ हुने यो कम्पनीमा कहाँबाट कसरी आइपुगियो, उनी खुलेर भन्न चाहँदैनन् । अमेरिकी, लेबनानी, बेलायती जातका कुकुरहरूमाझ सुसारे बनिरहेका बेला उनले यतिमात्रै भने, 'के गर्नु हजुर, यो -कुकुर) कम्पनी निकै खराब छ ।'

 

अरबी सिकाउने नेपाली गुरु

बारा, कलैयाका कर्मुल्ला मन्सुर कुवेत महानगरीमा निकै चिनिएका पात्र हुन् । स्थानीय औकात मन्त्रालयको इस्लामिक सांस्कृतिक केन्द्रमा अरबी शिक्षक रहेका उनी नेपाली मुस्लिम संघ, कुवेतका अगुवासमेत हुन् । सात वर्षदेखि कुवेतमा बस्दै आएका ३२ वर्षेले टर्की, बेलायत, जापान, नेपालदेखिका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अरबी भाषा सिकाउने गर्छन् । भारतको जामिया इस्लामिया युनिभर्सिटी हुँदै साउदीको मदिना युनिभर्सिटीबाट अरबी भाषामा स्नातक गरेका मन्सुर अड्डा-अदालतमा नेपाली भाषाको अनुवादक/दोभाषे काम पनि गर्छन् । उनले नेपाली भाषामा अरबी ज्ञानगुन र इस्लामिक धर्मबारेका केही पुस्तक पनि निकालेका छन् । 'यहाँ अरबिक भाषाका दोभाषेहरू धेरैजसो भारतीय नागरिक छन्,' कर्मुल्लाको कुरा छ, 'तर हाम्रो नेपाली भाषामाथि भारतीय दोभाषेले न्याय गर्न सक्दैनन् । यसकारण हामीले सक्दो अरबिक-नेपालीको भाषिक अनुवादलाई ठाउँ दिनुपर्छ भनेर म लागिपरेको छु ।'

 

गुरु कर्मुल्लाका अनुसार कुवेतमा झन्डै ३२ लाख जनसंख्या रहेकोमा यसमा ११ लाख जति मात्रै कुवेती छन् । यो कुलसंख्यामा झन्डै ४० हजार नेपाली रहेकोमा ५ सय जति मात्रै नेपाली मुस्लिमको संख्या रहेछ । 'संख्या थोरै भए पनि हामीले हाम्रो चिनारी र अस्तित्व भुल्नुहुन्न,' उनले सुनाए, 'हामी सबैभन्दा पहिला नेपालका नेपाली हौं । अनि मात्रै धर्म, भाषा, जातिको कुरा गर्नुपर्छ ।'  

 

एजेन्टहरूमाझ फोटो-सेसन

कुवेतका फरवानिया, अल-जहारा, हवाली, जलिवजस्ता ठाउँहरूको चिनारी अर्को कारणले पनि रहेछ किनकि त्यहाँ प्रशस्तै हाउसमेड अफिस छन् । नेपाली, फिलिपिनो, इथियोपियन, श्रीलंकन आदि मूलका घरेलु कामदार केटीहरूको रोजगारीको पहिलो मुकाम यिनै अफिस हुने रहेछन् । र, देश र भाषापिच्छे फरक-फरक अफिस-सेक्रेटरी (एजेन्ट) पनि हुँदा रहेछन् ।

घुमघामको क्रममा एउटा अफिसमा पुग्दा निकै आकर्षक बोलीचाली भएका सेक्रेटरी दिदीबहिनीहरू भेटिए । भारत -दार्जिलिङ) की नेपालीभाषी अनि इथियोपिया र फिलिपिन्सकी सेक्रेटरीहरूले आ-आफ्ना देशका हाउसमेडका विशेषता, तिनको मूल्य र उपादेयताको व्याख्यान राम्रो गरी दिए । 'अरे'का भरमा नेपालबाट दिनहुँ खाडीमा जाने महिलाहरूभन्दा सीप, दक्षता र अरबी भाषाको राम्रो पकड राख्ने महिला जनशक्ति आफूहरूसँग रहेको दाबी उनीहरूले गरे । यो आफैंमा सुवर्ण अवसर पनि थियो- म्यानपावर बिजनेसलाई आफ्नै ढङ्गमा प्रवर्द्धन गरिरहेका सेक्रेटरीहरूमाझ सम्झनाको तस्बिर उतार्ने । यही कारणले यो 'फोटो-सेसन' सम्भव भयो, अन्तर्राष्ट्रिय दिदीबहिनीहरूसँग । कृपा गरेर यो क्षणलाई 'सांस्कृतिक विचलन' भन्ने नठानियोस् । 

Published on: 23 February 2013 | Kantipur

 

Back to list

;