s

केन्याका डान्सबारमा नेपाली युवती

जनकराज सापकोटा
 
अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ । प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरूले कात्तिक २३ मा न्युरोडबाट ललितसिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो । 
 
प्रहरी स्रोतका अनुसार युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मूलकी केन्याली महिला काठमाडौं आएकी थिइन् । केन्याका डान्सबारमा युवती पठाउने एजेन्टका रूपमा सक्रिय सुवालले दुई युवती खोजिदिएका थिए । तर आफूले भनेजस्तो उचाइ, वर्ण र ढाँचा नमिलेको भन्दै कविताले ती दुई युवती लैजान अस्वीकार गरिन् । प्रहरी स्रोतका अनुसार सुवालले यसअघि नै दुई युवतीलाई केन्याका डान्सबारमा काम गर्ने गरी पठाइसकेका छन् । सुवालले नेपाली युवतीको फोटो सुट गरिएको तस्बिर हाटसएपमार्फत केन्याली एजेन्टकहाँ पठाउने गर्थे । 
 
प्रहरीले केन्याका डान्सबारमा नेपाली युवती पठाउने गिरोह नै सक्रिय भएको सूचनाका आधारमा सुवाललाई पक्राउ गरेको थियो । युवतीको छनोट गर्न केन्याबाटै एक महिला आएको सूचना पाए पनि प्रहरीले तिनलाई भने पक्राउ गर्न सकेन । सुवाल पक्राउ पर्नुभन्दा दुई दिनअघि नै २१ कात्तिकमा केन्याली महिला स्थलमार्ग हुँदै भारत पसिसकेको स्रोतको दाबी छ । 
 
प्रहरीले सुवालको मोबाइलमा केन्या पठाइएका युवतीको तस्बिर पनि फेला पारेको थियो । सुवालको मोबाइलमा केन्याको डान्सबारमा काम गर्ने नेपाली युवतीले पठाएको म्यासेज पनि भेटिएको थियो । नेपाली युवतीले आफूहरूले काम गरेको डेढ महिनासम्मको तलब नपाएको गुनासोसहितको म्यासेज सुवाललाई गरेका थिए । प्रहरीका अनुसार सुवालले एउटी युवती पठाएबापत ५० हजार रुपैयाँ लिने गर्थे तर जाहेरवालाको अभावमा प्रहरीले सुवालविरुद्धको मुद्दा स्थापित गर्न सकेन । प्रहरी स्रोतका अनुसार पीडितको उजुरी नभेटिएपछि सुवालमाथि अनुसन्धान गर्न प्रहरीले सार्वजनिक अपराध ऐनअन्र्तगत मुद्दा चलाएको थियो । मंसिर १० मा काठमाडौं जिल्ला अदालतले सुवाललाई ५ हजार धरौटीमा रिहा गरिदियो । 
 
प्रहरीका अनुसार डान्सबारमा नाच्ने काम भनिए पनि धनी ग्राहकको यौन अपेक्षा पूरा गर्ने काम पनि ती युवतीको हुन्थ्यो । त्यही भएर केन्याली डान्सबारका सञ्चालकले आफैंले सुन्दरी युवतीको परिभाषा बनाएका छन् । नेपाली एजेन्टका रूपमा कार्यरत सुवालले बयानका क्रममा नेपालबाट पठाइने युवतीको खर्च सबै केन्याकै डान्सबारले बेहोर्ने बताएका थिए । नेपाली युवतीलाई नेपालबाट स्थलमार्ग हुँदै भारत र त्यहाँबाट यूएई हुँदै केन्या पुर्‍याउने गरिन्छ । मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाएर लगिने युवतीलाई डान्सबारका मालिकले बन्दीको हैसियतमा राख्ने गर्छन् । केन्या र तान्जानियाका ६ वटा डान्सबारमा नेपाली युवती मुजुरा डान्स गर्ने गरेको सूचना प्रहरीले पाएको थियो । २०७१ जेठ दोस्रो साता नेपाल प्रहरीले तिनको उद्धारमा सघाउन ती मुलुकका इन्टरपोललाई पत्राचार गरेको थियो । 
 
Published on: 1 December 2017 | Kantipur

Back to list

;