s

काठमाडौंमा ३१ हजार एक सय परिवारलाई राहत

काठमाडौं महानगरपालिकाले ३१ हजार एक सय परिवारलाई पहिलो चरणको राहत वितरण गरेको छ । महानगरपालिकाले आफ्नो कार्यविधिबमोजिम अतिविपन्न, अशक्त, असहाय र ज्यालादारी गरेर दैनिकी गुजार्ने, भोकै बस्न बाध्य परिवारलाई परिवार संख्याका आधारमा तीनवटा प्याकेजमा राहत सामग्री बाँडेको हो । 

अहिलेसम्म ३१ हजार एक सय ८४ जनालाई राहत वितरण भएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । महानगरको ४४औँ कार्यपालिका बैठकमा महानगरले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारमा गरेका गतिविधिको समीक्षा भएको छ । मेयर शाक्यले बैठकले महानगर क्षेत्रभित्र विदेशबाट आएका एक सय ३४ जनाको विवरण संकलन भएको र उनीहरूको अहिलेसम्मको स्वास्थ्य अवस्था राम्रो रहेको विषयमा समेत छलफल गरेको जानकारी दिए । 

महानगरका अनुसार सबैभन्दा धेरै वडा नं. ३१ मा तीन हजार आठ सय परिवारलाई राहत वितरण गरिएको छ । यस्तै, वडा नं. ७ मा दुई हजार तीन सय ९६, वडा नं. १० मा दुई हजार २०, वडा– १६ मा १७ सय १९, वडा–१५ मा १५ सय २० र वडा–६ मा १४ सय ७६ परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । 

‘अहिलेसम्म राहत वितरणमा भएका कमी–कमजोरी, राहत वितरणका क्रममा देखिएका समस्यालगायतका विषयमा बैठकमा छलफल भएको छ, अब बाँकी राहत वितरणलाई अझ प्रभावकारी बनाउने निर्णय गरेका छौँ,’ बैठकपछि मेयर शाक्यले भने । महानगरमा राहतको माग गर्दै ३७ हजार सात सय ९० वटा आवेदन परेका छन् । 

महानगरले २४ हजार तीन सय १९ परिवारलाई आफ्नै स्रोतबाट राहत वितरण गरेको छ भने बाँकी ६ हजार आठ सय ६५ परिवारलाई विभिन्न स्रोतबाट राहत सहयोग वितरण गरिएको मेयर शाक्यले बताए । उनले राहत वितरणमा प्रचारभन्दा वास्तविक पीडितको पहिचान गरी राहत वितरण गर्नमा ध्यान दिन आग्रह गरे । 

त्यसो त महानगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरेका कारण संघीय सांसद, प्रदेश सांसदले पनि समन्वय गरेर नै वितरण गर्ने गरेका छन् । केही दिनअघि मात्रै वडा–२९ ले राहत वितरण गरेको थियो । कालिञ्चोक मार्ग, रुद्रमती मार्ग, सहयोग मार्गलगायतका ठाउँमा रहेका अतिविपन्न, असहाय र दैनिक ज्याला–मजदुरी गरेर खानेलाई गरिएको राहत वितरण कार्यक्रममा संघीय सांसद एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पनि सहभागी थिए ।

अन्य वडामा गरिएको राहत वितरण कार्यक्रममा पनि संघ र प्रदेशका सांसद सहभागी हुने गरेको महानगरपालिकाले जानकारी दिएको छ । कालिमाटीलगायतका क्षेत्रमा गरिएको राहत वितरण कार्यक्रममा संघीय सांसद जीवनराम श्रेष्ठ, प्रदेश सांसद राजेश शाक्यलगायत पनि सहभागी थिए । त्यसैगरी, प्रदेश सांसदहरू नारायण सिलवाल, गणेश दुलाललगायत पनि आफू निर्वाचित भएको क्षेत्रका वडामा गरिएको राहत वितरण कार्यक्रममा सहभागी भएका छन् ।

Published on: 11 April 2020 | Nayapatrika

Link

Back to list

;