s

काठमाडौंमा खुल्यो कतार भिसा सेन्टर

कतार रोजगारीमा जान सम्पूर्ण प्रक्रिया अब नेपालबाटै कतार भिसा सेन्टर (क्युभिसी) ले बुधबारबाट नेपालमा सेवा सुरु गरेको छ । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र कतार भिसा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलिफा अल मोहन्नदीले बुधबार साँझ काठमाडौं महानगरपालिका-४ महाराजगन्जमा रहेको भिसा सेन्टर उद्घाटन गरे ।

औपचारिक सेवा सुरू भएसँगै कतार रोजगारीमा जाने कामदारको सम्पूर्ण प्रक्रिया अब नेपालमै पूरा हुने भएको छ । अब रोजगारीमा जाने कामदारले भिसा, स्वास्थ्य परीक्षण, कामदारको औँठा छाप, कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका काम सेवा यही सेन्टरबाट पाउनेछन् । यस्तै, कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पनि यहीँ पूरा हुने बताइएको छ ।

यी प्रक्रिया पूरा भएपछि कतार पुगेलगत्तै नेपाली कामदारले कतारमा परिचयपत्र पाउने जानकारी दिइएको छ । कतारले बंगलादेश, पाकिस्तान र श्रीलंकालगायतका देशमा यस्ता सेन्टर सञ्चालन गरिसकेको छ । कार्यक्रममा राजदूत हैलले वैदेशिक रोजगारीमा कतार जाने नेपाली कामदारलाई लक्षित गर्दै सेन्टर खोलिएको बताए । सेन्टरबाट पाउने सेवाले नेपाली श्रमिकहरूलाई सहजता आउने उनले बताए । मेडिकल, बिमा र अन्य व्यक्तिगत कागजातहरू राम्रोसँग स्क्रिनिङ गरिने भएकाले मेडिकल फेल वा अन्य समस्याको टुंगो नेपालमै लाग्ने हुँदा कतार जान पाउने/नपाउने यहीँ टुंग्गो लाग्ने सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले बताए । उनले नेपालको विकासमा समेत कतारले सहयोग गर्न चाहेको भन्दै नेपालका ठूला पूर्वाधार निर्माणमा समेत सघाउन चाहेको बताए ।

सेन्टरले वैदेशिक रोजगारमा कतार जाने नेपाली श्रमिकको तथ्यांकसमेत राख्ने बताइएको छ । नेपालस्थित कतारी दूतावासले कतार भिसा सेन्टरबाट रोजगारीमा जाने नेपाली श्रमिकहरुको यकिन तथ्यांक राखिने हुँदा नेपाली रोजगारीमा कति गए र कति नेपाली कतारबाट फर्केर आए, कुन श्रमिक कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी सहज रूपमा प्राप्त जनाएको छ । उद्घाटन कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष सलिम मिया अन्सारी, नेपालका सञ्चालक हेम गुरुङलगायत वैदेशिक रोजगार व्यवसायीहरू सहभागी थिए ।

Published on: 29 May 2019 | Nayapatrika

Back to list

;