s

काठमाडौंका मजदुर भन्छन्- 'परिवार कुरिरहेका छन्, घर फर्किन देऊ'

गणेश राई

काठमाडौँ — नयाँ वर्षका दिन ललितपुरको नख्खुखोला किनार पुग्दा पालको टहरामा बसेका कामदारको अनुहारमा कुनै उत्साह थिएन। उनीहरुको आँखामा केही आशा थियो। जिज्ञासा थियो। 

अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिअन्तर्गतको नख्खुखोला करिडोर निर्माणमा जुटेका दैनिक ज्यालादारीका कामदार यहीँ पालको ओतमा रात काट्दै आएका छन्। उनीहरुसँग कुरा गर्दा कोरोना त्राससँगै लकडाउनको अत्यासले सताएको बुझ्न सकिन्थ्यो।

सल्यानको त्रिवेणी गाउँपालिका–१ की चम्पा गोतामे पनि यही पालमुनि थिइन्। ‘जाऊँ कसरी जाऊँ, सबैतिर लकडाउन छ,’ तरक्कै आँसु झार्दै उनले भनिन्, ‘घरमा आमा बिमारी हुनुभएको खबरले रातभरि निद्रा परेको छैन। घरबाट फुन आको आई छ। लौ न सर जसरी हामीलाई घरसम्म पुर्‍याउने व्यवस्था गरिदिनुपर्‍यो।’

चम्पा गत माघमा काठमाडौं आएकी हुन्। त्यसयता उनको घरमा टिबीका बिरामी श्रीमान्, आफूबाट बच्चा नभएपछि भित्र्याइएकी कान्छी र दुई छोराछोरी छन्। श्रीमान्‌को कमजोर स्वास्थ्यका कारण आफू मजदुरी गर्न काठमाडौं आउनुपरेको उनले सुनाइन्।

चम्पासँगै जाजरकोट भेरी नगरपालिका–३ की प्रमिला विक, बाँके कोहलपुरकी अमृता खत्री एउटै पालमा बस्छन्। खोला किनारको उराठलाग्दो बगरमा पालमुनि गुम्सिएर बस्नुपरेको उनीहरू सुनाउँछन्। 

उनीहरु अमर कन्स्ट्रक्सनअन्तर्गत काम गर्दै आएका छन्। ललितपुर महानगरपालिका–१५ र २५ वडामा पर्ने भैंसेपाटी मुनि खोलाको २२ सय मिटर खण्डमा करिडोरको काम भइरहेको थियो। 

लकडाउनपछि पालभित्रबाट आफ्नो ‘लेडिज ब्याग’ चोरी भएको चम्पाले बताइन्। ‘पैसा धेरै थिएन, तर त्यसभित्रको सामान झिकेर लगेछ, झोलाचाहिँ च्यातेर फालेको फेलापर्‍यो,’ उनले भनिन्। 

सरकारले लकडाउन गरेपछि करिडोरमा काम गर्दै आएका ९० जना मजदुर कामविहीन भएका छन्। ती मजदुरमध्ये करिब १५ जना महिला छन्। ‘हामीलाई ठेकदारले चामल, दाल, नुन, तेल दिनुभएको छ,’ बर्दियाको मधुवन नगरपालिका–६ का शिवहरि नैनावस्तीले भने, ‘अरु सागसब्जी आफैं किन्छौं। खानेपानीचाहिँ पारि भैंसेपाटीको ढुंगेधारामा लाइन बसेर ल्याउँछौं।’

यो फाँटमा करिब २५ वटा त्रिपाल टाँगेर बनाइएका ओत लाग्ने ठाउँ छन्। पाल राति शीत छेक्नमात्र उपयुक्त छ। दिउँसो घाम चर्किंदा तातेर बस्नै गाह्रो हुन्छ। चैत महिनाको हावा, हुन्डरीले पाल उठाउने जोखिम रहेको उनीहरू बताउँछन्। 

बर्दियाका शिव घर्तीमगर र केशरबहादुर घर्तीमगरको टोलीलाई उस्तै छटपटी छ। ‘हामी त अब काम गर्दैनौं, गाउँ जाने हो,’ बुढ्यौली उमेरका केशरले भने, ‘हाम्रो घरपरिवार, छोराछोरीको चिन्ता बढेको छ। उनीहरु पर्खिइरहेका छन्। सँगै बस्न पायो भने मरे पनि सँगै, बाँचे पनि सँगै हुन्थ्यो। कम्पनीले पास दियो भने तुरुन्तै घर जान्छौं।’ 

जाजरकोटका रुद्र विकको चिन्ता उस्तै छ। ‘अस्ति दुई दिन लकडाउन खुल्छ भनेपछि आँधीहुरीझैं हत्तपत्त तयार भयौं तर पाएनौं, अब फेरि लकडाउन बढ्न लाग्यो, हामीलाई गन्तव्यमा पुर्‍याइदिए हुन्थ्यो,’ उनले भने, ‘हाम्रो ठेकदारले सित्तैमा दाल, चामल दिएर, खाएर गुजारा चल्दैन। यसरी काम नगरी थुनिएर बस्नु ठिक छैन।’ त्यतिखेर विकको भनाइप्रति मोरङ उर्लाबारीका विशाल थापा सही थाप्दै थिए।

यी मजदुरले आफ्नो समस्या सुनाइरहँदा हावा चलेर त्रिपाल उडाउलाझैं वातावरण बन्यो। लकडाउन भए पनि खोला किनारामा ४ वटा एक्स्काभेटर, दुई वटा ट्याक्टर, तीन वटा मिक्सचरलगायत सिमेन्ट, बालुवा, गिटीजस्ता निर्माण सामग्री थुपारिएका छन्। कन्स्ट्रक्सनका सबइन्जिनियर सुनिलकुमार सुनारका अनुसार काम गर्न दिइएको भए निर्माण कार्य धेरै अघि बढिसक्थ्यो। 

निर्माण कम्पनीका लेखापाल हरि सापकोटाले अब लकडाउन खुले पनि कामदार काम गर्ने पक्षमा नरहेको बताए। ’सबै कहिले खुल्ला र घर जान पाऊँला भन्ने हतारोमा छन्,' उनले भने, 'सरकारले यी कामदारलाई घर पठाउने वातावरण बनाइदिए उत्तम हुने थियो।’ 

प्रोजेक्ट म्यानेजर सुशीलकुमार झाले यो वर्ष खोलाको दायाँ–बायाँ पर्खाल लगाएर बीचबाट पानी बग्न दिने र अर्को वर्ष दायाँ–बायाँ सडक निर्माण गर्ने योजना रहेको बताए। ‘तर लकडाउनले सम्भव भएन,’ उनले भने, ‘लकडाउन हुनुअघि नै केही कामदार घर फर्किसकेका छन्। बाँकी रहेका पनि खुला भएलगत्तै फर्किने तयारीमा छन्।’ 

निर्माण कम्पनीले काठमाडौंको गोकर्ण–तारेभीर सडक निर्माणको पनि जिम्मा लिएको छ। त्यहाँका समेत गरी १ सय ३० कामदार गाउँ फर्किन हतारोमा रहेको झाले बताए। 

कालिका कन्सट्रक्सनले नख्खु करिडोर तल्लो भेगमा ३५ सय मिटर करिडोर निर्माण गरेको आयोजना प्रमुख प्रकाश खरेलले बताए। सोही कम्पनीले भक्तपुरको हनुमन्ते खोला करिडोर र काठमाडौंको वाग्मती, गुहेश्वरी–सिनामंगल खण्ड निर्माण जारी राखेको छ। ‘हाम्रो कम्पनीमा धेरै कामदार फर्किसकेका छन्, अहिले १ सय ९२ जना बाँकी छन्,’ खरेलले भने, ‘लकडाउनको बेला हप्ताको एक दिन रासन उपलब्ध गराउदै आएका छौं।’ 

उक्त कम्पनीले लकडाउन सुरु भएलगत्तै गाडी रिजर्भ गरेर कामदारलाई गाउँ फर्कने व्यवस्था गरे पनि बीच बाटोबाटै काठमाडौं फर्काइएको प्रमुख खरेलले जनाए। ‘स्थानीय सरकारले कडाइ गरेपछि दोलखाका कामदारलाई सिन्धुपाल्चोकबाट र लमजुङकालाई दमौलीबाट काठमाडौं फर्काइदियो। अधिकांश कामदार उपत्यका बाहिरी जिल्लाका छन्, 'प्रमुख खरेलले भने, ‘लडकडाउनले निर्माणको काम ठप्प छ। सरकारले पासको व्यवस्था गरे कामदारलाई सम्बन्धित जिल्लामा पुर्‍याउन गाडीको व्यवस्था गर्न तयार छौं।’ 

त्यसैगरी वाग्मती करिडोर निर्माणमा संलग्न समानान्तर कन्स्ट्रक्सनमा कार्यरत करिब सय जना मजदुर घर फर्किने साइत कुरेर बसेका छन्। सरकारले छोटो समयका निम्ति अनुमति दिएमा उनीहरू फर्किनेछन्। यसका साथै साना–साना निर्माण व्यवसायी र तिनका कामदारसमेत बिचल्लीमा परेका छन्। एकातर्फ ठेकदारले पारिश्रमिक उपलब्ध गराउन नसक्दा रासनको समस्या खेपिरहेका छन् भने अर्कोतर्फ घरभाडाले पिरोलिएको जनाइएको छ।

Published on: 14 April 2020 | Kantipur

Link

Back to list

;