s

काठमाडौंबाट पठाउन मन्त्रीको होड, गाउँ पुग्दा बिचल्ली

भीमकुमार बाँस्कोटा 

फिदिम : लकडाउनको समयमा काठमाडौंबाट घर आएका पाँचथरका ीव्द्यार्थी र मजदुरहरुको बिचल्ली भएको छ। उनीहरुलाई विद्यालयको भवनमा कोचेर राखिएको छ। जिल्लामा निर्माण गरेका क्वारेन्टाइको क्षमताले नभ्याएपछि विद्यालयको एउटै कोठमा दर्जनौलाई कोचेर राखिएको हो। सुत्केरी महिलाहरु चिसो भुँइमा बस्न बाध्य छन्। स्थानीय सरकार र प्रशासनसँग समन्वय नगरी एकसाथ ठूलो संख्यामा जिल्ला भित्रिएपछि समस्या भएको हो।  काठमाडौंबाट मन्त्रीको समन्वयमा आफूहरु घर आएको उनीहरुको भनाइ छ। 

तीन दिनको अवधिमा तीन सय भन्दा धेरै विद्यार्थी र मजदुरहरु पाँचथर भित्रिएका छन्। उनीहरुलाई घर जान दिइएको छैन। सबैलाई विद्यालयको भवनमा राखिएको छ।  ‘जिल्लामा सबै व्यवस्था गरिएको छ भनेर हामीलाई काठमाडौंबाट पठाइयो,’ छ महिनाको बच्चा काखी च्यापेकी फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाकी गीता लिम्बूले भनिन् ‘यहाँ आएपछि चिसो भुइँमा राखियो।’ 

फाल्गुन्द गाँउपालिका–३ जलसिंह माध्यमिक विद्यालयमा सय भन्दा धेरैलाई राखिएको छ। हिलिहाङ गाँउपालिकाको सिद्धेश्वरी माविमा करिब ५० जना छन्। फालेलेलुङ गाँउपालिकामा पनि काठमाडौंबाट आएका ४५ जनालाई विद्यालयमै राखिएको हो। फिदिम नगरपालिकामा पनि जिल्ला भित्रिएकालाई अव्यवस्थित ढंगले राखिएको छ। 

विद्यालयको एउटै कोठमा २० जनासम्मलाई कोचेर राखिएको छ। जलसिंह माध्यमिक विद्यालयमा राखिएकालाई ओढ्ने ओछ्याउनेको समेत राम्रो व्यवस्था गरिएको छ्रैन्। ‘हामीलाई कैदीजस्तो एउटै कोठमा कोचेर राखिएको छ,’ फिदिमका सञ्जय आङ्बोले भने ‘काठमाडौंमा कोठामा राम्ररी बसेका हामीलाई यहाँ ल्याएर चिसो भुँइमा कोचेर राखियो। खानेकुराको राम्रो व्यवस्था छैन। काचै भात खानु परेको छ।’  

एउटै कोठमा कोचिएर बस्नु परेपछि उनीहरुलाई त्रास बढेको छ। ‘हामीमध्ये कसैमा भाइरस थियो भने सबै संक्रमित हुन् भयौँ,’ फिदिमका बिपन खड्काले भने ‘हाम्रो स्वास्थ्य परीक्षण गरिएको छ्रैन। खाने, ओढ्ने, ओछ्याउनेको पनि राम्रो व्यवस्था नभएकाले रोगले भन्दा भोकले मर्ने स्थिति छ।’ 

जिल्लासँग समन्वय नगरी काठमाडौंबाट मान्छे पठाउँदा समस्या आएको प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताए। ‘हामीसँग कुनै समन्वय भएको थिएन,’ शर्माले भने ‘एकाएक मान्छेहरु पठाउँदा व्यवस्थापनमा समस्या भएको हो।’ 

जिल्लाका आठै स्थानीय तहमा गरी जम्मा २०४ शैय्याको क्वारेन्टाइन क्षमता छ। तर, अहिले करिब ४५० जनालाई क्वारेन्टाइनमा राख्नुपर्ने स्थिति छ। क्वारेन्टाइनको क्षमताले नभ्याएपछि काठमाडौंबाट आएका सबैलाई विद्यालयको भवनमा कोचेर राखिएको हो। 

जिल्लाबासीलाई घर पठाउन मन्त्रीहरुको होड चलेपछि जिल्लामा समस्या उत्पन्न भएको हिलिहाङ गाँउपालिकाका अध्यक्ष भवानी लिङ्देनले बताए। ‘पर्यटनमन्त्री योगेश भट्टराईले ताप्लेजुङबासीलाई भटाभट घर पठाएपछि समस्या सुरु भएको हो,’ लिङ्देनले भने ‘त्यसपछि हाम्रा जिल्लाका भौतिक योजाना निर्माण मन्त्री बसन्त नेम्बाङले पनि भटाभट मान्छे पठाएका हुन्।’ स्थानीय सरकारसँग समन्वय नगरी काठमाडाबाट मान्छेहरु पठाउँदा जिल्लामा त्रास बढेको छ।

Published on: 27 April 2020 | Annapurna Post

Link

Back to list

;