s

काठमाडौं, पोखरा र सौराहाका रेस्टुरेन्टमा सेवा शुल्क हट्यो

रेस्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिइने सेवा शुल्क काठमाडौं, पोखरा र सौराहामा हटाइएको छ ।
 
रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेबान (काठमाडौं, पोखरा र सौराहा)को सोमबार काठमाडौंमा भएको भेलाले ग्राहकहरुबाट लिइने १० प्रतिशत शुल्क हटाउने निर्णय गरेको हो । ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त १० प्रतिशतसमेत जोडेर रकम लिन थालिएपछि चौतर्फी विरोध भएको थियो ।
 
‘उपभोक्ता हित तथा अनुरोधलाई ध्यानमा राखी आजको मितिदेखि क्रमिकरुपमा लागू हुने गरी सेवा शुल्क हटाउने निर्णय गरिएको छ,’ रेबानद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘आजको निर्णयसँगै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेस्टुरेन्टमा सेवा प्रयोग गरेबापत कुनै सेवा शुल्क लिइने छैन ।’
 
सोमबार आयोजित भेलाको निर्णयबारे जानकारी दिन प्रकाशित प्रेस विज्ञप्तिमा केन्द्रीय रेबानका अध्यक्ष प्रमोद कुमार जैसवाल र रेबान पोखराका अध्यक्ष भिमसेन भुजेलको मात्र हस्ताक्षर छ । रेबान सौराहाका अध्यक्ष गोकर्ण गिरीको भने प्रेस विज्ञप्तिमा हस्ताक्षर छैन ।
 
Published On: 29 January 2019 | Online khabar

Back to list

;