s

काठमाडौं महानगरले बेरोजगारलाई काम दिने

बेरोजगार नागरिकलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिने भएको छ । त्यसका लागि वडा कार्यालयमा गएर बेरोजगारीको विवरण बुझाउन आग्रह गरेको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रम र महानगरको आर्थिक वर्ष ०७६/७७ को बजेटका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले बेरोजगारलाई रोजगारी दिने बताए । ‘बेरोजगारलाई एक सय दिनको रोजगारी दिन्छौँ ।

सूचीमा भएकाले यदि काम पाएनन् भने उनीहरूलाई निर्वाह भत्ताबापतको रकम दिन्छौँ,’ मेयर शाक्यले भने । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कामको सम्मान गर्ने संस्कृतिको विकास गर्नलाई पहिलो आवश्यकता भएको बताए । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा.लोकराज भुसालले बर्सेनि पाँच लाख युवा श्रम बजारमा आउने तथ्य उल्लेख गर्दै तीमध्ये एक लाख मात्रै श्रम बजारमा खपत हुने बताए । बाँकी युवा बिदेसिने गरेको उल्लेख गर्दै उनले भने, ‘जनशक्तिलाई श्रममा लगाउन सक्ने हो भने बजार छ । रोजगार कार्यक्रमले यही सन्तुलन मिलाउन खोजेको हो ।’वैशाख मसान्तसम्म वडा कार्यालयमा सूचीकृत हुन सूचना जारी गरिएको महानगरका सामाजिक विकास विभागका प्रमुख सनतकुमार थापाले बताए ।

Published on: 8 May 2019 | Nayapatrika

Back to list

;