s

कतारमाभन्दा टाँगाबाट राम्रो आम्दानी

गुड्नेदेखि उड्नेसम्मका सवारीसाधनको भीडमा अहिले पनि घोडाको भरमा चल्ने टाँगाले राम्रो आम्दानी गरिरहेको छ। सिरहाको मिर्चैया-कल्याणपुर सडकखण्डको १९ किलोमिटर दूरीको कच्ची सडकमा तेल इन्जिनले चल्ने यातायातका साधनसँगको प्रतिस्पर्धामा टाँगाले राम्रो आम्दानी गर्न सफल भएका छन्।

कच्ची सडक रहेको यस खण्डामा अहिले दैनिक दुई दर्जनभन्दा बढी टाँगा र त्यत्तिकै संख्यामा जिप तथा साना सवारीसाधन सञ्चालन हुन्छन्। सिरहाको इटारी पर्साहीका टाँगा सञ्चालक ३१ वर्षीय किसुनदेव मण्डल भन्छन्, 'यहाँ दैनिक दुई दर्जन टाँगा चल्छन्। सबैले दैनिक पाँचदेखि आठ सय रुपैयाँ आम्दानी गर्छन्।' यसले रोजगार मात्र होइन, राम्रो आम्दानीसमेत दिएको मण्डलको भनाइ छ।

एकजना यात्रुसँग टाँगा चालकले कल्याणपुरबाट सिरहा वा कल्याणपुरबाट मिर्चैया पुग्न ५० देखि ८० रुपैयाँसम्म भाडा लिने टाँगा व्यवसायी बताउँछन्। कच्ची बाटो भएकोले वर्षायाममा भाडामा पनि बढोत्तरी हुने उनले बताए।

यो सडकखण्डमा खाडीमुलुक कतारस्थित थ्री सीसी कम्पनीमा ६ वर्ष काम गरेर आएका मण्डल पछिल्लो दुई वर्षदेखि टाँगा चलाउँदै छन्। कतारमा मासिक २० हजार रुपैयाँसम्म कमाएका उनले त्यहाँभन्दा आफ्नै ठाउँमा राम्रो आम्दानी भएको बताए। मण्डलले भने, 'राम्रै कमाइ हुने देखेपछि मैले टाँगा सञ्चालनलाई व्यावसायिक रूप दिएको छु।'

कल्याणपुरका अर्का टाँगा सञ्चालक २५ वर्षीय सुल्तान मियाले लगानीको आधारमा टाँगा सञ्चालनले राम्रो आम्दानी दिने गरेको अनुभव सुनाए। उनले भने, 'बढीमा एक लाख ५० हजारसम्म टाँगाको मोल छ। तर यसले दैनिक पाँचदेखि आठ सयसम्मको आम्दानी हुनु भनेको काम राम्रै हो।'

दुई दर्जन टाँगा सञ्चालन भए पनि मिर्चैया-कल्याणपुर-सिरहा सडकखण्डमा त्यसका सञ्चालकको कुनै संघसंगठन छैन। उनीहरू जो जसरी आउँछन् वा जसले यात्रु पाउँछन्, त्यसरी नै चलिरहेका छन्। त्यसमा कुनै नियम छैन।

टाँगा सञ्चालक मण्डल भन्छन्, 'ज्यानले चल्ने भएकाले यसमा कुनै प्रणाली र नियम छैन, एक पटक जानेआउने भएकाले त्यसको लागि के नियम कानुनमा जाने?' जसले दुईवटा घोडा राखेका छन् उनीहरू भने दैनिक दुई-तीन पटकसम्म ओहोर-दोहोर गर्छन्। अधिकांशले भारतको हाजीपुरबाट घोडा ल्याएर टाँगा सञ्चालन गरिरहेका छन्। केहीले भने स्थानीय घोडाले पनि आफ्नो व्यवसाय धानिरहेका छन्।

Published on: 18 February 2014 | Annapurna Post

Back to list

;