s

'कतार नेपाली कामदारको सुरक्षामा प्रतिबद्ध’

होम कार्की

एमाओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कामदारको सुरक्षामा कतारको निकै चासो रहेको बताएका छन् । कतारी प्रधानमन्त्री सेख अब्बदुल्लाहा बिन नासिर बिन खलाफी अलथानी र श्रम तथा सामाजिक मामिलामन्त्री अब्दुल्लाहा बिन सलिह मुबाराक खल खुलाइफीसँग शुक्रबार छुट्टाछुट्टै भेटवार्ता गरेेपछि दाहालले यस्तो जनाएका हुन् । 'जुन स्तरको हाम्रो भेट भयो । यसले दुई देशको सम्बन्धलाई नयाँ बनाउन र नेपालको आर्थिक विकासका निम्ति महत्त्वपूर्ण सुरुआत हुन सक्छ,' उनले कान्तिपुरसँग भने ।

चारदिने भ्रमणमा आइपुगेका अध्यक्ष दाहालले प्रधानमन्त्री नासिरसँग श्रम मामिलासँगै नेपालको संविधान निर्माणको प्रक्रियाको विषयमा छलफल गरेका थिए । 'हामी संक्रमण काललाई टुंग्याउँदै छौं । यसलगत्तै आर्थिक विकास गर्न सकिन्छ । नेपालको आर्थिक विकासका लागि कतारजस्तो विश्वको धनी देशको सहयोग आवश्यक पर्छ,' दाहालले प्रधानमन्त्री नासिरसमक्ष भने, 'त्यसको लागि नेपालको जलविद्युत्, उद्योग, विकास निर्माणमा कतारको सहयोग चाहिन्छ ।'

दाहालले कतारले गर्न लागेको विश्वकप फुटबलको सफलताको समेत कामना गरे । नेपालको राजनीतिक नेतासँग पहिलो भेटमा प्रधानमन्त्री नासिरले कतार द्विपक्षीय हितका लागि नेपालको आर्थिक वृद्धिमा सघाउ पुर्‍याउने बताए । 'दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्छ,' नासिरले भने, 'नेपालको विकासमा सहयोग गर्न कतार तयार छ ।' त्यसअघि अध्यक्ष दाहालले पूर्वश्रममन्त्री लेखराज भट्टसहितको टोली लिएर श्रम तथा सामाजिक मामिलामन्त्री अब्दुल्लाहा बिन सलिह मुबाराक खल खुलाइफीलाई भटेको थिए । श्रममन्त्री खुलाइफीसमक्ष अध्यक्ष दाहालले नेपाली कामदारलाई समस्यामा पर्ने साना कम्पनीहरूलाई नियन्त्रण गर्नुपर्ने बताएका थिए । 'कतारको श्रम कानुन, ऐन नियमावलीमा ठीक छ । तर साना कम्पनीहरूबाट कामदार पीडित भइरहेका छन्,' अध्यक्ष दाहालले भने, 'तिनीहरूलाई नियन्त्रण गर्न जरुरी छ ।'

श्रममन्त्री खुलाइफीले कामदारलाई समस्या पर्ने कम्पनीलाई कारबाहीको दायारमा ल्याइरहेको बताए । 'हामीले कामदारको हितमा बनाएको श्रम कानुन कार्यान्वयन गर्न कुनै कसर राखेको छैनौं,' अध्यक्ष दाहालसमक्ष मन्त्री खुलाइफीले भने, 'हामी कामदारको सेवा सुविधामा विशेष ध्यान दिएका छौं ।' श्रममन्त्री खुलाइफीले नेपाली कामदारलाई उच्च प्राथमिकता दिएको जनाउँदै थप दक्ष जनशक्ति पठाउन आग्रह गरेका थिए । 'हामीले नेपालीलाई उच्च प्राथमिकता दिएका छौं,' उनले भने, 'तर कामदार ल्याउने प्रक्रिया निकै ढिलो छ । अरू देशबाट कामदार ल्याउन सजिलो छ, नेपालबाट छैन ।'

Published on: 22 February 2014 | Kantipur

Back to list

;