s

कतार जान कामदारको खर्च नलाग्ने

कतारले विश्वकपसँग सम्बन्धित बृहत् आयोजनामा काम गर्ने कामदारको सम्पूर्ण लागत खर्च मुख्य कम्पनी आफैंले बेहोर्नुपर्ने व्यवस्था मिलाएको छ । सुप्रिम कमिटी फर डेलिभरी एन्ड लेगसीले कामदारको हितका लागि कल्याणकारी मापदण्ड जारी गर्दै यस्तो व्यवस्था मिलाएको हो । उसले कामदार ल्याउने प्रक्रियामा पनि मुख्य कम्पनी आफैं संलग्न हुनुपर्नेमा जनाएको छ ।
'कामदार ल्याउँदा म्यानपावर कम्पनीले कामदारसँग असुल गरेको उजुरी परेमा त्यो खर्च मुख्य कम्पनीले फिर्ता दिनुपर्छ,' मापदण्डमा भनिएको छ । यसबाट निर्माण क्षेत्रमा आउने कामदारहरूलाई ठूलो राहत मिल्ने भएको छ । नेपाली दूतावासका एक अधिकारीले यस्तो कदम निकै सकारात्मक भएको बताए ।
विश्वकपसँग सम्बन्धित बृहत् आयोजनाहरूमा झन्डै १० लाख कामदारको आवश्यकता रहेको अधिकारीहरूले बताएका छन् । जसको मुख्य स्रोत नेपाल भएको यहाँको कम्पनीहरू बताउँछन् । यो वर्षमा मात्रै एक लाख कामदार चाहिएको उनीहरूको अनुमान छ ।  
यहाँको श्रम ऐनअनुसार कतारमा काम गर्न आउने कामदारले लागत खर्च बेहोर्नु पर्दैन । भिसा र टिकट खर्च कम्पनीले नै बेहोर्नुपर्नेमा त्यसलाई अझ कडाइ गरिएको हो ।
Published on: 20 February 2014 | Kantipur

Back to list

;