s

कतै रोगको कतै भोकको पिर

इलाम : सूर्योदय नगरपालिकाले चिया कृषक, चिया उद्योगी र चिया श्रमिकको लागि १८ बुँदे निर्देशन जारी गरेसँगै कारखाना सञ्चालन गर्न दबाबमा परेका चिया उद्योगीहरूले कारखाना सुरु गरे पनि श्रमिकहरू भने त्रास बोकेर कारखाना जान बाध्य छन्। मजदुरहरूलाई काम नगरौं भने ज्याला नपाइने, काम गर्दा रोग बोकेर घर फर्कनु पर्ने हो कि भन्ने त्रासले सताएको छ। 

तीन दिनअघि खुलेको चिया विकास निगमअन्तर्गतको कन्याम चिया बगानका मजदुर रमेश खड्काले गुनासो गरे ‘जोखिम मोलेर बगान आउँदै छौं।’ धेरैको घरमा खाद्यान्न सकिन लागेपछि बगानमा जानैपर्ने अवस्था आएको उनले बताए। नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले लकडाउनको समयमा काम गर्ने नाममा जमघट गर्नु अपराध भएको भन्दै केही अनर्थ भए रोजगार दाता र सरकार जिम्मेवार हुनेपर्ने चेतावनी दिए। उनले सबै श्रमिकका लागि पर्याप्त राहतको व्यवस्था गर्नुपर्ने पनि बताए। 

सरकारले संगठित क्षेत्रका श्रमिकलाई कारखानाले नै सुविधा दिनुपर्ने भनेपछि उनीहरू स्थानीय सरकारको राहत पाउने मापदण्डबाट पनि पाखा परेका छन्। ‘व्यवस्थापन र स्थानीय सरकारको दबाबमा परेर पनि हामी काममा आउन बाध्य छौं,’ कन्यामकै मजदुर नर्वदा निरौलाले भनिन्, ‘कारखाना खुले पनि जोखिमको जिम्मेवारी कसैले नलिएकाले त्रास अझै बढेको छ।’ 

कारखानाले मजदुरका लागि हात धुने पानी, साबुन, मास्क उपलव्ध गराएको छ भने सामाजिक र शारीरिक दूरी पनि मापदण्डअनुसार राखिएको दाबी गरेको छ। कन्याम, चिलिमकोट, सोक्तिम र इलाम नगरपालिकाका चिया बगानका २७० भन्दा बढि चिया मजदुरको। मजदुर खड्काकाअनुसार कन्याम चिया बगान मात्रै सञ्चालनमा छ। सञ्चालनमा भएका कारखानालाई रोगको त्रास त छ नै सञ्चालन नभएका कारखानाहरूमा भोकमरी सुरु हुन लागेको इलाम चिया बगानकी मजदुर सरस्वती चम्लागाईले बताइन्। 

उनले भनिन्, ‘स्थानीय सरकारले संगठित क्षेत्रका मजदुर भनेर राहत दिन मानेन, काम गर्ने कारखानाले लकडाउनसम्मको पाकेको तलबसमेत दिएको छैन।’ इलाम नगरपालिकाका सूचना अधिकारी रामकुमार शाहले संघीय सरकारको कार्यविधि अनुसार नै चिया बगानका श्रमिकलाई रातह दिन नमिल्ने बताए। उनले भने, ‘रोजगार दाताले नै आफ्ना कामदारलाई सेवा दिने व्यवस्था छ।’ 

सरकारले संघाई समुहलाई ७० प्रतिशतभन्दा बढी सेयरमा बिक्री गरेका चार कारखानाका श्रमिक मात्र होइन, अन्य कारखानामा काम गर्ने श्रमिकको अवस्थासमेत संकटमा परेको नेपाल ट्रेड युनियन कांग्रेस इलामका अध्यक्ष हरिप्रसाद फुयाँलले बताए। लकडाउन र जोखिमको समयमा कारखाना खोलेर कारखाना र स्थानीय सरकारले गैर जिम्मेवारीपन देखाएको उनले बताए।

Published on: 10 April 2020 | Annapurna Post

Link

Back to list

;