s

कता छन् ९ करोड जित्ने डिल्लीराम ?

होम कार्की

भैरहवा रूपन्देहीका जयमंगल यादवलाई डेढ वर्षअघि कतारको दोहास्थित सफारी मलको 'विन वान मिलियन अफर' को लक्की ड्रमा १० लाख रियाल अर्थात् २ करोड रुपैयाँको पहिलो पुरस्कार परेको थियो । दोस्रोमा राखिएको ल्यान्ड क्रुजर प्राडो गाडी बागलुङ बुर्तिवाङका नरबहादुर बस्नेतले जितेका थिए । यसपछि गतसाता एक नेपालीले दोहा विमानस्थलको 'ड्युटी फ्री सप' को चिट्ठामा १० लाख अमेरिकी डलर (झन्डै पौने ९ करोड रुपैयाँ) पुरस्कार जितेको समाचारले कतारमा तरंग ल्याएको छ । त्यो रकम हात पार्ने भाग्यशाली व्यक्ति हुन्, डिल्लीराम पराजुली, जो को हुन् भन्नेबारे खुल्न सकेको छैन । एक साताभन्दा बढी भइसक्दा पनि उनी सार्वजनिक नभएपछि थप कौतूहलता र खोजीको विषय बनेको छ । घोषणा भएदेखि नै फेसबुक लगायत सामाजिक सञ्जालमा 'डिल्लीराम पराजुली' नाम भएको व्यक्तिको निकै खोजी भइरहे पनि समाचार तयार पार्दासम्म उनीबारे थाहा हुन सकेको छैन । फेसबुकमा जति डिल्लीराम पराजुली भेटिन्छन्, उनको बसाइ कतार हो कि होइन हेरिन्छ । कतार लेखिएको रहेछ भने कतै उहीं त होइन पौने नौ करोड जितेर आफ्नो भाग्य चम्काउने नेपाली भनेर चासो भइरहेको छ ।

कतारको दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक हजारौं यात्रु आवतजावत भइरहन्छ । विश्वभर छरिएका नेपालीका लागि कतार विमानस्थल एउटा ट्रान्जिट हो । विमानस्थलमा रहने सबै यात्रुका लागि कर नतिर्नुपर्ने गरी सबै खालको वर्गलाई लक्षित गरी पसल खोलिएको छ, जसलाई 'डिउटी फ्री सप' भनिन्छ । यस पसलले सन् २००६ देखि चिट्ठा काट्ने र पाँच हजार चिट्ठा बिकेपछि खोल्ने व्यवस्था गर्दै आएको छ । यस्तो चिट्ठा यात्रु आउने, जाने र भीआईपी (विशिष्ट पाहुना बस्ने कोठा) कक्षमा राखिएको छ । एउटा चिट्ठाका लागि ९ सय ५० रियाल (झन्डै २२ हजार रुपैयाँ) तिर्नुपर्छ । चिट्ठा पाँच हजारवटा बिक्री भएपछि अघिल्लो बिहीबार साँझ खोलिएको थियो । कतार एयरवेयज तथा कतार ड्युटी फ्री सपका प्रमुख कार्यकारी अधिकृत अकबर अलवाकरले पाँच हजार चिट्ठाबाट एउटा रसिद निकाल्दा डिल्लीराम पराजुलीले जितेका हुन् । यसको राशि एक मिलियन अमेरिकी डलर हो । टिकट नम्बर १९२२ को रसिद निकाल्दा डिल्लीराम पराजुली लेखिएको चिट्ठा देखाउँदै प्रमुख कार्यकारी अधिकृत अलवाकरले पराजुलीलाई 'बधाई' दिएका थिए । त्यसपछि आयोजकले डिल्लीरामबारे थप केही बताएको छैन । पुरस्कार जित्ने उनी १२औं ग्राहक हुन् ।

यसअघि गत जनवरी एकमा लक्की ड्र गर्दा भारतीय नागरिकगोपालन नैर बाबुगोपालले पाएका थिए । बधाईको ओइरो नेपालीले यति ठूलो रकम जितेपछि कतारमा कार्यरत नेपाली निकै खुसी भएका छन् । डिल्लीराम सार्वजनिक नभए पनि फेसबुकमा बधाई दिनेको ओइरो छ । साथीभाइबीच उत्तिकै चर्चा छ । आफ्नो क्याम्पमा डिल्लीराम पराजुली नाम गरेको साथीभाइ खोज्न थालिएको छ । विभिन्न जिल्लास्तरका संघसंस्था पहिचान गर्न कस्सिएका छन् । आइतबार बिहान सबेरै नवलपरासीबाट सम्पर्कमा आएका डिल्लीराम पराजुलीले आफ्नो प्लेन टिकटको नम्बर मिलेकाले आफूलाई परेको हो कि भनेर चासो राखे, तर त्यो चिठठा नम्बर थिएन । नेपाली दूतावासमा पनि त्यस्ता व्यक्तिले आफूलाई पुरस्कार परेको भनेर सम्पर्क गरेका छैनन् । डिल्लीराम किन बाहिर आएनन् ? आफू डिल्लीरामलाई चिन्ने बताउने एक व्यक्तिका अनुसार पुरस्कार हात नपरेसम्म डिल्लीराम बाहिर आउने वाला छैनन् । 'डिल्लीराम सनैयामै बस्छन्, उनी सामान्य कामदार हुन्, उनले आफ्नो कागजपत्रसहित चिट्ठाको अर्धकट्टी बुझाइसकेका छन्,' ती व्यक्तिले भने, 'सुरक्षाका लागि उनी बाहिर आउन चाहँदैनन् ।' सूचना दिने व्यक्तिलाई डिल्लीराम भेटाइदिन अनुरोध गर्दा तत्काल उनले कसैसँग सम्पर्क गर्न नचाहेको बताए । उनका अनुसार अहिले आफ्नाबारे कसैलाई केही नभन्न अनुरोध गरेका छन् । 'त्यस्तो असुरक्षा त यहाँ हुँदैन,' जनसम्पर्क समितिका अध्यक्ष विमल सुवेदीले भने, 'सायद उनले यसलाई कसरी बुझेका छन् ।' डिल्लीरामबारे पत्ता लगाउन यहाँका नेपाली लागिपरेको पोखराका उदय सुनुवारले बताए ।

Published on: 5 May 2013 | Kantipur

Back to list

;