s

कस्तो बनाउने भिजिट भिसाको मापदण्ड ?

भूपराज बस्याल

 

यतिवेला सरकार, पत्रकार, सामाजिक अभियान्तादेखि आमनागरिक तहसम्म चर्चाको विषय बनेको छ, भिजिट भिसा । देशमा रोजगारी नपाएका युवा–युवतीलाई आकर्षक रोजगारीको अवसर देखाएर भिजिट भिसामा विदेश लगेर अलपत्र पारेका खबर दिनहुँजसो आउन थालेपछि चर्चाको विषय नबनोस् पनि कसरी । भिजिट भिसामा भएको गलत प्रयोग भइरहेको निष्कर्ष निकालेर सरकारले यतिवेला कोरोनाको कारण देखाउँदै भिजिट भिसामा नेपाली नागरिक अन्य देश जान रोक लगाएको छ । यही समयमा सरकारले भिजिट भिसाबारे सुझाब दिन गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा १२ माघमा एउटा समिति बनाएको छ । समितिलाई १५ दिनभित्र एउटा प्रतिवेदन पेस गर्न भनिएको छ ।

यो कदम हेर्दा सरकारले केही नयाँ काम गर्न खोजेजस्तो त देखिन्छ । तर, यो कदमले आमनागरिक र मिडियालाई केही गरेजस्तो देखाउनुबाहेक खासै उपलब्धि हासिल नगर्ने प्रवासमा रहेका नागरिकको धारणा छ । यस्ता समिति विगतमा पनि धेरै नबनेका होइनन्, तर वैदेशिक रोजगारीमा रहेका नेपालीको हितमा पटक्कै काम हुन नसकेको निकट इतिहास छ ।

केही वर्षपहिले भिजिट भिसाजस्तै खाडीमा अर्को समस्य थियो, घरेलु महिला कामदारसम्बन्धी, जुन आज पनि कायमै छ । यो समस्या समाधान गर्न त्यतिखेर प्रभु शाहको संयोजकत्वमा एउटा समिति बन्यो । समितिले खाडीका विभिन्न देशको भ्रमणपश्चात् प्रतिवेदन बुझायो । प्रतिवेदनअनुसार विदेशमा महिला घरेलु कामदार असुरक्षित हुने भन्दै महिला कामदार मात्रै होइन, खाडीमा घरेलुु कामदारमा जानै पूर्ण रोक लगायो । समस्याको समाधान तयार पार्न गठित समितिले खाडीमा घरेलुु कामदार जाने बाटै बन्द गर्यो ।

कामदार पठाउनै बन्द गर्नु उचित समाधान हुन सक्दैन भन्ने हेक्का समितिले राखेन । युएईमा रोजगारीसँगै दश वर्षदेखि कलम चलाउँदै आएको स्तम्भकारलाई एउटी महिलाले भनेकी थिइन्, ‘म सहिदकी पत्नी हुँ, मेरा दुई छोराछोरी छन् । परिवारको गर्जो टार्न म खाडी पसेँ, यहाँ काम पनि राम्रै छ । म घरमा काम गर्छु । मैले कमाएको पैसाले छोराछोरीले राम्रो लगाउन र मिठो खान पाएका छन् । छोराछोरीलाई नदेखेको दुई वर्ष भयो । अब घर गए आउन पाइँदैन । नआऊँ भने छोराछोरी कसरी पाल्ने ? आउन सरकारले रोक लगाएको छ ।

विमानस्थल छिर्न दलाल गुहार्नुपर्ने अवस्था अन्त्य भयो भने भिजिट भिसाको प्रायजसो समस्या समाधान  हुने भएकाले समितिलाई सुझाब छ– विमानस्थलमा हुने सेटिङ बन्द गर्नाेस्

सायद मेरा श्रीमान् भएको भए म यसरी छोराछोरीको पेट पाल्न बिदेसिनु पर्दैनथ्यो होला । श्रीमान् सहिद बनेर आएको सरकार आफ्नै लागि बाधक बन्यो ।’ उनका यस्तै गुनासा थिए । ती गुनासालाई समाचारमा उतार्नेबाहेक केही गर्न सकिएन । वैदेशिक रोजगारीका क्षेत्रमा साँच्चै समस्या समाधान गर्न कुनै पनि सरकार लागिपरेको देखिँदैन । त्यतिखेर बन्द भएको घरेलु कामदारमा खाडी जान आज पनि रोकिएको छैन । तत्कालीन अवस्थामा सबै डकुमेन्ट भएपछि सहजै अध्यागमनबाट गेटपास पाइन्थ्यो भने अहिले गेटपास पाउन मोटो रकम बुझाउनुपर्ने भयो ।

खाडीमा जाने सबै नेता, मन्त्रीलाई त्यहाँका नेपालीले भन्ने गरेको एउटै कुरा हो एयरपोर्टमा हुने सेटिङ बन्द गराइदिनुस् । एउटा मापदण्ड बनाइदिनुस् । त्यही मापदण्डअनुसार नागरिक आउने–जाने गरून् । तर, यस्ता सुझाबको कसैले सुनुवाइ गरेका छैनन् । तत्कालीन प्रधानमन्त्री प्रचण्डसमेत युएई भ्रमणमा गएका वेला नेपाल गएर तत्काल सेटिङ बन्द गरेर नागरिकलाई सहज रूपमा आवतजावत गर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका थिए । राष्ट्रिय मिडियामा हेडलाइन बनेका उनका भनाइ कहिल्यै कार्यान्वयन भएनन् । अवस्था अहिले पनि उस्तै छ । त्यति मात्र होइन, केही वर्षपहिले अध्यागमन प्रमुख सहभागी भएको दुबईको एक कार्यक्रममा सेटिङको प्रमाणसहित नागरिक प्रस्तुत भएपछि कार्यक्रम स्थलमै हंगामा भएको थियो ।

सामान्य नागरिक अध्यागमन विभागले तोकेको प्रक्रिया पूरा गरेर सहजै भिजिट भिसामा विदेश जान सक्ने अवस्था छैन । अध्यागमनले जारी गरेको पूरै प्रक्रिया पूरा गरेर पनि नागरिकले किन विदेश जान पाएन भनेर जवाफ खोज्ने हो भने त्यसको जवाफ हाकिमदेखि सबै कर्मचारीको मुखमै छ । त्यो हो, ‘कर्मचारीलाई प्रदान गरिएको स्वविवेक ।’ त्यही स्वविवेकका कारण सहजै नागरिक अध्यागमन हुँदै विदेश जान नपाएपछि दलालको सम्पर्कमा पुग्न बाध्य हुन्छ । अनि ठगिन र विदेशमा अलपत्र पर्ने प्रक्रिया सुरुवात हुन्छ । सेटिङको बार्गेनिङ बनेको स्वविवेकवाला नीति अन्त्य नहुँदासम्म वैदेशिक रोजगारीमा हाल देखिएको समस्या समाधान हुने देखिँदैन ।

६० हजारमा युएई पुगेर आउन सकिनेमा ऋण खेजेर तीन–चार लाख बुझाउन बाध्य भएपछि ऊ जानीजानी नेपाल फिर्ता आउन सक्दैन । म फस्दै छु भन्ने जानीजानी पनि दलालले दिएको आश्वासनमा फस्न बाध्य हुन्छ र अत्यमा ऊ अलपत्र पर्छ । नेपालको विमानस्थल छिर्न दलाललाई नै गुहार्नुपर्ने अवस्था अन्त्य भयो भने अहिले देखिएको आधाभन्दा बढी समस्या समाधान हुने देखिन्छ । त्यसैले, अहिलेको समितिलाई सुझाब छ, एयरपोर्टमा हुने सेटिङ बन्द गर्नाेस् ।

Published on: 4 February 2022 | Nayapatrika

 

Link

Back to list

;