s

कस्ता कस्ता नागरिक तत्काल स्वदेश फर्किन पाउँछन्, सरकारले तय गर्‍यो प्राथमिकता

सन्जिब बगाले

सरकारले भारतबाहेकका मुलुकबाट स्वदेश आउन चाहने नेपालीहरूका लागि प्राथमिकता तोकेको छ। नेपाल फर्किन चाहने सबैलाई एकैचोटि ल्याउन नसकिने भएकाले प्राथमिकता तोकिएको हो।

कोभिड-१९ जोखिम व्यवस्थापन समिति (सिसिएमसी) ले भारतबाहेकका देशबाट १० लाख नेपाली फर्किन चाहने अनुमान गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार भने तत्काल फर्किन चाहनेहरू ६ लाख छन्। बढीमा २५ हजारलाई मात्र पहिलो चरणमा फर्काउन सकिने परराष्ट्रमन्त्रीले सार्वजनिक रूपमै बताउँदै आएका छन्।

परराष्ट्र स्रोतका अनुसार मध्यपूर्वबाट नेपाल फर्किन चाहनेको संख्या ठूलो छ। होटल क्षेत्रमा काम गर्नेहरूले ठूलो मात्रामा रोजगारी गुमाएको परराष्ट्रको तथ्यांकमा छ।

कतिपय नेपाली अब विदेश नबसी नेपालमै आएर बस्न चाहेकाले पनि फर्किनेको संख्या अझै बढ्न सक्छ। परराष्ट्र मन्त्रालयका अनुसार सामान्य अवस्थामा दैनिक २ हजार नेपाली फर्किने गरेका थिए। साढे २ महिनादेखि त्यो संख्या शून्यमा झरेको छ। 

अहिले भारतबाहेकका देशबाट २० देखि २५ हजार नेपालीलाई फर्काउने तयारी भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले सेतोपाटीलाई बताए।

'स्वदेश फर्किन जरुरी भएकाहरूको तथ्यांक संकलन हुँदैछ। विदेशस्थित नियोगमा रहेका राजदूत र तोकिएका अधिकारीले विवरण संकलन गर्दै हुनुहुन्छ,' बिडारीले भने, 'परारष्ट्र मन्त्रालय हुँदै यो तथ्यांक आउँछ, यता तयारी पनि हुँदै गर्छ। दस दिनभित्र तयारी सकेर ल्याउन सुरू गर्छौं भन्ने हो।'

भारतलगायत देशहरूबाट आउने नेपालीलाई सीमा नाका र काठमाडौंमा राख्नेदेखि घर पुर्‍याउने जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ। त्यसको तयारी भने सुरू भएको छैन।

नेपाल आउन चाहनेका लागि सरकारले १५ वटा कारणमध्ये एक हुनुपर्ने प्रावधान राखेको छ। 

सजायबाट आममाफी पाएका, डिटेन्सन सेन्टरमा रहेका र हाल नेपाल आउन अनुमतिप्राप्त गरेका, जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कोभिडबाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य अवस्था भएकाहरू नेपाल फर्किन पाउनेछन्।

त्यस्तै, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका, सरकारी सेवामा रही अध्ययन वा तालिममा गएका, अध्ययन समाप्त भएका विद्यार्थी, नेपाल आउनुपर्ने अवस्थामा रहेका अध्ययनरत विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि गएका, कम्पनीबाट रोजगारीसहित विदा सुविधा पाएका, अन्तर्राष्ट्रिय संघ-संस्थामा कार्यरत र नेपाल आउनुपर्ने अवस्थाका तथा पर्यटक र व्यापारिक भिसामा गएकाहरू नेपाल फर्किन पाउनेछन्।

यसका लागि सरकारले कोभिड-१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थाका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७ जारी गरेको छ।

हवाई उडानबाट स्वदेश आउने व्यक्तिले उडानअघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षणको प्रमाणपत्र साथमा राख्नुपर्नेछ। यसका लागि पिसिआर, आरडिटी वा अन्य परीक्षण तोकिएको छ।

उडान हुने मुलुकबाट एक दिनमा एउटा गरी बढीमा १० वटासम्म उडान गर्न सकिने भनिएको छ। भारतबाहेक अन्य मुलुकबाट आउनेहरूका लागि काठमाडौंको चक्रपथ आसपास उपयुक्त पार्टी प्यालेसहरूमा प्रदेशगत रूपले कम्तिमा एउटा 'होल्डिङ सेन्टर' व्यवस्था गर्ने सरकारको तयारी छ।

होल्डिङ सेन्टरमा रहेकाको पालिकागत विवरण तयार गरिने र ट्रेसिङ सहजताका लागि व्यक्तिको मोबाइल नम्बर लिइनेछ। मोबाइल नम्बर नहुनेका लागि नि:शुल्क सिमकार्ड व्यवस्था गर्ने भनिएको छ।

होल्डिङ सेन्टरको व्यवस्थापन नेपाल सरकारको सुपरिवेक्षण एवं स्थानीय प्रशासनको सहयोगमा नेपाली सेनाले गर्नेछ।

होल्डिङ सेन्टरमा आवश्यक प्रक्रिया पूरा भएपछि होटल क्वारेन्टिनमा बस्न चाहनेलाई त्यो सुविधा पनि दिइनेछ। स्थानीय तहको क्वारेन्टिनमा बस्नेलाई सम्बन्धित जिल्लासँग समन्वय गरी जिल्लागत रूपमा छुट्टाइएका यातायात साधनहरूबाट जिल्ला सदरमुकाम पुर्‍याउने भनिएको छ। जिल्लामा गएर पनि उनीहरू क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाइएको छ।

होल्डिङ सेन्टरको भाडा नेपाल सरकारले बेहोर्नेछ भने अन्य खर्च व्यक्ति स्वयंले बेहोर्नुपर्नेछ। त्यस्तै, जहाज भाडा पनि व्यक्ति स्वयंले बेहोर्नुपर्नेछ।

Published on: 31 May 2020 | Setopati

Link

Back to list

;