s

करोडपति बन्ने प्रलोभनमा परी भिजिट भिसामा थाइल्याण्ड हिंडेका उज्वल जब म्यानमार पुगे...

गोरखा : धार्चे-७ लापुका ३२ वर्षीय उज्वल गुरुङसँग डेढ वर्षअघिसम्म के थिएन? गाउँकै शान्ति आधारभूत विद्यालयमा पढाउँथे। गुरुङ भाषाको म्युजिक भिडियोका गीतकार भनेर चर्चित, दुई-दुईवटाटा गुरुङ फिल्ममा अभिनय गरेर समुदायमा सेलिब्रेटी बनेका थिए। पालिकाभित्रका हरेकप्रायः कार्यक्रममा निम्तो आउँथ्यो। ती कार्यक्रममा उनको उपस्थिति गौरवमय हुन्थ्यो।

आफ्नो गाउँटोलको मात्र नभई गाउँपालिकाकै सशक्त युवाका रूपमा स्थापित थिए उज्वल। शान, मान, प्रतिष्ठा थियो, आर्थिकरूपमा पनि भरपुर इज्जत थियो। सक्रिय जीवनचर्यासँगै उनको चिनारीको दायरा बढ्दै गयो, धेरैको नजरमा पर्दै गए उज्वल।

धेरै चिनजान लाभदायी नै हुन्छन्, तर कतिपय यस्तो संगत हुन्छ, जसले व्यक्तिलाई आर्थिक, सामाजिक र शारीरिकरूपमा पनि ख्वाप्पै खाइदिन्छ। अपवादको यस्तै एउटा संगत उनीमाथि आइलाग्यो, जसमा फँसेपछि एकै वर्षको अवधिमा अहिले उनीसँग के बाँकी छ? छँदाखाँदाको जागिर चट्। आर्थिकरूपमा तहसनहस, शारीरिकरूपमा जीर्ण, मानसिकरूपमा विदीर्ण भएर दिन बिताइरहेका छन् । ‘अब मर्ने नै भैयो। बरु आफ्नै देशमा मर्छु भनेर फर्केको थिएँ। जे होस्, भाग्यले बाँचेकोचाहिँ छु,' उपचारपछि स्वास्स्थलाभ गरिरहेका उनी भन्छन्, ‘यही एउटा धुकधुकी बँचेको छ, चित्त बुझाएको छु।’

एक वर्षकै अवधिमा उनको जीवन उलटपुलट कसरी बन्यो?

चिनजानकै एक महिलाले उनलाई विदेश जाने, महिनाकै लाखौं कमाएर छिट्टै करोडपति बन्ने सपना देखाइदिइन्। ‘काम भनेको अफिसभित्र कम्प्युटर, इन्टरनेट चलाउने मात्र हो, मासिक दुई लाख तलब हुन्छ भनिन्,' त्यो आत्माघाति निर्णयको क्षण सम्झँदै उनी भन्छन्, ‘गाउँकै चिनेजानेको दिदीबहिनीले भनेपछि कसो विश्वास नगर्नु भनेर ओके गरें। भिजिट भिसामा थाइल्याण्ड जाने हो। त्यहाँ पुगेपछि काममा, तलबमा चित्त बुझेन भने तीन महिनापछि फर्कन पाइन्छ भनेर धेरै कन्भिन्स गरेपछि मैले एक लाख रूपैयाँ दिएँ।’ त्यसपछि २०७९ को असोज १४ गते उनी भिजिट भिसामा थाइल्याण्ड गएर मालामाल हुने भन्दै जहाज चढे।

रातको समयमा उनलाई बैंकक ओरालियो। उनीसँगै सो समूहमा पाँच जना थिए। ‘बैंककमा उत्रिएपछि त्यो गिरोहको टोली रिसिभ गर्न आयो। दुईतीन घण्टा गाडीमा गएपछि फेरि अर्को गाडीमा चढाइयो। अल्लि पर गएपछि फेरि अर्को गाडीमा चढाइयो। फेरि अर्को, फेरि अर्को गर्दै १२ घण्टामा आठ वटा गाडी फेरेर हामीलाई थाइल्याण्डबाट म्यानमार पुर्‍याइयो,' उनी भन्छन्, ‘रातको समयमा डुंगा चढाएर अर्को ठाउँमा उतारेपछि हामी बेचियौं भन्ने अनुमान गर्न गाह्रो भएन।’ आफूहरू गुण्डाहरूबाट बन्दी भइसकेको उनले बताए।

म्यानमारको एउटा ठूलो हलमा पुर्‍याएपछि केही दिनसम्म उनीहरूलाई प्रशिक्षण दिइयो। प्रशिक्षण गजबको थियो। ‘कसरी मान्छेलाई झुक्याउने, स्क्याम गर्ने, कसरी मोहित पार्ने, कसरी फँसाउने, कसरी मायाप्रेमको जालमा पार्ने भन्ने मात्रै प्रशिक्षण हुन्थ्यो। किताब पनि त्यस्तै पढ्नुपर्थ्यो,' उनी भन्छन्, ‘हामी त्यहाँ पुग्दा दुई-तीन सय जना पहिल्यै रहेछन्। आउने, जाने भइरहँदो रहेछ।’ फेसबुक, इन्स्टाग्राम, ट्वीटर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट पुरुषहरूले विश्वभरका महिलालाई सम्पर्क गर्ने, महिलाहरूले विश्वभरका पुरुषलाई सम्पर्क गर्ने प्रमुख काम भएको उनी बताउँछन्।

‘तीनवटा समूहमा काम हुन्थ्यो। पहिलो समूहमा काम गर्नेले डेटिङ साइटबाट विश्वभरका मान्छेलाई सम्पर्क गर्ने, महिला हो कि, पुरुष हो पत्ता लगाउने, उसको घर, गाडी, उद्योग, कलकारखानाजस्ता सम्पत्ति पत्ता लगाउने, ह्वाट्स एप नम्बर, इमेल आइडी पत्ता लगाएर दोस्रो समूहलाई हस्तान्तरण गर्ने,' कामको प्रकृतिबारे उनी भन्छन्, ‘दोस्रो समूहले उनीहरूलाई अनेक तरहका कुरा गरेर मायाजालमा फँसाउने। भ्वाइस कल गर्ने, अश्लील फोटो, भिडियोहरू पठाउने, पछि भिडियो कल गरेर त्यो दलदलबाट उम्किनै नसक्ने बनाउने, मायाप्रेममा फँसाउनका लागि हामीजस्तै फँसेर पुगेका एकदम राम्राराम्रा मोडलजस्ता केटीहरू हुँदा रहेछन्। त्यसपछि उनीहरूले तेस्रो समूहलाई हस्तान्तरण गर्ने। तेस्रो समूहले उनीहरूसँग पैसा लगानी गर्न लगाउने काम गर्ने रहेछन्।’ राम्ररी प्रशिक्षण लिएर पोख्त भएपछि मात्र विभिन्न समूहमा रहेर काम गर्ने उनले बताए।

प्रत्येक समूहका प्रत्येक व्यक्तिलाई टार्गेट दिने र टार्गेट पूरा नगरे कठोर सजाय दिने उनले बताए। ‘यतिसम्म खट्नुपर्थ्यो कि, दुईघण्टा पनि राम्ररी सुत्न पाइँदैनथ्यो,' उनी भन्छन्, ‘न साथमा मोबाइल लिन दिन्थ्यो, न घडी हुन्थ्यो। विश्वभरका मान्छेलाई सम्पर्क गर्नुपर्थ्यो, तर आफ्नो आफन्तलाई सम्पर्क गर्न पाइँदैनथ्यो।’

मान्छेहरूलाई मायाप्रेममा फँसाएर क्रिप्टो करेन्सी, बिट क्वाइन, डोजिक्वाइन, इथेरियम, स्योट गोल्ड, गोल्ड क्वाइन, हाइपरहरूमा लगानी गर्न लगाउने उनले बताए। ‘ललाइफकाई त्यसमा लगानी गर्न लगाउने र त्यो पैसा झ्वाम पारेपछि सबै आइडी ब्लक गरेर सम्पर्कविहीन हुने खेल रहेछ,' उनले भने, ‘यस्तोमा धेरैजसो नेपाली, भारतीय, भियतनामी, बंगालीहरू फँस्ने गर्दा रहेछन्। वैदेशिक रोजगारीमा गएकाहरूलाई यस्तोमा फँसाउन सजिलो हुने रहेछ। अमेरिका गएकाहरू पनि यस्तोमा फँस्दा रहेछन्। क्यानडा, अस्ट्रेलिया, दुबई, कतार, मलेसिया गएकाहरू झन धेरै फँस्दा रहेछन्।’

काम गरेबापत तलब तथा अन्य सुविधा त परको कुरा सजाय खाँदाखाँदै मृत्युको मुखमा पुगिएलाजस्तो हुने उनको दुखेसो छ। ‘एक दिनमा १५ जना नयाँ क्लाइन्टको परिचय लिनुपर्ने, नलिए कुट्ने, करेण्ट लगाउने, चर्को घाममा ५० फेर, सयफेर घर घुम्नुपर्ने, घुँडा टेकेर दौडनुपर्ने,' उनले भने, ‘सधैंको यातनाले मेरो त हात सुन्निएर सिकिस्त भएँ। अनि घरमा आमा बिरामी सिकिस्त हुनुहुन्छ भनेर १० महिना त्यहाँ काम गरेर उल्टै त्यहाँ तीनलाख बुझाएर छुटेर आएँ।’ गत साउन महिनामा नेपाल आएको उनले बताए।

‘यातना खाँदाखाँदै ज्यान सडेर बाँचिन्छजस्तो लागेको थिएन। हातको हड्डी निकालेर त्यहाँ खुट्टाको हड्डी राखेर उपचार गरेको छु,' उनले भने, ‘साउनदेखि अहिलेसम्म उपचार गर्दा अब त बाँचियोजस्तो लागेको छ।’ साउनदेखि अहिलेसम्म उपचार गर्दा दसौं लाख खर्च भइसकेको उनको भनाइ छ। इष्टमित्र, साथीसंगीले आर्थिक संकलन गरेर उपचार खर्च पठाएका उनले बताए।

‘राम्ररी कुरा नबुझी विदेश जाँदा यस्तरी फँसिने रहेछ,' उनी भन्छन्, ‘मैले त यसरी फँसेर दुःख पाएँ। अब भिजिट भिसामा काम गर्न भनेर कोही विदेश नजाउन्। यस्ता प्रलोभनमा आफन्त, चिनेजानेकाले नै फँसाउने रहेछन्। राम्ररी कागजपत्र बलियो भएपछि मात्र विदेश जाउन्।’ अवैध काम गर्न आफन्त र चिनेजानेकाले नै फँसाउने हुँदा कसैको प्रलोभनमा फँसेर अवैध काममा नजान उनको सुझाव छ।

Published on: 3 January 2024 | Annapurna Post

Link

Back to list

;