s

कर्मचारीकै मिलेमतोमा तिब्बतीलाई राहदानी

शम्भु कट्टेल

स्विट्जरल्यान्डले नेपाली राहदानीमा करिब दुई वर्षदेखि ओभरस्टे गरिरहेकी तिब्बती युवती याङ दोङलाई नेपाल फिर्ता पठाएको छ । दोलखा जिल्लाबाट राहदानी लिएकी दोङलाई स्विट्जरल्यान्डले डिपोर्ट गरेपछि अहिले उनी १८ दिनदेखि राजधानीको डिल्लीबजारस्थित अध्यागमन विभागको हिरासतमा छिन् ।

डिपोर्ट भएर काठमाडौं उत्रनासाथ अध्यागमनले दोङलाई २० माघमा हिरासतमा लिएको थियो । नेपाली बोल्न नसक्ने उनले नक्कली नेपाली नागरिकताका आधारमा राहदानी कसरी लिइन्, अध्यागमन विभागले अनुसन्धान गरिरहेको छ । पर्यटक भिसामा स्विट्जरल्यान्ड पुगेकी दोङ करिब दुई वर्षयता गैरकानुनी रूपमा बसिरहेकी थिइन् ।

आफ्नो प्रेमीसँग बस्दै आएकी उनले आफू तिब्बती भएकाले शरणार्थीका रूपमा बस्न पाउनुपर्ने माग गर्दै त्यहाँ आवेदन दिएपछि उनी तिब्बती भएको र नेपाली राहदानीमा त्यहाँ पुगेको खुलेको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाबाट जारी नागरिकतामा उनको नाम याङ दोङ शेर्पा उल्लेख छ । तर, जिल्ला प्रशासन कार्यालय दोलखामा दोङले नागरिकता लिएको कुनै रेकर्ड छैन ।

दोङको आवेदनमा त्यहाँको अध्यागमनले छानबिन गर्दा उनी नेपाली राहदानीमा प्रवेश गरेको फेला परेपछि निर्वासन गरेको थियो । तिब्बती भएको दाबी गरे पनि राहदानीले उनलाई नेपाली भएको प्रमाणित भएपछि पक्राउ परिन् । अध्यागमनमा उनले बारम्बार आफू तिब्बती नै भएको दाबी गरेकी थिइन् ।

तिब्बती दोङलाई नेपाली नागरिकता र राहदानी बनाउन ठूलै गिरोह संलग्न रहेको अध्यागमन विभागले अनुमान गरेको छ । बयानका क्रममा उनले दोलखाबाट नागरिकता र काठमाडौंबाट एमआरपी (मेसिन रिडेबल पासपोर्ट) लिएको स्विकारेकी छन् । अध्यागमन स्रोतले नागरिकता र राहदानी लिन दोङले ठूलै रकम खर्चिएको बताएको जानकारी दियो । अध्यागमन विभागका निर्देशक वासुदेव घिमिरेले दोङबारे अनुसन्धान भइरहेको बताए ।

दोङ स्विट्जरल्यान्ड उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कर्मचारीको संलग्नता हुनसक्ने देखिएको छ । अध्यागमन अधिकारीले सोधखोज गरेको भए नेपाली बोल्न नसक्ने दोङ विमानस्थलमै पक्राउ पर्ने थिइन् । उनका सम्बन्धमा विमानस्थलका अध्यागमन अधिकारीले लापरबाही गरेको देखिएको स्रोतले बतायो ।

तिब्बतीबाहेक बोल्न नजान्ने दोङलाई राहदानी दिँदा परराष्ट्र मन्त्रालयको राहदानी विभागका कर्मचारीले पनि उत्तिकै लापरबाही गरेको स्रोतले दाबी गर्‍यो । विभागबाट राहदानी लिँदा वाहकले हस्ताक्षर गर्नुपर्छ । नक्कली नागरिकताका आधारमा राहदानी लिएर उनी नेपाली नागरिकका रूपमा स्विट्जरल्यान्ड जान सफल भइन् ।

राहदानी विभागले सम्बन्धित जिल्लाको सिफारिसबिना राहदानी जारी गर्दैन । तर, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसविनै दोङको राहदानी परराष्ट्रका अधिकारीले कसरी बनाइदिए आशंका उत्पन्न भएको छ । उनी जानुअघि पनि धेरै तिब्बती नेपाली राहदानी बोकेर बिदेसिएका छन् ।

राहदानी विभागका कर्मचारीको सहयोग र संलग्नताविना कुनै पनि विदेशीले नेपाली राहदानी लिन नसक्ने भएकाले दोङको मामिलामा पनि राहदानी विभागका कर्मचारीको संलग्नता रहेको अनुसन्धानरत अधिकारीको आशंका छ ।

 

Published on: 21 February 2017 | Annapurna Post

Back to list

;