s

कर्मचारीकै मिलेमतोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तिब्बतीलाई नागरिकता

टेकराज थामी

कर्मचारीकै मिलेमतोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिने गरेको तथ्य खुलेको छ । यस्तो गिरोहमा संलग्न चारजना पक्राउ परेपछि यो तथ्य बाहिरिएको हो ।

प्रहरीका अनुसार यो गिरोहले अहिलेसम्म पाँच सयभन्दा धेरै तिब्बती नागरिकको नेपाली नागरिकता बनाइसकेको छ । जसमध्ये ३० वटा शंकास्पद नागरिकतामाथि अनुसन्धान भइरहेको छ । सबै नागरिकता नक्कली कागजात खडा गरी बनाइदिने गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

प्रहरीका अनुसार नागरिकता बनाइदिने कार्यमा जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटका दुई अधिकृत, एक सुब्बा र एक खरिदारको संलग्नता रहेको छ । यस्तो धन्दामा संलग्न अभियुक्त पहिचान भइसकेको, तर कानुनी प्रक्रिया पुर्‍याउन बाँकी भएकाले तत्काल पक्राउ नगरिएको एसपी राठौरले बताए । प्रशासन कार्यालयपरिसरमै रहेको क्यान्टिनका सञ्चालकले उनीहरूसँग ‘सेटिङ’ मिलाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

‘तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिने धन्दामा जिल्ला प्रशासन कार्यालयकै कर्मचारी संलग्न रहेको अनुसन्धानबाट देखिन्छ । केही कर्मचारी पहिचान भइसकेका छन् । कानुनी प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले उनीहरूलाई पक्राउ भने गरिएको छैन । उनीहरू हाम्रो निगरानीमै छन् । घटनामा संलग्न सबैलाई हामी चाँडै पक्राउ गर्छौँ,’ एसपी राठौरले भने । प्रहरीले गिरोहमा संलग्न कृष्णबहादुर कटुवाल, न्युल्केस श्रेष्ठ, हिरालाल सिवाकोटी, लोब्साङ र विजय लामालाई पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा नागरिकता फाँट हेर्न छुट्टै सहायक प्रमुख जिल्ला अधिकारीको व्यवस्था छ । उनको मातहतमा अधिकृत, सुब्बा र खरदार रहने व्यवस्था छ । उनीहरूकै मिलेमतोमा नक्कली कागजात खडा गरी तिब्बती नागरिकको नेपाली नागरिकता बन्ने गरेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानमा समेत संलग्न एसपी राठौरले भने, ‘पक्राउ परेका अभियुक्तले केही कर्मचारीको नामै लिएका छन् । हामी अनुसन्धानमै छौँ । घटना विवरण सर्वजनिक हुँदै जानेछन् ।’

‘सेटिङ’ मिलाउने क्यान्टिन सञ्चालक जिल्ला प्रशासन कार्यालय काठमाडौंको उत्तर–पूर्वतर्फ सामान्य क्यान्टिन छ । जसका सञ्चालक ललितपुर गोदावरी नपा– ७ का ३० वर्षीय विजय लामा हुन् । आवरणमा उनको पेसा प्रशासनमा आउने सेवाग्राहीलाई खाजा बेच्ने हो । तर, उनको खास धन्दा ‘सेटिङ’मा तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाई दिने हो । यसबापत उनले प्रतिनागरिकता एक लाख पचास हजार रुपैयाँ लिने गर्थे ।

प्रहरीका अनुसार लामाले जिप्रकास्थित नागरिकता फाँटका कर्मचारीसँग सेटिङ मिलाउँथे । र, प्राप्त रकम कर्मचारीलाई बुझाउँथे । नागरिकता लिन चाहने तिब्बती नागरिक र नक्कली कागजातका आधारमा खडा गरिएका नेपाली बुबालाई उनैले नागरिकता फाँटमा लैजान्थे । ‘सेटिङ’मा रहेका कर्मचारीसँग परिचय गराइदिन्थे । र, सजिलै नेपाली नागरिकता लिएर तिब्बती नागरिक जिप्रकाबाट बाहिरिन्थे ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले भने, ‘गोदावरीका विजय लामाको सिडिओ कार्यालयमा क्यान्टिन छ । नौ वर्षदेखि यसले सोही ठाउँमा क्यान्टिन चलाएको देखिन्छ । तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिन कर्मचारीसँग ‘सेटिङ’ मिलाउने काम यसैले गर्ने गरेको देखिन्छ । यद्यपि, अनुसन्धान जारी छ । थप तथ्य खुल्दै जाला ।’

एउटै व्यक्ति बने पाँच जनाको नक्कली बाबु

७० वर्षीय न्युल्केश श्रेष्ठ काठमाडौं महानगरपालिका– ११ बबरमहलका स्थानीय हुन् । भक्तपुर ठिमी बस्दै आएका उनको अनुहार शेर्पा समुदायसँग मेल खान्छ । यसको फाइदा उठाउँदै उनले नक्कली बाबु बनेर पाँच तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिए ।

प्रहरीका अनुसार मुख्य योजनाकार ललितपुर महालक्ष्मी– १ इमाडोलका ४७ वर्षीय कृष्णबहादुर कटुवाल हुन् । उनकै योजनामा न्युल्केश श्रेष्ठबाट मिङछुङ शेर्पा बने । उनले काठमाडौं– ६ बौद्ध जन्मस्थान उल्लेख गरेर नक्कली नागरिकता बनाए । तिब्बती नागरिक सोनाम छोडेन, टासी शेर्पा, यशोदा शेर्पा र नाम्से शेर्पा छोराछोरी भएको भन्दै उनले नक्कली जन्मदर्ता प्रमाणपत्र तयार गरे । यसबापत न्युल्केशले प्रतिव्यक्ति १०–१० हजार लिए । नक्कली छोराछोरीलाई एक–एक गर्दै जिल्ला प्रशासन कार्यालय लगे र कटुवालकै योजनाअनुसार क्यान्टिन सञ्चालक लामालाई भेटे । र, पालैपालो नेपाली नागरिकता बनाइदिए ।

प्रहरीका अनुसार न्युल्केशले सोनामलाई गत ४ कात्तिकमा नागरिकता बनाइदिएका थिए । नागरिकतामा उनको जन्ममिति २० चैत ०४९ उल्लेख गरियो । ३ पुसमा टासीको नागरिकता झिके । उनको जन्ममिति १० माघ ०५१ उल्लेख गरियो । १९ माघमा यशोदाको नागरिकता बनाए । उनको जन्ममिति २४ असोज ०६१ लेखियो । ३० फागुनमा नाम्सेको नागरिकता बनाए । उनको जन्ममिति २१ माघ ०६० उल्लेख गरियो ।

प्रहरीका अनुसार मुख्य योजनाकार कटुवाललाई नक्कली कागजात बनाउन मोरङको सुन्दरहरैँचा नगरपालिका– ३ का ४९ वर्षीय हिरालाल सिवाकोटीले सहयोग गर्दैै आएका थिए । उनीहरूले पाँच वर्षको अवधिमा पाँच सयभन्दा धेरै तिब्बतीलाई नेपाली नागरिकता बनाएर दिएको प्रहरीको भनाइ छ । यसबापत उनले प्रतिनागरिकता पाँच लाखसम्म लिने गरेका थिए ।

Published on: 23 March 2023 | Naya Patrika

Link

Back to list

;