s

कानुनविपरीत काम गरेको भन्दै म्यानपावर कार्यालयमा सिल, दुई जना भारतीय पक्राउ

परासी : नवलपरासीको परासी बजारमा कानुनविपरीत काम गरेको भन्दै ‘जेडी म्यानपावर सर्भिसेज’ मा सिल गरिएको छ। कानुनविपरीत काम गरेको भन्दै श्रम तथा रोजगार कार्यालयले बोर्ड हटाएर म्यानपावरको कार्यालय मंगलबार सिल गरेको हो।

कार्यालयको समन्वयमा प्रहरीको टोलीले प्रतिबन्धित मुलुक रसियालगायतका देशमा पठाउनका लागि खोलिएको म्यानपावरका भारतको महाराष्ट्र जिल्ला मुम्बई पोष्ट बर्भे नगर, असल्फा बस्ने २४ वर्षीय रविन्द्र राणे र मुम्बई जिपिओ कोलाव बस्ने ३७ वर्षीय जावेद मसिहलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीका अनुसार पक्राउ परेका उनीहरुबाट ल्याबटप, मोबाइल, भारतीय आधार कार्ड, भारतीय बैंकको चेकबुब र डेबिड कार्डसमेत बरामद भएको छ।

भारतबाट नवलपरासी आएका उनीहरूले रसिया, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा रोजगारका लागि पठाउने भन्दै साता दिनअघि कार्यालय खोलेर बसेका थिए। उनीहरूले डकुमेन्ट र रकम लिएपछि भारत हुँदै अन्य मुलुकमा पठाउने गरेको अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक पन्थीले जानकारी दिए।

नवलपरासीको सीमावर्ती भारतीय बजार ठूठीबारीका सन्तोष राम निवासले नेपालीहरुलाई पठाउनका लागि परासीमा सम्पर्क कार्यालय खोलेर पठाएको प्रहरीले जनाएको छ। म्यानपावरको मुख्य कार्यालय महाराष्ट्रमा छ। कार्यालय खोलेको छोटो समय भएकाले उनीहरूबाट अहिलेसम्म नेपालीहरू ठगिएको भन्ने बारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरूबाट ठगी सम्बन्धी कुनै प्रमाण फेला नपरेको श्रम तथा रोजगार कार्यालय बुटवलका सूचना अधिकारी केशवराज भट्टराईले जानकारी दिए।

Published on: 3 July 2024 | Annapurna Post

Link

Back to list

;