s

कन्टेनर राखेर ओसारिन्छन् नेपाली

होम कार्की

मानव तस्करको मिलोमतोमा अवैध रूपमा नेपालीलाई जहाजको कन्टेनरभित्र राखेर ओमनबाट तेस्रो मुलुकमा लैजाने गरेको नयाँ तथ्य खुलेको छ ।

ओमनबाट समुद्री नाका हुँदै इरानमा जाँदै गरेको पछिल्लो नेपाली युवाहरूसहित ३ पाकिस्तानीको समूह पक्राउ परेपछि यो तथ्य खुलेको हो । ओमन प्रहरीले जहाजको कन्टेनरमा राखिएका चार जना नेपालीलाई पक्राउ गरेको हो ।

प्रहरीले कन्टेनरबाट शिवप्रसाद पौड्याल, केशु धामी, एकराज लुइँटेल र सूर्य तामाङलाई पक्राउ गरेको छ । उनीहरूलाई थप सोधपुछका लागि ओमनको राजधानी मस्कटबाट तीनसय ५० किलोमिटर टाढा रहेको जेलमा राखिएको छ । 'उनीहरूलाई गत २३ नोभेम्बरमा ओमनको सोहारको बन्दरगाहबाट पक्राउ गरेको हो,' साउदीस्थित नेपाली दूतावासका ओमन प्रतिनिधि दीपक श्रेष्ठले भने, 'उनीहरूलाई इरान हुँदै टर्की लान लागिएको रहेछ ।'

यूएईको दुबईबाट उनीहरूलाई हिँडाएर ओमनको बोर्डर छिराइएको थियो । 'टर्कीका लागि कन्टेनरबाट इरानका लागि प्रस्थान गरेका थिए,' श्रेष्ठले भने, 'मानव तस्करले ओमनलाई ट्रान्जिट बनाउन थालेकाले प्रहरीले खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन् ।' ४ जना नेपालीको साथमा थप कागजात नभएकाले पूरा सूचना पाउन सकिएको छैन । उनीहरूलाई इरानमा रहेका नेपालीको सम्पर्कबाट झिकाएको बुझिएको श्रेष्ठले बताए ।

गैरआवासीय नेपाली संघ ओमनका अध्यक्ष डीबी क्षेत्रीका अनुभवमा पछिल्लो केही समयदेखि मानव तस्करहरूले ओमनलाई युरोप, अफगानिस्तान र इराकमा नेपाली लैजान नयाँ ट्रान्जिटको रूपमा प्रयोग गरिरहेका छन् । 'यूएईको दुबईबाट ओमन छिराउन अलि सजिलो छ,' उनले भने, 'यहाँ भित्र्याएपछि समुद्री बाटो प्रयोग गरी गन्तव्य मुलुकमा लैजाने गरेको छ ।'  

कास्कीका श्याम श्रेष्ठ अहिले मस्कटमा छन् । ५ वर्षदेखि दुबईमा बस्दै आएका उनी दलालमार्फत ओमान आएका हुन । 'रातको समयमा ३ घन्टा पैदल हिँडेर सिमाना पार गरी ओमान प्रवेश गरेका थिए,' श्यामको भनाइ उद्धृत गर्दै दीपकले भने ।

केही समयअघि पनि अफगानिस्तान लैजान ल्याइएका १८ जना नेपाली मस्कट सहरको अल खुवैरमा अलपत्र भएका थिए । उनीहरू त्यहाँ भिजिट भिसामा ३ महिनादेखि इराक र अफगनिस्तान जानका लागि समय कुरेर बसेका थिए । 'अन्य देशमा पठाउने ठूलो तस्कर सञ्जाल यहाँ सक्रिय छ,' श्रेष्ठले भने, 'गुपचुप हुने यो काम कुनै समस्या नभई बाहिर आउन पाउँदैन ।  १८ जना नेपालीलाई बस्ने तथा खाने समस्या भएपछि मात्रै यो रहस्य खुलेको थियो ।'

भिजिट भिसामा ३ महिनाको समय मिल्ने र फेरि १ महिना थप गर्न पाउने व्यवस्था हुनाले धेरै समयसम्म चलखेल गर्नका लागि ओमान केन्द्रविन्दु बन्दै गएको उनले बताए ।

गत मार्चमा पनि काभ्रेका मनोज खड्का इटाली जाने क्रममा मस्कटमा पक्राउ परेका थिए । 'उनी लगायत ११ जना बंगलादेशी नागरिक पक्राउ परे,' उनले भने, '३ महिना जेलमा बसेर आवश्यक कागजात नेपालबाट मगाएर नेपाल फिर्ता भएका थिए ।'  

Published on: 7 December 2012 | Kantipur

Back to list

;