s

कामदारप्रति जिम्मेवार हुन वैदेशिक रोजगार कम्पनीहरूलाई दूतावासको आग्रह

मुकुन्द गैरे

काठमाडौँ, साउन २० गते । अधिकांश वैदेशिक रोजगार कम्पनी आफूले वैदेशिक रोजगारमा पठाएका कामदारप्रति गैरजिम्मेवार भएको पाइएको छ ।

साउदीस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै केही इजाजत म्यानपावर कम्पनीले कोरोनाका कारण समस्यामा परेका कामदारलाई खाद्यान्नलगायत आवासको लागि पहल गरेको पाइए पनि अधिकांश वैदेशिक रोजगार कम्पनी गैरजिम्मेवार भएको पाइएको बताएको हो । 

राजदूतावासको बारम्बार अनुरोधलाई समेत बेवास्ता गर्ने गरेको र उल्टै कामदारलाई राजदूतावासले नै समस्या समाधान गर्छ भनेर आफू पन्छिने प्रवृत्ति देखिएको दूतावासको भनाइ छ ।

कोरोना सङ्क्रमणको विद्यमान असहज अवस्थामा मात्र नभई अन्य अवस्थामा समेत आफूले पठाएका कामदारहरूको अवस्थाका बारेमा जानकारी लिई उनीहरूलाई आवश्यक सहयोग गर्नु इजाजतवालाको मुख्य दायित्व हो । 

वैदेशिक रोजगार कम्पनीले वर्तमान विषम अवस्थामा समेत आफ्नो दायित्वबाट भाग्ने, कामदारले गरेको गुनासाहरू नसुन्ने, गलत आश्वासन दिने गरेको पाइएको दूतावासले बताएको छ ।

दूतावासले विद्यमान अवस्थामा आफूले पठाएका कामदारहरूप्रति जिम्मेवार हुन अनुरोध गरेको छ ।

काम कटौती भएर वा कम्पनी बन्द भई खाद्यान्नलगायत समस्यामा परेका कामदारहरूको खाद्यान्न र आवासको समस्या समाधान गर्न रोजगारदातासँग सम्पर्क समन्वयका लागि आवश्यक पहल गर्न नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

साथै कामदारहरू कार्यरत कम्पनीमा रोजगारीको सम्भावना नभएका कामदारहरूको इच्छा बुझी अन्य कम्पनीमा अकामासहितको रोजगारीको सम्भावना खोज्न वा सोको विकल्प नभएको अवस्थामा कामदारहरूलाई स्वदेश फर्काउन गम्भीर भई पहल गर्न दूतावासले इजाजत पत्रवालाहरूलाई अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमणको लामो अवधिमा विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरूले रोजगारी गुमाउनुपरेको र कामविहीन भई बस्नुपरेको अवस्था छ । दूतावासका अनुसार यसबीचमा केही कम्पनीहरू पूर्णरुपमा बन्द भई कामदार स्वदेश फर्केका छन् भने कतिपय खुल्ने अपेक्षामा बसेका छन् ।

Published on: 4 August 2020 | Gorkhapatra

Link

Back to list

;