s

कामका लागि विराटनगर जुट मिलमा ४ हजारको आवेदन

दुई सातादेखि विराटनगर- २० मिल्स एरियाको बजारमा बेग्लै चहलपहल छ । यो देख्दा विराटनगर जुट मिलको गेटसँगै जोडिएको पान पसलका सञ्चालक कैलाश साहको मुहारमा उज्यालो छाएको छ । 'अबचाहिँ यो मिल चल्छ नै, बजारमा रमाइलो हुने भयो, व्यापार पनि बढ्ने भयो,' साहले भने, 'दुई सातादेखि व्यापार एक/दुई सय भए पनि बढ्न थालेको छ ।' मिल आसपास रहेका दर्जनौं साना ठूला पसल सञ्चालकको समान अनुभव छ । उद्योग चल्ने कुराले व्यवसायी मात्र उत्साहित छैनन् । काम गर्न पाइने आशामा मिलका पहिलेका अनि नयाँ कामदार पनि आशावादी भएका छन् । यसैले चार वर्षदेखि घरेलु काममा लागेकी अम्बिका विकले रोजगारीका लागि सोमबार मिलको कार्यालयमा निवेदन दिएकी छन् ।

'२० वर्ष यही मिलमा मजदुरी गरियो, बन्द भएपछि घरकै काम गरियो,' उनले भनिन्, 'फेरि मिल चल्ने भएपछि म मात्र होइन परिवार अनि छरछिमेकमा पनि खुसी छाएको छ ।' यसैगरी विगतमा २० वर्ष मिलमै पसिना बगाएका मोरङको बुधनगर-६ का सुरेन्द्र यादवले पनि कामका लागि निवेदन बुझाएका छन् । 'मिल बन्द हुँदा जसरी आत्मा रोएको थियो, चल्ने भएपछि त्योभन्दा बढी खुसी लागेको छ,' यादवले भने, 'बन्द भएर अन्तिम पटक रकम लिएर घर जाँदा फेरि चल्लाजस्तो लागेको थिएन तर अब हजारौं कामदारको आशा पलाएको छ ।' चार वर्षदेखि बन्द विराटनगर जुट मिल चल्ने भएपछि यस क्षेत्रमा खुसी छाएको छ । मिलभित्र सफा गर्ने काम र मेसिन मर्मत पूरा भइसकेको छ । खियाले खाएका फलामे ढोकाहरूमा रङ लगाउन मजदुरहरू व्यस्त छन् ।

प्रशासनिक फाँटका कोठा सफासुग्घर गर्ने काम जारी छ । मिलमा पहिले लामो समय काम गरेका अधिकांश मजदुरले कामका लागि निवेदन दिएका छन् । तीन दिनयता निवेदन दिनेको संख्या चार हजार नाघेको मिल कार्यालयले जनाएको छ । तिनमा बढी संख्या महिलाको छ । विगतमा मिल राम्ररी चलेका बेला तीन हजारभन्दा बढीले रोजगारी पाएका थिए । 'तयारी तीव्र गतिमा भइरहेको छ,' मिल सञ्चालक समिति अध्यक्ष अशोक पोखरेल भन्छन्, 'जेठ लाग्नासाथ उत्पादन सुरु गर्ने तयारी भइरहेको छ ।' मिलले केही दिनयता परीक्षण उत्पादनलाई जारी राखेको छ । सनपाट खरिद गरी भण्डारण गर्न सुरु भइसकेको छ । मिल सञ्चालन हुने खबरले अन्तर्राष्ट्रिय श्रमिक दिवस नजिकिएका बेला यस क्षेत्रका हजारौं मजदुरको आशा पलाएको छ । बन्द भएर घरैमा बसेका अनि अन्यत्र काममा लागेकाहरू र्फकन थालेका छन् । बन्द जुट मिल भारतीय कम्पनी विमसम इन्टरनेसनल प्रालिले लिजमा लिएर सञ्चालन गर्न लागेको हो । लामो समयदेखि बन्द रहेकाले मिल सञ्चालन गर्न १० करोड रुपैयाँभन्दा बढी मर्मतमै खर्च लागेको सञ्चालकले जनाएको छ ।

राजनीतिक हस्तक्षेप, मजुदरमाथिको राजनीतीकरण्ालगायत कारणले अस्तव्यस्त बनेपछि थेग्नै नसक्ने अवस्थामा पुगेर मिल बन्द गरिएको थियो । मिललाई पुनः सञ्चलन गरी सरकारलाई वाषिर्क १ करोड ३५ लाख रुपैयाँ दिने कबोलमा भारतीय कम्पनीले जिम्मा लिएको हो । दैनिक ३० टन उत्पादन क्षमता रहेको यो मिल सञ्चालनमा आए १ हजार ८ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने छन् । अप्रत्यक्ष रूपमा यो संख्याको तेब्बरलाई लाभ पुग्ने अनुमान गरिएको छ । विराटनगर-२२ मा रहेको मिल ६० बिघा क्षेत्रमा फैलिएको छ । अग्रज उद्योगी व्यवसायी रामलाल गोल्छा र कृष्णप्रसाद कोइरालाको पहलमा भारतको श्रीइन्डष्ट्रिज प्रालिका राधाकृष्ण चमोरियासमेतको सहयोगमा सन् १९३६ मा स्थापना भएको थियो । उद्योग सञ्चालनको उत्कर्ष बेला विसं. २०२०-४० ताका दैनिक ५० टनसम्म उत्पादन हुन्थ्यो । मुलुकमै ट्रेड युनियनको आन्दोलन सुरुवात भएको मानिने २००७ सालको आन्दोलन विस्तार भई अन्ततः राणा शासनको अन्त्य गर्न सञ्चालन गरिएको आन्दोलनको महत्त्वपूर्ण पाटो बनेको थियो । सुनसरी-मोरङ औद्योेगिक क्षेत्रमा हाल नौ वटा जुट उद्योग सञ्चालनमा छन् । यो क्षेत्रमा मात्र जुट उद्योेगमा १० अर्बभन्दा बढी लगानी छ । चार दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेका यी उद्योगले २० हजारभन्दा मजदुरलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

Published on: 1 May 2013 | Kantipur

Back to list

;