s

कामदारलाई भोकै नराख्‍न १५ लाख

कान्तिपुर संवाददाता 

खोटाङ — कोभिड १९ संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले अलपत्र परेका कामदारका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको छ । 

लकडाउनको अवधिमा कामदार भोकै नरहोस् भनेर यत्तिको बजेट विनियोजन गरिएको बुधबार नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

नगरपालिकाले दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने तथा विपन्‍न परिवारलाई खाद्यान्न उपलब्ध गराउँन उक्त बजेट विनियोजन गरेको नगरप्रमुख दीपनारायण रिजालले बताए । ‘लकडाउनकै कारण नगरपालिकाभित्र कसैले पनि भोकभोकै बस्नु नपरोस भनेर १५ लाख बजेट विनियोजन गरिएको हो,’ रिजालले भने–‘नगरका सबै वडामा एक लाखका दरले उपलब्ध गराउँछौं ।’ 

खाद्यान्न तथा दैनिक उपभोग्यवस्तु आपूर्ति व्यवस्थापनका लागि प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरी प्रतिनिधिको समेत गरी समिति गठन गरिएको रिजालले सुनाए । नगरपालिकाले एक महिना (चैतभर)को घर तथा जग्गा भाडा समेत छुट गर्न घर तथा जग्गा धनीलाई आग्रह गरेको नगरप्रमुख रिजालले बताए । 

फोहरमैला व्यवस्थापन शुल्कमा नागरपालिकाले चैत महिनाको शुल्क छुट दिने भएको छ । यस्तै, विदेशबाट फर्किएका १५ जनालाई होम क्वारेन्टाइनमा राखिएको नगरप्रमुख रिजालले बताए ।

Published on: 1 April 2020 | Kantipur

Link

Back to list

;