s

कामदारलाई स्वदेश फर्काउने प्रक्रिया सुस्त

जनकराज सापकोटा

काठमाडौँ — स्वदेश फर्काउने प्रक्रिया सुस्त हुँदा रोजगारी गुमाएका र भिसा सकिएका नेपाली कामदार महिनौंदेखि श्रम गन्तव्यमा अलपत्र छन् । नेपाली कामदार गैरकानुनी हुने, बेखर्ची हुने र थप संकटमा पर्ने जोखिम पनि बढिरहेको छ । 

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार साउन ३० गतेसम्म ५१ हजार ४ सय ४१ नेपालीलाई ३० देशबाट ल्याइएको छ । मुख्य श्रम गन्तव्य खाडीका ६ देश (साउदी अरब, कुवेत, यूएई, कतार, बहराइन र ओमान) र मलेसियाका ४४ हजार ८४ नेपाली श्रमिकलाई स्वदेश फर्काइएको छ । तर संसद्को श्रम सम्बन्ध तथा अन्तर्राष्ट्रिय समितिमा श्रम विभागले विभिन्न दूतावासबाट संकलन गरेर वैशाखको तेस्रो साता बुझाएको प्रतिवेदनमा भिसाको म्याद सकिएका र आममाफीका कारण खाडी र मलेसियाबाट १ लाख २७ हजार नेपाली तत्काल फर्किन सक्ने अनुमान गरिएको थियो । त्यही प्रतिवेदनमा कोभिड–१९ का कारण रोजगारी गुमाएर खाडी र मलेसियाबाट फर्किन सक्ने कामदार २ लाख ८० हजार रहेको उल्लेख थियो । कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकहरूको अधिकार शीर्षकमा राष्ट्रिय मानवअधिकार आयोगले हालै मात्र निकालेको अध्ययन प्रतिवेदनमा खाडी र मलेसियामा दिनमा औसत एक हजार पाँच सय नेपाली श्रमिकको श्रम स्वीकृति समाप्त हुने उल्लेख छ । श्रम स्वीकृति सकिनु भनेको उनीहरू गैरकानुनी बन्नु र अलपत्र पर्नु हो ।

लकडाउन सुरु भएको दुई महिनापछि जेठ १२ मा मात्रै सरकारले विदेशमा अलपत्र परी स्वदेश आउनुपर्ने नेपालीलाई सहजीकरण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको थियो । सीसीएमसीले जेठ १६ मा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना स्वीकृत गरेपछि प्रवासमा रहेका नेपालीलाई स्वदेश ल्याउने प्रक्रिया सुरु भएको हो । चार्टर उडान नियमित नहुँदा, बेखर्ची कामदारका लागि टिकटको प्रबन्ध कसरी मिलाउने भन्नेमा समयमै निर्णय नहुँदा र निकै थोरै उडान हुँदा प्रवासमा अलपत्र पर्ने र थप समस्या भोग्न बाध्य हुने नेपालीको संख्या बढ्दो छ । सरकारी सुस्तताबाट सिर्जित समस्याका कारण थप अप्ठ्यारोमा परेका यस्ता कामदारले आफ्नो छटपटी र गुनासो आफू रहेको देशस्थित दूतावासको आधिकारिक फेसबुक पेजमा पोख्ने गरेका छन् । 

कतारको दोहास्थित नेपाली दूतावासको फेसबुक पेजमा शुक्रबार दोहाबाट भएको ३० औं उडानबाट २ सय ६३ नेपाली स्वदेश फर्किएको स्टाटस पोस्ट भयो । उक्त पोस्टमा सागर योन्जनले लेखेका छन्, ‘५ महिना भइसक्यो । रोजगारी छैन, हाम्रो पालोचाहिँ कहिले आउने हो सर ?’ सागरले जस्तै दर्जनौं नेपालीले आफू महिनौंदेखि उडान कुरिरहेको, आफ्नो बिचल्ली भएको र खर्च सकिएको भन्दै गुनासो र दुःख स्टाटसमा लेखेका छन् । तीन महिनाअघि नै स्वदेश फर्किन दूतावासमा निवेदन दिएका कामदारहरू अझै पालो पर्खेरै बसिरहेका छन् । दूतावासको फेसबुकमा बलराम रेग्मीले आफूले मे २८ मै फारम भरेर बुझाएको उल्लेख गरेका छन् । स्वदेश फर्किन चाहनेहरूले फारम भरेर दूतावासमा बुझाउने र रोलक्रम र परिस्थिति हेरेर कामदारको सूची निकाल्ने भनिए पनि सरकारी समन्वय र ढिलासुस्तीले कामदारहरू महिनौंदेखि स्वदेश फर्किने दिन गनेर बसेका छन् । सन्दीप पौडेलले लेखेका छन्, ‘तीन महिना भइसक्यो तैपनि नाम आउँदैन त ?’ प्रेम बुढाले आफूले स्वदेश जाने दिन कुरेर बसेको ५ महिना भइसकेको उल्लेख गरेका छन् ।

Published on: 16 August 2020 | Kantipur

Link

Back to list

;