s

कामदारलाई सही सूचना प्रवाह गर्न आप्रवासी सम्मेलनको आग्रह

नेपालमा पहिलो पटक आप्रवासनका विविध विषयलाई समेटर राजधानीमा आयोजित दुईदिने 'राष्ट्रिय आप्रवासन सम्मेलन' ले वैदेशिक रोजगारलाई लाभदायक बनाउन र ठगी रोक्न सही सूचना प्रवाह प्रणालीमा जोड दिएको छ । कामदारलाई सही सूचना प्रवाह गर्न नसक्दा गन्तव्य मुलुकहरूमा असुरक्षा प्रमुख समस्या भएको भन्दै सम्मेलनले वैदेशिक रोजगारको समग्र चक्रमा सुधार गर्नुपर्ने औंल्याएको छ । वैदेशिक रोजगारमा जानुपूर्वदेखि फर्केका कामदारहरूको पुनःस्थापना, ठगी नियन्त्रण, नियमन संरचनाको सुधार, म्यानपावर कम्पनीहरूको प्रभावकारी अनुगमन, स्वरोजगारीमा जोडलगायत विषयलाई सम्मेलनले जोड दिएको छ । वैदेशिक रोजगारीमा ठगी, मानव बेचबिखन गर्ने क्रम पनि उत्तिकै बढेको भए पनि पीडकलाई कारबाही हुन नसकेकामा सम्मेलनका सहभागीले चिन्ता व्यक्त गरे । आउँदो ३ वर्षपछि दोस्रो सम्मेलन आयोजना गर्ने निर्णयसहित शनिबार सकिएको सम्मेलनले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित बनाउन २८ बुँदे निष्कर्षसमेत निकालेको छ । तीन वर्षको अवधिसम्म वैदेशिक रोजगारका क्षेत्रमा गर्नुपर्ने कामको मूल्यांकन तथा अनुगमन गर्न डा. गणेश गुरुङको संयोजकत्वमा मूल्यांकन तथा अनुगमन समिति गठन भएको छ । गुरुङ राष्ट्रिय योजना आयोजकका पूर्वसदस्य तथा आप्रवासनका विषयमा अध्यययन, अनुसन्धान गर्ने एक गैरसरकारी संस्था 'निड््स' का अध्यक्ष हुन् । 'वैदेशिक रोजगारमा जान चाहनेलाई समयमै सही सूचना, आवश्यक तालिम, गन्तव्य मुलुकको श्रम कानुन, रहनसहन, संस्कृति तथा भाषाबारे पर्याप्त जानकारी नहुँदा नेपाली कामदारमाथि विभिन्न शोषण, जोखिमपूर्ण घटना भएका छन्,' सम्मेलनका सहसंयोजक गुरुङले भनेका छन्, 'यी समस्या न्यूनीकरण गरेर वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो, लैंगिक जिम्मेवार र राष्ट्रिय हितअनुकूल बनाउन सम्मेलन कोसेढुंगा सावित हुने अपेक्षा लिएका छौं ।'

माइती नेपाल, निड्स, पौरखी, सामी, एबीसी नेपाल, अक्सफाम, केयर नेपाल, सीआईएम/जीआईजेड, आईओएम, नेपाल रेमिटर्स एसोसिएसन, पीएनसीसी र माइग्रेन्टस सेन्टरद्वारा आयोजित  सम्मेलनमा युरोपियन युनियन, यूएन वुमन र अस्टि्रयन विकास सहयोग नियोग र  वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहयोग गरेको आयोजक समितिले जनाएको छ । वैदेशिक रोजगार सम्बन्धित दर्जन संस्थाका करिब १ सय ७० सहभागी रहेको सम्मेलनमा नेपालका लागि साउदी अरबमा राजदूत उदयराज पाण्डे र कुवेतका लागि राजदूत मुधवन पौडेल कार्यपत्रसहित सहभागी थिए । उपराष्ट्रपति परमानन्द झाले सम्मेलन उद्घाटनमा वैदेशिक रोजगारी गएका कतिपय नेपाली पीडित र शोषित हुनुपरेकाले त्यसलाई कम गर्नमा जोड दिनुपर्ने बताएका थिए । 'विकृतिलाई कसरी कम गर्न सकिन्छ, नियम-कानुन बनाउनुपर्छ,' स्वदेशी रोजगारीमा जोड दिँदै उनले भने, 'जुन काम स्वदेशमा गर्दा लज्जा बोध हुन्छ, त्यही काम गर्न विदेश जानु राम्रो होइन ।' श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सकिन्छ विदेश नजाऔं, सकिँदैन सीप सिकेर जाऔं' भन्दै वैदेशिक रोजगारमा विकृति हटाउन सरकार, नागरिक समाज, व्यवसायी लाग्नुपर्ने बताए । सम्मेलनमा आप्रवासी कामदारको पूर्व प्रस्थान, सुरक्षित आप्रवासन, घरेलु महिला कामदार गन्तव्य मुलुकमा नेपाली नियोगहरूको भूमिका, रेमिट्यान्स, विकास, बेरोजगारी, पुनःस्थापना, विदेशमा रहेका नेपालीको योगदान, कामदारको स्वास्थ्यलगायत विषयमा १५ कार्यपत्र प्रस्तुत भएका थिए । साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले ठगी तथा मानव बेचबिखन गर्ने १ सय १४ दलालको नामावली साउदीबाट पठाइसकेको बताउँदै कारबाही हुन नसकेकामा चिन्ता व्यक्त गरे । 'तिनलाई कारबाही गर्ने हो भने साउदीमा ९० प्रतिशत समस्या समाधान हुन्छ,' उनले भने । कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले घरेलु महिला कामदार पठाउन एजेन्सी-एजेन्सी सम्झौता गरेर दुवै पक्षमा जिम्मेवार बनाउन सकिने बताए । कुवेतमा घरेलु महिला कामदारको समस्या सबैभन्दा बढी छ । सम्मेलनमा वैदेशिक रोजगारसम्बन्धी चेतनामूलक 'बुझौं र बुझाऔं' नाटक, वैदेशिक रोजगारले परिवारमा पारेको प्रभावका फोटाहरू, वैदेशिक रोजगारसँग जोडिएका बाकसभित्र बनाइएका विभिन्न चित्र, चिठी, गन्तव्य मुलुकमा कार्यरत कामदार खाटमा पल्टेर कल्पनाको भिडियो फुटेज पनि प्रदर्शनी गरिएको थियो ।

Published on: 15 May 2013 | Kantipur

Back to list

;