s

कामदारलाई अर्को कम्पनीमा सार्ने दलाललाई कारबाही

देवेन्द्र सम्बाहाम्फे

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत काम गर्न यहाँ आएकाहरूलाई तोकिएभन्दा अन्य कम्पनीमा सार्न सक्रिय दलाललाई सरकारले कारबाही गर्ने भएको छ । कमिसन लिएर विदेशी कामदारलाई कम्पनी परिवर्तन गर्न सहयोग गरेको सूचना मन्त्रालयमा आएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । श्रम मन्त्रालयका जनशक्ति नीति ब्युरोका निर्देशक ली थे हीले यस्ता दलाललाई नियन्त्रण गर्न कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् । 'ईपीएसअन्तर्गत आएका कामदारलाई माग र छनोट गर्ने अधिकार मन्त्रालयअन्तर्गतका कार्यालयबाहेक अन्यलाई छैन,' निर्देशक थेले भनेका छन् ।

कमिसन खाएर विदेशी कामदारलाई कार्यक्षेत्र परिवर्तन गर्न सहयोग गर्नु अवैधानिक मानिन्छ । त्यस्ता दलालहरूलाई एक वर्ष जेल सजाय र १ करोड वनसम्म जरिवाना हुने पनि मन्त्रालयले जनाएको छ । कोरिया सरकारले ईपीएसअन्तर्गत १५ देशका कामदार माग गर्दै आइरहेको छ ।
 
मन्त्रालयले जनाएअनुसार गत वर्षको अन्त्यसम्ममा मात्र ७५ हजार प्रवासी कामदारहरूले आफ्नो कार्य क्षेत्र परिवर्तन गरेका छन् । कामदारले पटकपटक कम्पनी परिवर्तन गर्दा औद्योगिक उत्पादनमा ह्रास आउनुका साथै रोजगारदातालाई विदेशी कामदारको व्यवस्थापनमा गाह्रो हुने र लामो समय काम गर्ने अन्य सहकर्मीको मानसिकतामा असर पुग्ने तर्क मन्त्रालयका अधिकारीको छ ।
 
हाल विदेशी कामदारले पहिलो ३ वर्षको अवधीमा ३ पटकभन्दा बढी कम्पनी परिबर्तन गर्न नपाउने नियम रहेको छ । त्यसैगरी ३ वर्षको रोजगार सम्झौता सकिएपछि बाँकी अवधिका लागि २ पटक मात्र परिवर्तन गर्न पाउने कानुनी अधिकार रहेको छ । कम्पनी परिवर्तनका क्रममा ३ महिनाभित्र अर्को कम्पनीमा रोजगारी नपाए स्वदेश र्फकनुपर्ने श्रम कानुनमा उल्लेख छ ।
 
मजदुर तथा मानव अधिकारवादीहरूले विदेशी कामदारको पेसा परिपर्तन र त्यसको छनोट गर्ने अधिकार हनन गरिएको भन्दै सरकारको आलोचना गर्दै आइरहेको छ । गत वर्ष यस विषयमा मजदुर अधिकारकर्मीहरूले अदालतमा पेस गरेको रिट यहाँको संवैधानिक अदालतले खारेज गरेको थियो ।
 
Published on: 10 June 2012 | Kantipur

Back to list

;