s

कामदारको माग ७५ प्रतिशतले घट्याे

मुकुन्द गैरे

काठमाडौं, फागुन २८ गते । नेपालको श्रम बजारमा वार्षिक पाँच लाखको हाराहारीमा श्रम शक्ति बजारमा आउने गर्छन् । रोजगारीको खोजीमा करिब ४० लाख युवाशक्ति विदेश पलायन हुने गरेको तथ्याङ्क एकातर्फ छ । विश्वमा फैलिएको कारोना भाइरसका कारण नेपाली कामदारहरुको रोजगारीका गन्तव्य मुलुकहरु संकटमा पर्न थालेका छन् । खाडी मुलुक कतारलगायतले नेपाललगायत अन्य देशबाट आउने कामदार आउनमा रोक लगाएका छन् ।

यसैगरी, साउदी अरव, मलेशिया, बहराईन, कुवेत, दुबई लगायतका मुलुकले पनि आ–आफना देशमा आउने कामदार रोक्ने तयारी गरेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेल नेपालमा आउने कामदारको मागपत्रमा ७५ प्रतिशत कम भएको बताउनुहुन्छ ।
मागपत्र आउन धेरै मात्रामा कमी आएसँगै कामदार छनौट प्रक्रियाका लागि लिईने अन्तर्वार्ता रोकिएको समेत उहाँ बताउनुहुन्छ ।

रोजगारदाता मुलुकमा कोरोनाको संक्रमणको कारण रोजगारदाता नै अन्योलमा रहेको उहाँको भनाइ छ ।यसको असर लामो समय लम्बिदै गए दीर्घकालीन रुपमा देशलाई नै ठूलो आर्थिक संकट उत्पन्न गराउन सक्ने उहाँ बताउनुहुन्छ ।रोजगारदाता मुलुकले कामदार तत्कालका लागि रोक्ने निर्णयले म्यानपावर व्यवसायीलाई समेत असर गरेको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ विदेशमा जाने कामदार रोकिए देशमा आर्थिक रुपमा ठूलो असर पर्ने बताउनुहुन्छ ।सरकारले सँधै भरी वैदेशिक रोजगारीको भरमा मात्रै भर परे देश कुनै दिन ठूलो संकटमा फस्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।स्वदेशमा रोजगारी नपाउने र विदेशमा पनि काम गर्न जाने अवस्था नभए सामाजिक विचलनदेखि चोरी डकैती र अपराधका घटना बढ्ने खतरा रहेको डा. गुरुङको भनाइ छ ।

कोरोनाको कारण नेपालमा सबैभन्दा बढी आर्थिक रुपमा कमजोर भएका विपन्न परिवारलाई पर्नेसक्ने खतरा उहाँले औंल्याउनुभयो ।अहिलेको अवस्थामा वैदेशिक रोजगारमा गएका कामदारले पठाएको रेमिट्यान्सले परिवारसँगै देशको अर्थतन्त्र चलेको अवस्थामा मुख्य स्रोत रेमिट्यान्स भित्रनमा कमी आउँदा वित्तिकै धेरै क्षेत्रमा असर पर्ने उहाँले बताउनुभयो ।

विदेशिने नेपाली कामदार रोक्न सरकारले ठोस योजनाका साथ अगाडि बढ्न जरुरी रहेको डा. गुरुङको तर्क रहेको छ ।सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने र परिणाम देखिने खालका कार्यक्रम ल्याउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

स्वदेशमै काम गर्ने संस्कारको विकास गरी युवालक्षित विना धितोे ऋण दिने लगायतका योजनालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको कुरामा उहाँले जोड दिनुभयो ।

Published on: 12  March 2020 | Gorkhapatra

Link

Back to list

;