s

कामदारको कोटा बढाउने पहल गर्दै छु

कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा यहाँ कामका लागि आएका युवाहरूको हकहित मात्रै होइन कोरियाको लगानी नेपाल भित्र्याउने काममा केन्दि्रत छन् । सांसद, एमाओवादी केन्द्रीय समिति सदस्य हुँदै ताम्सालिङ मुक्तिमोर्चा केन्द्रीय अध्यक्षसम्मको अनुभव लिइसकेका लामा कोरियामा राजदूत भएर आउने दोस्रा राजदूत हुन् । राजदूत लामासँग कान्तिपुरका कोरिया संवाददाता देवेन्द्र सम्बाहाम्फेले गरेको कुराकानी:

 
लामो समय राजनीति गरेर कूटनीतिक जिम्मेवारीमा यहाँ आउँदा कस्तो लागिरहेको छ ?
 
लामो राजनीतिक जीवन पार गरेपछि राष्ट्रले मलाई एउटा गहन जिम्मेवारी दिएको छ । यो जिम्मेवारीलाई मैले एउटा चुनौतीका रूपमा पनि लिएको छु र यसलाई मैले स्वीकार गरेरै आएकाले खासै त्यस्तो अप्ठ्यारो महसुस भएको छैन ।
 
आफ्नो कार्यकालमा के कुरालाई महत्त्व दिनुहुन्छ ?
 
नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ घनिष्ट बनाउने कार्यलाई पहिलो प्रथमिकतामा राखेको छु । साथै हामीलाई अहिले लगानीको आवश्यकता भएकाले कोरियाली लगानीलाई नेपाल भित्र्याउने कामलाई पनि प्रथमिकतामा नै राखेको छु । नेपाली पर्यटनलाई यहाँ अझ राम्ररी प्रवर्द्धन गर्नु पनि छ । साथै कोरियामा रहेका श्रमिक, व्यापारी, विद्यार्थी, पत्रकार, समाजसेवी सबैको अभिभावक बन्ने विषयलाई म भुल्ने छैन ।
 
कोरियाली लागानी नेपाल भित्र्याउने कुरा गर्नुभयो । यसका लागि कस्ता योजना बनाउनुभएको छ ?
 
सरकारले आर्थिक कूटनीतिमा जोड गरेकै कारण लगानी वर्ष घोषण गरेर लगानी बोर्ड नै गठन गरिसकेको छ । त्यसो भए पनि हामीकहाँ लगानीमैत्री वातावरणको अभाव छ । कोरियाली लगानीकर्ता नेपालप्रति सकारात्मक पनि छन् । उनीहरू नेपाललाई केही दिन खोजिरहेका छन् । यस्तो अवस्थामा लगानीमैत्री वातावरण तयार गरेर उनीहरूलाई झन्झट र अड्चन बिना चाहेको क्षेत्रमा लगानीको वातावरण तयार गरिदिनुपर्छ । हामीले ढिलासुस्ती गर्यौं  भने र उनीहरूको भावना बुझेनौ भने धेरै समय हामीलाई पर्खनेवाला छैनन् । समयको महत्त्व उनीहरूले हामीले भन्दा धेरै बुझेका छन् ।
 
नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध कस्तो पाउनुभयो त ?
 
नेपाल र कोरियाको सम्बन्ध ४३ वर्ष पुरानो र घनिष्ट छ । यो अवधिमा हामीबीच कहिल्यै मनमुटाव भएन । हामी भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपले अत्यन्त नजिक छौं । हाम्रो सम्बन्ध अझ घनिष्ट, सौहार्द र समुधुर रूपले विकास भइरहेको छ । दुवै राष्ट्रको सार्वभौमसत्ता, अखण्डता, शान्ति र समृद्धिमा साझेदार बन्न हामी उत्तिकै तयार छौं ।
 
ओहोदाको प्रमाणपत्र पेस गर्दा राष्ट्रपति ली म्यङ बाकलाई ँस्टेट भिजिट’ का लागि निम्तो दिनुभएको हो ?
 
मैले 'स्टेट भिजिट' को निम्तो नै दिएको चाहिँ भन्न नमिल्ला किनभने म त्यो स्तरको होइन अथवा म  उहाँको समकक्षी परिनँ । एउटा कुरा के हो भने कूटनीतिक सम्बन्धमा 'हाई लेभल भिजिट'  भनेको साह्रै महत्त्वपूर्ण इन्स्ट्रयुमेन्ट -औजार) हो । हामीबीच यति लामो कूटनीतिक सम्बन्ध हुँदाहुँदै पनि त्यो औजार कम भएको प्रसंग उहाँलाई अवगत गराएको हुँ ।
 
उहाँको प्रतिक्रिया कस्तो रह्यो त ?
 
उहाँले पनि दुई देशबीचको पुरानो सम्बन्धबारे प्रसंग उठाउनुभएको थियो । साथै निकट भविष्यमा समय मिलाएर भ्रमण गर्नुपर्छ भन्नुभएको हो ।
 
यसका लागि आफ्नो तर्फबाट कुनै पहल गरिरहनुभएको छ ?
 
प्रमुख रूपमा यही विषयलाई लिएर म केही दिनअघि नेपाल गएको थिएँ । मैले यो विषयमा गम्भीरताका साथ हाम्रा प्रधानमन्त्री, परराराष्ट्रमन्त्री, अर्थमन्त्री, संस्कृतिमन्त्रीसँग कुरा गरेको छु । उहाँहरूलाई यसका लागि गम्भीर भएर सोच्न र बजेट विनियोजन गर्न अनुरोध पनि गरेको छु । त्यति मात्र नभएर नेपालका लागि कोरियाली राजदूतसँग पनि यो कुरालाई अघि बढाएको छु । उहाँ पनि सकरात्मक नै हुनुहुन्छ । दुई देशबीचको स्टेट भिजिटको वातावरण निर्माण गर्ने मैले आफ्नो जिम्मेवारी पनि सम्झेको छु । म सकेसम्म पहल गरिरहने छु ।
 
कोरियामा नेपालीहरूको स्थितिचाहिँ कस्तो पाउनुभयो त ?
 
समग्रमा यहाँ रहेका नेपालीको स्थिति मैलै राम्रै पाएको छु । विशेष गरेर श्रमिक दाजुभाइ, दिदीबहिनी काम गर्दा केही गाह्रोसाह्रो भए पनि कमाइको हिसाबले मलेसिया र मध्यपूर्वका देशभन्दा निकै राम्रो छ । कम्तीमा हजार डलर अधिकांश कामदारले बचाएका छन् । फेरि बर्सेनि थोरै भए पनि तलब बढेकै छ । यस हिसाबले कामदारका लागि राम्रै मान्नुपर्छ । नेपाली रेस्टुरेन्टहरूमा ८० प्रतिशत ग्राहक कोरियाली नागरिक छन् । अझ दिनानुदिन जनस्तरमा नेपाली संस्कृतिप्रति उनीहरूको चासो बढिरहेको छ । यस हिसाबले यहाँ रहेका व्यापारीको स्थिति र भविष्य पनि मैले राम्रै देखेको छु । यहाँबाट उत्पादन भएका विद्यार्थी पनि कोही बेरोजगार छैनन् । त्यसैले कोरियामा रहेका नेपालीहरूको स्थिति निकै स्तरीय छ ।
 
वैवाहिक सम्बन्धमा कोरिया आएका अधिकांश नेपाली महिलाहरू घरेलु हिंसामा छन् । उनीहरूको उद्धारमा दूतावासको भूमिका कस्तो छ त ?
 
सबैभन्दा पहिलो कुरा त जो दलाल वा म्यारिज ब्युरो छन्, तिन्ाीहरूलाई सरकारले त्ात्काल बन्द गर्नुपर्छ । किनभने यिनीहरूबाटै समस्या र विकृति सुरु भएको हुन्छ । उनीहरूको अनेक प्रलोभनमा  सीधासाधा नेपाली महिलाहरू भड्खालोमा परेका हुन्छन् । त्यसैले यस्ता दलालहरूलाई निरुत्साहित गर्नैपर्छ । कोरियन पुरुषसँग विवाह गरेपछि कानुनी हिसाबले कोरियन नागरिक सरह हुन्छन् । उनीहरू घरेलु हिंसामा रहे पनि कानुनी रूपमा उद्धार गर्ने हामीसँग कुनै अधिकार हुँदैन । हामी केवल माइतीको हैसियतमा मात्र रहन्छौं । त्यसैले उहाँहरूलाई हामी सहानुभूतिपूर्वक व्यवहारिक सहयोग मात्र गर्न सक्छौं ।
 
एकचोटि कामदार पठाउने प्रक्रिया गलत छ भन्नुभएको थियो नि । के भन्न खोज्नुभएको हो ?
 
मैले प्रक्रिया गलत छ भनेर त्यसरी ठाडै चाहिँ भनेको होइन । सकेसम्म नेपाली कामदार धेरै कोरिया आउन पाऊन् भन्ने मेरो चाहना हो ।यति हुँदाहुँदै पनि भाषाकै आधारमा मात्र कामदार छनोट गर्दा यहाँ आएपछि समस्याहरू सिर्जना हुने गरेका छन् । यहाँ कठिन र खतरापूर्ण काम पनि गर्नुपर्छ । त्यसैले शारीरिक तन्दुरुस्तीलाई पनि ध्यान दिनुपर्ने हो कि भन्ने आशय मात्र हो मेरो । साथै सरकारले अदक्ष कामदार मात्र नभएर अर्ददक्ष कामदार जस्तै नर्स, इन्जिनियरलाई पनि यहाँ पठाउने पहल गरे अझ राम्रो हुने थियो ।
 
ईपीएसमा नेपालको लागि कोटा बढाउने प्रयास गर्नुभएको छ कि छैन ?
 
नेपाली कामदारको मिहेनतले कोरियन उद्योगपति हामीप्रति सकरात्मक छन् । त्यस्ौले अन्य देशको तुलनामा नेपाली कामदारको माग बढ्दो छ । अझ धेरै नेपालीले कोरिया आउन पाऊन् भन्ने उद्देश्यले कोटा बढाउन एचआरडी कार्यलयमा र यहाँका श्रम तथा रोजगारमन्त्री ली छे फिलसँग पनि प्रस्ताव गरेको छु । कोटाकै विषयलाई लिएर पुनः मन्त्री फिललाई छिट्टै भेट्दै छु ।
 
अवैधानिक कामदारलाई पनि वैधानिक बनाउन सकिन्छ भन्नुभाथ्यो यो कसरी सम्भव हुन्छ त ?
 
यो सोचेजस्तो सजिलो प्रक्रिया भने होइन । सकेसम्म प्रयास गर्ने भनेको हो । केही हप्ताअघि मात्र एउटा सम्मेलनमा ईपीएसबाट यहाँ कामदार आपूर्ति गर्ने पन्ध्रै देशका राजदूतहरूले पनि संयुक्त रूपमा यो कुरा राखेका थियौं । कोरियाको परिवर्तित नयाँ श्रम नियम अनुसार कम्पनी परिवर्तन नगर्ने कामदारहरूको कार्यअवधि बढेर ९ वर्ष ८ महिना भएको छ । यो नियमले पनि अवैधानिक हुने क्रमलाई रोक्छ ।
 
कोरियाका लागि भारतीय राजदूत विष्णु प्रकाशले त सगरमाथा भारतमा पर्छ भनि दिए नि । त्यसको खण्डन पनि गरेनन् ?
उनको अन्तर्वार्ता आएकै दिन फोन गरेर 'के भनेको ?' भनेर आपत्ति जनाएको थिएँ । उनलाई त्यसै पत्रिका मार्फत गल्ती सच्याउन प्रतिक्रिया लेख्न पनि भनेको थिएँ । उनले हुन्छ पनि भनेका थिए तर  लेखेनन् ।
 
Published on: 3 August 2012 | Kantipur 

Back to list

;