s

कामदारका समस्या दुई साताभित्र समाधान : कतार

कतारको श्रम विभागले हमाद बिन खालिद बिन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा कार्यरत १२ सय विदेशी कामदारको समस्या दुई साताभित्र समाधान गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीमा ४ सय २७ नेपाली कार्यरत छन् ।
 
कतारस्थित नेपाली दूतावास, पीडित कामदार र कतारी निकायबीच भएको छलफलमा विभागका प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘कतारी पक्षबाट खाद्यान्न र बिजुलीको समस्या तत्कालै समाधान गर्ने र कामदारको बाँकी तलब र अन्य समस्याका विषयमा कतारका सम्बन्धित निकायसँग समन्वय गरी बढीमा १५ दिनभित्र समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा छ ।
 
दूतावासले कतारी च्यारिटीमार्फत खानाको व्यवस्था मिलाइरहेको जनाएको छ । कतारको महत्त्वपूर्ण विकास आयोजना बनाउने जिम्मा लिएको एजकेएचले आफ्ना कामदारलाई ४ देखि ६ महिनाको तलब दिएको छैन । कम्पनीमा मासिक २६ हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली छन् । अलपत्र कामदारको मार्च २७ देखि काम रोकिएको छ । उनीहरूलाई सनैयास्थित ३६, ४१ र अल्खोरस्थित क्याम्पमा राखिएको छ ।
 
Published on: 26 April 2018 | Kantipur

Back to list

;