s

कामदारका परिवारलाई साढे ४८ करोड

वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५/७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारका परिवारलाई राहतस्वरूप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ । गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएका थिए ।

बोर्डले करार अवधिभित्रै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ । रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहायता प्रदान गरिएको बोर्डले जनाएको छ ।

बोर्डले अंगभंग वा गम्भीर बिरामीको प्रकृति र मात्राका आधारमा प्रतिशत निर्धारण गरी ७ लाखसम्म आर्थिक सहायता प्रदान गर्दै आएको छ । यो अवधिमा वैदेशिक रोजगारीमा गएका कामदारका परिवारलाई १२ लाख १५ हजार रुपैयाँ औषधोपचार सहयोग उपलब्ध गराइएको छ ।

बोर्डले गत वर्ष विदेशमा अलपत्र ७८ नेपाली कामदारको उद्धार गरिएको समेत जनाएको छ । गत आवमा अलपत्र परेकालाई उद्धार गरी स्वदेश ल्याउन ६ करोड ५६ लाख ५ हजार रुपैयाँ खर्च भएको थियो ।

गत आवमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ८२ नेपाली कामदारको शव नेपाल झिकाइएको र त्यसका लागि ७ करोड ८५ लाख रुपैयाँ खर्च भएको उल्लेख छ । विदेशबाट ल्याइएको नेपाली कामदारको शव उनीहरूको घरसम्म पुर्‍याउने क्रममा १ करोड ५७ लाख रुपैयाँ खर्च भएको विवरणसमेत बोर्डले दिएको छ ।

बोर्डले गत वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका कामदारका १ हजार ४ सय ३३ सन्ततिलाई वैदेशिक रोजगार छात्रवृत्तिबापत १ करोड ४८ लाख ६५ हजार रुपैयाँ प्रदान गरेको छ ।

Published on: 26 July 2019 | Kantipur

Back to list

;