s

कामदार पठाउने तयारी अन्तिम चरणमा

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन २८ गते । नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुुगेको छ । गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट इजारायल पठाउने दक्ष जनशक्तिका लागि कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुुगेको र त्यो बनेपछि छिट्टै आवेदन खुला गरिनेछ । विभागका महानिर्देशक कुुमारप्रसाद दाहालले श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउने कार्य अन्तिम चरण पुुगेको र कार्यविधि तयार भएपछि त्यही आधारमा आवेदन माग गरिने जानकारी दिनुुभयो ।

उहाँले भन्नुुभयो, “यो कार्यविधिले विशेषगरी इजरायल पठाउने श्रमिकको योग्यता, क्षमतालगायत छनोट प्रक्रियाका बारेमा स्पष्ट गर्नेछ र यही आधारमा आवेदनको माग गरिनेछ । ”

नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली श्रमिकको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ ‘इम्प्लिमेन्टेसन प्रोटोकल’मा नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गर्नुभएको थियो ।

इजरायलमा केयरगिभरमा काम गर्ने गरी तत्काल पाँच सय नेपाली पठाउने गरी नेपाल र इजारायलबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार त्यो सङ्ख्याका नेपालीले इजरायलमा केयरगिभरका रूपमा रोजगारी प्राप्त गर्नेछन् । सो रोजगारीमा दुई देशका सरकारी निकायबीचको संलग्नतामा श्रमिक पठाइनेछ । यसमा कुनै पनि निजी क्षेत्रलाई समावेश गरिएको छैन ।

नेपालबाट इजराइल सरकारले केयरगिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता सम्पन्न भएको थियो । गत असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायली नागरिकसरहको सेवा सुविधा दिनेगरी श्रम सम्झौता सम्पन्न भएको थियो ।

यसअघि इजरायलमा नेपालीलाई रोजगारीका लागि केयरगिभरलगायतमा खुला भए पनि निजी क्षेत्रबाट श्रमिक पठाउँदा चर्को रकम असुलिएका कारण इजरायलले नेपाली श्रमिक लिन रोकेको थियो ।

नयाँ श्रम सम्झौताअनुसार एसएलसी वा एसईई उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी तालिम वा १२ कक्षा उत्तीर्ण भई तीन महिने केयरगिभरसम्बन्धी तालिम लिएका अङ्ग्रेजी बोल्न सक्नेले इजरायल रोजगारीमा जानका लागि आवेदन दिनसक्ने छन् ।

छनोट भएकाले टिकट, स्वास्थ्य परीक्षणलगायतको गरी प्रतिव्यक्ति एक लाख रुपियाँ बुझाउनु पर्नेछ । केयरगिभरमा जानेको तलब मासिक कम्तीमा पनि दुई लाख रुपियाँ हुनेछ ।

त्यसो त यसअघि पनि नेपाली केयरगिभरका रूपमा इजरायल गएका छन् । कतिपय नेपाली अहिलेसम्म त्यहाँ कार्यरत छन् । त्यस्तै साना किसान बैङ्कको संयोजनमा कृषि क्षेत्रमा काम गर्नका लागि हरेक वर्ष १० महिने ’लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत तीन हजार १६२ जना नेपाली इजरायल गइसकेको सरकारी तथ्याङ्क छ ।

इजरायलमा ६० हजार विदेशी केयरगिभर छन् । यसअघि सन् २०१७ मा एक संस्थाले सार्वजनिक गरेको जानकारीअनुसार इजरायलमा झन्डै १५ प्रतिशत केयरगिभर नेपालका रहेका छन् । इजरायल र नेपाल सरकारबीच २०७२ साल साउनमा केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा एक सम्झौता (एमओयू)मा हस्तााक्षर भएको थियो ।

कमाई र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको रोजगारी सरकारीस्तरमा श्रमसम्झौता (जीटुजी) भएको पाँच वर्ष नपुग्दै बन्द भएको थियो ।

Published on: 12 March 2021 | Gorkhapatra

Link

Back to list

;