s

'कामदार नफर्केसम्म जिम्मा लिनुपर्छ'

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगारीमा जाने कामदारको जिम्मा उनीहरू नफर्केसम्म व्यवसायी र सरकाले लिनुपर्ने बताएका छन् । उनले बिहीबार राजधानीमा आयोजित प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको प्रथम वाषिर्क साधारणसभामा यस्तो बताएका हुन् ।

'कामदार विदेश गएर नफर्केसम्मको अवधिको जिम्मा लिनुपर्छ,' उनले भने, 'कामदारले विदेशमा गएर दुःख पाउँदा व्यवसायी र सरकारको भूमिकामा बेलाबेला प्रश्न उठ्ने गरेको छ ।' उनले म्यानपावर व्यवसायीलाई कामदारको माग ल्याउन अस्वस्थ प्रतिस्पर्धा नगर्न पनि आग्रह गरे । 'कामदारको माग ल्याउन अस्वस्थ प्रतिस्पर्धा गर्नु हुँदैन,' उनले भने, 'बरु कम लागतमा राम्रो माग ल्याउनुपर्छ ।' करिब साढे ७ सयको संख्यामा रहेका अधिकांश म्यानपावर व्यवसायीले कामदारको माग ल्याउन विदेशमा रहेका एजेन्टलाई कमिसन दिने प्रतिस्पर्धा गर्दै आएका छन् । यसले कामदारमा आर्थिक बोझ थपिने गरेको छ । एमाले अध्यक्ष केपी ओलीले वैदेशिक रोजगार व्यवसाय मर्यादित बनाउन आग्रह गरे । 'वैदेशिक रोजगारीका नाममा मान्छेको घर खेत उडाइदिने काम भएको छ । एउटा काम भनेर अर्कै काम लगाउने र भनेजति तलब नदिने काम भएको छ,' उनले भने, 'यो व्यवसाय मर्यादित, विश्वसनीय र आकर्षक बनाउन ध्यान दिनुपर्छ ।'

Published on: 4 December 2014 | Kantipur

Back to list

;