s

कामदार जापान पठाउन एजेन्सीको उदासीनता

योगेश खतिवडा

जापानले नेपालबाट औद्यागिक प्रशिक्षार्थी कामदार खुला गर्दा हौसिएका म्यानपावर कम्पनीको उत्साह अहिले हराएको छ । प्रशिक्षार्थी कामदार पठाउन नसकेपछि कामदार पठाउने अनुमति पाएका ६३ संस्थाले यस वर्ष अनुमतिपत्र समेत नवीकरण गराएका छैनन् ।

जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) अन्तर्गत १ सय ४७ वटा संस्थाले मात्र अनुमतिपत्र नवीकरण गरेका छन् । गत वर्ष उद्योग वाणिज्य महासंघ सहित अनुमति लिने एजेन्सीको संख्या २ सय १० वटा थियो ।

नेपाली कामदारको धेरै माग नआउनु, झन्झटिलो कागजी प्रक्रिया, प्रवर्द्धन तथा सेवा शुल्क थोरै र सरकारी पक्षबाट बजार प्रवर्द्धन गर्न नसक्नु जस्ता कारणले जापान पठाउन नसकिएको म्यानपावर कम्पनीले बताउँदै आएका छन् ।

सरकारले जापान कामदार पठाउन इच्छुक कम्पनीलाई यस वर्ष थप गरेको छैन । जिट्को अन्तर्गत प्रशिक्षार्थी कामदार पठाउन इच्छुक कम्पनीले जनवरीभित्र आवेदन दिन वैदेशिक रोजगार विभागले सूचना जारी गर्नुपर्ने कानुनी प्रावधान छ । यस पटक विभागले सूचना जारी गरेन ।

विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले जापानी कम्पनीको माग अनुसार प्रशिक्षार्थी कामदार पठाउन नसकेकाले कम्पनीको संख्या कटौती गर्नु आवश्यक भएको बताए । 'धेरै एजेन्सीले जिट्को अन्तर्गत कामदार पठाउनुलाई खाडी मुलुकमा पठाएजस्तै सोचेका छन्,' उनले भने, 'यो पूर्णरूपमा गलत हो ।'

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १० वटा एजेन्सीले ९७ जना प्रशिक्षार्थी कामदार जापान पठाएको विभागले जनाएको छ । यस्तै यस अवधिमा २३ एजेन्सीले ४ सय २४ जना कामदारको माग ल्याएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अनुसार झन्झटिलो प्रक्रियाको कारण म्यानपावर कम्पनीहरूले न्यून संख्यामा मात्र कामदारको माग ल्याउन र पठाउन सकेको जनाएको छ । 'मेरो कम्पनीले दुई वर्षमा कुनै माग ल्याउन सकेको छैन,' संघका अध्यक्ष समेत रहेका एसओएस म्यानपावर सर्भिसेजका अध्यक्ष सोमलाल बटाजुले भने । उनले सूचीकृत भएका कम्पनीको संख्या बढिरहेको बताए ।

विभिन्न समस्याको कारण ६३ कम्पनीले नवीकरण गर्न नचाहेको उनको भनाइ छ । विभागले नवीकरण नगर्ने कम्पनीलाई सूचीबाट हटाउने जनाएको छ । बाँकी रहेका कम्पनीको सूची छिट्टै जिट्कोलाई पठाउने उसको भनाइ छ ।

म्यानपावर कम्पनीहरूका अनुसार जापानका कम्पनीले खोजे अनुसारका कामदार नेपालमा पाउन गाह्रो छ । जिट्को अन्र्तगत कामदार पठाउन सम्बन्धित काममा अनुभवी हुनुपर्छ । यस्तै खेतीमा काम गर्नेसँग कृषि उद्योगमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्छ । अहिलेसम्म जापानबाट आएका माग माछापालन र कृषि क्षेत्रमा छन् ।

Published on: 2 February 2012 |  Kantipur

Back to list

;