s

कामदार लुट्न ‘नेपालीभाषी संलग्न’

भारतमा काम गरेर फर्किदै गर्दा गत माघ २१ गते सुर्खेत, साटाखानी–६ का जंगबहादुर राई बाटोमै लुटिए। भारतको गोन्डास्थित रेल स्टेसनमा लुटेरा समूहले नियन्त्रणमा लिई साथमा रहेको ६ हजार भारतीय रुपैयाँ लुटेपछि बेखर्ची भएका उनी नेपाल–भारत सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाको सम्पर्कमा आए।

प्रहरीलाई दिएको बयानमा उनले सुरुमा ‘नेपाली भाषा बोल्ने व्यक्तिले सोधपुछ गरेको र खानेकुरा बाँडीचुँडी खाएको केही बेरमा आफू बेहोस भएको' भनेका थिए। उनको बयानअनुसार अनुसन्धान गर्दै जाँदा प्रहरीले पनि भारतबाट काम गरेर फर्कने नेपालीमाथिको लुटपाटमा नेपालीभाषीको संलग्नतालाई नकार्न सकेन।

माघ २७ गते बाँके, कम्दी–९ का निर्मल चलाउने भारतको लखनउबाट फर्किदै गर्दा लुटपाटमा परे। उनलाई पनि नेपालीभाषा बोल्ने समूहले नसालु पदार्थ मिसाएको खानेकुरा खुवाएर २७ हजार भारतीय रुपैयाँ लुटेको थियो। अनुसन्धान गर्दै जाँदा प्रहरीले चलाउनेमाथिको लुटपाटमा पनि नेपालीभाषीकै संलग्नता पुष्टि गर्योअ।

भारतबाट काम गरेर फर्किएका नेपालीमाथि भएका लुटपाटका प्रतिनिधि घटना हुन् यी। लुटपाटमा संलग्नले हिन्दी र नेपाली भाषा बोल्ने गरेको पाइएकाले यसमा नेपालका आपराधिक समूह पनि जोडिएको हुन सक्ने प्रहरीको आशंका छ।

भारतको गोन्डामा हालै मात्र प्युठानका दुई युवक लुटिएको घटनामा पनि नेपाली भाषा बोल्ने व्यक्ति पनि संलग्न रहेको पाइएको छ। गोन्डास्थित रेलस्टेसननजिकै आपराधिक समूहले प्युठान, धर्मवती–४ का २४ वर्षीय सुरज कुमाल र १७ वर्षीय माने कुमाललाई कब्जामा लिएर लुटेको थियो। सुरजको साथबाट २२ हजार र मानेको साथबाट २९ हजार ५ सय भारतीय रुपैयाँ लुटिएको उनीहरूले बताएका छन्। बेखर्ची भएर नेपालगन्ज आइपुगेका कुमालद्वयलाई उद्धार गरी प्रहरीले घर पठाएको छ। फुत्केर आएका युवकले त्यहाँ करिब १० जना नेपालीलाई बेहोस अवस्थामा बन्धक बनाइएको बताए पनि अहिलेसम्म बाँके प्रहरीले पुष्टि गर्न सकेको छैन। ‘भारतीय काउन्टर पार्टसँग बुझ्दा गोन्डामा नेपाली कामदारलाई बन्धक बनाएको देखिँदैन,' जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुशीलसिंह राठौरले भने।

भारतमा काम गरेर घर फर्किने नेपाली पटक–पटक लुटिइरहे पनि रोकथामको पहल हुन सकेको छैन। प्रायः घटनामा नेपाली भाषा बोल्ने व्यक्तिलाई विश्वास गरेर उनीहरूले दिएको खानेकुरा खाँदा बेहोस भई लुटपाटमा पर्ने गरेको सीमास्थित इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) कृष्ण सोनीले बताए। इप्रका जमुनाहाका अनुसार चालू आर्थिक वर्षको चैत तेस्रो सातासम्म १४ जना नेपाली लुटिएको घटना सार्वजनिक भएको छ। जसअनुसार साउन महिनामा १, भदौमा ४, असोजमा ३, कात्तिकमा १, माघमा २ र चैत महिनामा ३ जना नेपाली लुटिएका छन्।

‘नेपाली दाजुभाइ यात्रामा त्यति सावधानी अपनाउँदैनन्, नेपालीभाषी भएकै कारण नजिकिँदा त्यही व्यक्तिले बेहोस बनाएर लुटेको पत्तो पाउँदैनन्,' सोनीले भने।

कमाइ गरेर घर फर्किने नेपाली नै लुटिनुमा नेपाली र भारतीय आपराधिक समूहको संलग्नता हुन सक्ने माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाको आशंका छ। ‘घर फर्किने कामदारलाई लुट्न लुटेरा समूह बाटो ढुकेर बस्ने गरेको विभिन्न घटनाबाट देखियो,' उनले भने, ‘नेपाली लुटिँदै जादाँ अहिलेसम्म भारत र नेपाल पक्षले ठोस पहल गरेको देखिँदैन।' रेल र बस स्टेसनमा नेपाली बढी असुरक्षित देखिएको उनले बताए। लुटपाटका घटना रोकथामका लागि आफूहरूले कयौं पटक भारतीय प्रहरी, प्रशासनको ध्यानाकर्षण गराए पनि सहयोग नगरेको कोइरालाको आरोप छ। आपराधिक समूहको कब्जामा नेपाली कामदार रहेको पछिल्लो घटनाबारे सत्यतथ्य पत्ता लगाउन अहिलेसम्म नेपाली पक्षले भारतीयसँग समन्वय नगरेको उनले गुनासो गरेका छन्।

Published on: 6 April 2015 | Nagrik

Back to list

;