s

कमाउन गएका पतिको कतारमै मृत्यु, एक महिनादेखि शवको प्रतीक्षा

सुरेन्द्रकुमार कामती

 

सिराहाको बुधौराकी ३० वर्षीया ममतादेवी यादव कोही नयाँ मान्छे भेट्नासाथ आँसु थाम्न सक्दिनन् । पतिको मृत्युको खबर सुनेदेखि ममतादेवीलाई खाना रुचेको छैन, उनी कोहीसँग बोल्न मन गर्दिनन्।

वैदेशिक रोजगारीमा गएका काशिन्द्र यादवको एक महिनाअघि कतारमा मृत्यु भएपछि उनका आमाबुबा, पत्नी र छोराछोरीको बिचल्ली भएको छ।

पतिको मृत्युपछि माइत बस्दै आएकी ममतादेवी अहिले बोल्न सक्ने अवस्थामा छैनन् । तीन वर्षीया छोरी प्रिया, पाँच वर्षीय छोरा आकाश र सात वर्षका आदर्श पनि बुबाको मृत्युको शोकमा छन् ।

खाना नखाँदा र चिन्ता मात्रै गरिरहँदा ममता पटकपटक बेहोस हुँदै आएकी आमा सुमित्रादेवी यादवले सुनाइन्। तीन छोराछोरी हुर्काउने र राम्रो शिक्षादीक्षा प्रदान गर्ने उद्देश्य लिएर बिदेसिएका पतिको उतै मृत्यु भएपछि ममतादेवीको सपना चकनाचुर भएको छ। उनी अन्धकार भविष्यको चिन्ताले पिरोलिएकी छिन्।

२१ चैतमा कतारमा मृत्यु भएका काशिन्द्रको शव अझै उतै छ । उनी गत २० कात्तिकमा रोजगारीको लागि कतार पुगेका थिए। उड आर्किटेक्चरल वर्क नामक कम्पनीमा काम गर्दै आएका काशिन्द्रको हृदयघातको कारण मृत्यु भएको उनका बुबा कारी यादवले बताए।

गाउँ शोकमा, पूजापाठ बन्द

काशिन्द्रको मृत्यु भएको एक महिना पुगे पनि शव नेपाल आइपुगेको छैन । शवको दाहसंस्कार नभएकाले बुधौरा गाउँ अहिले पनि शोकमै छ।

शोक परेकाले अहिले पूरै गाउँमा पूजापाठलगायतका धार्मिक कार्य रोकिएको स्थानीय अभिनेश यादवले बताए। ‘हाम्रो नातागोता ठूलो छ,’ अभिनेशले भने, ‘शव नआएसम्म र विधिअनुसार संस्कार नगरेसम्म पूजापाठ गर्नुहुँदैन, बार्नुपर्छ।’

कम्पनीले १३ अप्रिलमै काशिन्द्रको शव नेपाल पठाउने भने पनि अहिलेसम्म नआएको मृतकका दाजु रवीन्द्रले बताए। ‘पछि फेरि १८ अप्रिलमा पठाउने जानकारी आएको थियो,’ उनले भने, ‘तर, लकडाउनको कारण अझै आएको छैन, हामी शव कुरिरहेका छौँ।’ 

यतिवेला शोकाकूल परिवारजन कहिले लकडाउन खुल्छ र काशिन्द्रको शव नेपाल आउला भन्ने प्रतीक्षामा छन् । शव नआउँदा १३ दिनमा सकिने किरिया कर्म पनि लम्बिँदै गएको दाजु रवीन्द्रले बताए।

परिवारजन काशिन्द्रको मुख हेरेर शवको अन्तिम संस्कार गर्ने तयारीमा छन् । तर, लकडाउन लम्बिँदा उनीहरूको प्रतीक्षाको घडी पनि लम्बिँदै गएको छ ।

Published on: 3 May 2020 | Nayapatrika

Link

Back to list

;