s

'कमाउन गएको छोरा गुम्यो, कसको सहारामा बाँचूँ'

भारतको मुम्बईमा मजदुरी गर्दै आएका कपिलवस्तुका आठ जनाको आगलागीमा परेर निधन भएपछि आफन्त शोकमग्न छन्। गत शुक्रबार मुम्बईको भिवन्डीस्थित काठ उद्योगमा लागेको आगोमा परी कुसवाह गाविस, सतवरियाका पाँच, महुवाका दुई र बरइपुरका एक जनाको निधन भएको हो। उनीहरूमा सतवरियाका गौरी लोनिया, राजु लोनिया, मुन्नीलाल यादव, लौटु मुराउ र विक्रम रैदास, बरइपुर–८ का रामदयाल भर र नीरज चौधरी छन्।

महुवाका एक जनाको नाम खुल्न नसकेको प्रजिअ विनोदप्रकाश सिंहले जानकारी दिए। घटनामा सतवरियाकै तीन युवा विनोद यादव, घिरु लोनिया र दिनेश लोनिया सख्त घाइते छन्। उनीहरूको मुम्बईस्थित शिवाजी छत्रपति र साइन अस्पतालमा उपचार भइरहेको कुसवाह गाविस सचिव अनिरुद्धसिंह कुर्मीले जानकारी दिए। उनीहरू सबै भारत, उत्तर प्रदेशको खलिलाबादका इस्तियाक मुसलमानमार्फत उक्त काष्ठ उद्योगमा मजुदरी गर्न गएका हुन्।

घटनापछि आफन्त वियोगको शोकले डेढ सय परिवारको सतवरिया गाउँमा शनिबारदेखि कसैको घरमा चुलो बलेको छैन। ६ महिनाअघि मुम्बई गएका दुई छोरा आगलागीमा परेपछि पटेश्वरी लोनियाको परिवारमा रुवाबासी चलेको छ। ३२ वर्षे गौरी र २५ वर्षे राजुको निधन भएपछि आमा उत्तमा अर्धचेत छिन्। उनी घरीघरी छाती पिट्दै बिलौना गरिरहन्छिन्, 'पैसा कमाउन गएका छोरा सधैंका लागि बिदा भए, अब कसको सहारामा बाँचूँ?' पिता पटेश्वरी छोराका शव लिन मुम्बई गएका छन्। राजुकी पत्नी विद्यामतीको स्थिति झन् बेहाल छ। काखमा डेढ वर्षीय छोरा च्यापेर उनी घरी टोलाउँछिन् त घरी बर्बराउँछिन्। रोएर आँखा रातै छन्। अनुहार निस्तेज छ।

१५ दिनअघि मात्रै मुम्बई गएका ३२ वर्षे लौटुको मृत्युपछि पत्नी शान्ति मुराउ र चार नाबालक सन्तान बिचल्लीमा छन्। नौ वर्षमुनिका ३ छोरा र १ छोरी अनाथ भएपछि शान्तिको बक बसेको छ। 'परिवार पाल्नै धौधौ भएपछि उनी मुम्बई छिरेका थिए,' लौटुका छिमेकीले बताए, 'अब नाबालक छोरा र शान्तिको बिजोग हुने भएको छ।'

श्यामदेव यादवका दुई छोरा मुन्नीलाल र विनोद ६ महिनाअघि मुम्बई पुगेका थिए। दुर्घटनामा मुन्नीको निधन भयो भने विनोद सख्त घाइते छन्। विवाहित दुवैको घरमा रुवाबासी चलेको छ। घटनालगत्तै पिता श्यामदेव मुम्बई लागेका छन्। त्यसै गरी १४ दिनअघि मात्र कमाउन भारत गएका १४ वर्षीय छोरा विक्रमलाई आगोले निलेपछि आमा राजमती घरीघरी मूर्च्छित भइरहन्छिन्। 'पूरै गाउँमा कोलाहल छ, सबै पीडामा छन्। कसैले कसैलाई सम्झाउने स्थिति छैन,' स्थानीय लौटु रैदास भन्छन्।

यसैबीच प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको अगुवाइमा सुरक्षा निकायप्रमुखसहितको टोलीले आइतबार सतवरिया, बरइपुर र महुवा पुगी पीडित परिवारसँग भेट गरेको छ। प्रहरी उपरीक्षक विक्रम गुरुङ, सशस्त्र प्रहरी उपरीक्षक मधुकृष्ण गड्तौला, राष्ट्रिय अनुसन्धानका प्रहरी नायब उपरीक्षक ठाकुरचन्द केसीसहितको टोलीले मृतकका परिवारलाई सान्त्वना दियो।

प्रजिअ सिंहले घटनालाई दुःखद उल्लेख गर्दै विदेशी भूमिमा भएकाले राहत र अन्य सुविधा प्रदान गर्न कठिनाइ रहेको बताए। 'राहत र क्षतिपूर्तिका लागि मन्त्रालयमा सिफारिस पठाउनेछु, रकम आए तत्कालै वितरण गरिनेछ,' उनले भने। तत्कालका लागि पीडित परिवारलाई केही रकम वितरण गरिने उनले जनाए। उक्त क्षेत्रबाट विजयी सभासद सुरेन्द्र आचार्यले पनि पीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीयका अनुसार आर्थिक विपन्नताकै कारण उक्त गाउँका ५ दर्जनबढी युवा रोजगारीका लागि बिदेसिएका छन्।

Published on: 29 December 2014 | Nagarik

Back to list

;