s

कमाउन भारत गएका कोरोना महामारीका कारण घर फिर्ता हुँदै

मुना हमाल

सुर्खेत, चैत १५ गते । दैलेखको ठाँटीकाध गाउँपालिका रमित विक कोरोना महामारीको कहर कम हुँदै गएपछि गएको मंसिरमा फेरी कमाइका लागि भारत जानुभयो । त्यसअघि पनि उहाँ कोरोनाका कारण लकडाउन भएका बेलामा भारतमै हुनुहुन्थ्यो । कोरोनाको जोखिम बढ्दै जाँदा र सबैतिर लकडाउन हुँदा गएको जेठमा घर फर्किनु भएको थियो । घर फर्किदा त्यस बेलामा उहाँले निकै सास्ती खेप्नुपरेको थियो । पुनः भारतमा कोरोनाको जोखिम बढ्दै गएपछि उहाँले अहिले घर फर्किनु भएको छ । उहाँसहित गाउँका १४ जना भारत फर्किएको उहाँले जानकारी दिनुभयो । भारतकै कमाईले परिवारको जीवन धान्दै आउनु भएकाले उहाँले गत जेठमा भारतबाट फर्किएका बेला जसरी दुःख नहोस् भनेर बेलैमा घर फर्किएको बताउनुभयो 

पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढेको छ । फेरि दुःख पाइने डरले कमाईका लागि भारत गएकाहरु घर फर्किन थालेका छन् । कालिकोटको राष्कोट नगरपालिकाका नवराज शाही पनि कोरोनाको जोखिम बढ्दै गएपछि भारतबाट घर फर्किनुभएको छ । अघिल्लो पटक उनी पनि भारतमा लकडाउन भएपछि घर फर्किनुभएको थियो । त्यस बेलामा उहाँले आफ्ना सामान भारतमै छोड्नुभएको थियो । अहिले उहाँ भारत गएको दुई हप्ता मात्रै भएको थियो । अहिले कोरोनाको जोखिम बढेपछि पहिले छुटेको सामान लिएर फर्र्किएको उहाँले जानकारी दिनुभयो । ‘खेतीले वर्षभरी खान पुग्दैन । भारतकै कमाइले नै जीवन धान्दै आएका थियौँ’ उहाँले भन्नुभयो, ‘कोरोनाका जोखिम बढेपछि पुनः फर्कियौँ ।’ 

सरकारले अहिले भारतबाट आउनेको संख्या दिनप्रति दिन बढ्दै गएपछि पूूर्व सावधानीअपनाएको छ । अघिल्लो पटक कर्णालीमा करिब ६० हजार भारतबाट फर्किएका थिए । गाउँमा रोजगारी नभएपछि धेरै जसो फेरि भारत गएका थिए । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशका नाकाहरुमा यही चैत ११ गतेदेखि हेल्थ डेक्सहरु राखिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काले बबई, कुइने, कपुरकोट र सुर्खेत विमानस्थलमा हेल्थ डेक्स राखिएको र भारतबाट आएकालाई निगरानी राखिएको जानकारी दिनुुभयो । हेल्थ डेक्समा भारतबाट आएकाहरुको ज्वरो नाप्ने गरिएको छ । 

भारतबाट आएकाहरु सम्पूर्णको टेलिफोनसहित विवरण राखिएको र सम्पर्कमा रहिरहन भनिएको उहाँले बताउनुुभयो । उहाँका अनुसार लक्ष्ण देखिएकाहरुलाई आवश्यक अनुसार कोरोना परीक्षण गर्ने गरिएको र होम आइसोलेशनमा बस्न भनिएको छ । यद्यपि अहिलेसम्म लक्षण देखिएका भेटिएका छैनन् । अहिले बबई नाका हुुँदै भारतबाट कर्णालीका पछिल्लो तीनमा करिब पाँच सय जना आएका छन् । भारतबाट दिनप्रतिदिन आउनेको संख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । 

भारतमा कोरोना संक्रमणको दर बढेपछि यसको प्रभाव कर्णाली प्रदेशमा पनि परेको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या सात हजार ५८५ पुगेको छ । त्यस मध्ये सात हजार चार सय कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण ३१ जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय बिरामीको संख्या ११ रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

Published on: 29 March 2021 | Gorkhapatra

Link

Back to list

;