s

कमलाको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे दूतावासका प्रतिनिधि

उपचार खर्च मिनाह गरिदिन अस्पताललाई आग्रह

रुपेश अधिकारी

ल्यूकिमिया ब्लड क्यान्सरले थलिएर दुबई अस्पतालमा उपचाररत काभ्रेकी कमला गिरीको स्वास्थ्य अवस्थाबारे नेपाली दूतावास युएईले जानकारी लिएको छ ।

दूतावासका उपनियोग प्रमुख सागरप्रसाद फुयाँल र जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमले बुधबार अस्पतलामा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।कमलाका श्रीमान बिमल गिरीले दूतावासका प्रतिनिधिलाई उनको स्वास्थ्यमा भइरहेको सुधार र उपचारका बारेमा जानकारी गराए । उनले श्रीमतीको हालसम्मको उपचारमा लागेको सम्पूर्ण खर्च छुट गरिदिनसमेत फुयाँलसँग आग्रह गरे ।
 
अनलाइनखबरसँगको कुराकानीमा गिरीले भने, ‘दूतावासबाट सरहरु आउनुभयो । अब केहीँ आशा पलाएको छ । उनको स्वास्थ्यमा पनि सुधार हुँदैछ । तर, थप उपचारमा समस्या छ । साथीभाइको सहयोगमा अहिले नियमित औषधि त खुवाउँदै छु । यतिका रकम मैले तिर्न सक्ने अवस्था छैन । उपचारमा लागेको खर्च छुटका लागि दूतावासले पहल गरिदियोस् ।’कमलाको उपचारमा हालसम्म चार लाख दिराम (एक करोड २० लाख बढी) खर्च भइसकेकोे छ ।
 
उनको कुरा छेउमै रहेर सुनिरहेका उपनियोग प्रमुख फुयाँलले अभिभावकत्व दर्शाउँदै विमललाई मनोबल उच्च राख्न आग्रह गरेका छन् । उपचार खर्च मिनाहा गराउन दूतावासले पहल थालेको उनले जनाए ।
 
उपचार खर्च मिनाह गरिदिन अस्पताललाई आग्रह
 
बिमारीको परिवारको आर्थिक अवस्थाबारे अस्पताललाई अवगत गराउँदै उपचारमा लागेको खर्च छुट गरिदिन दूतावासले पत्रमार्फत आग्रह गरेको थियोे । तर, दूतावासबाट आधिकारिक प्रतिनिधि आउनुपर्ने जनाउँदै अस्पतालले पत्र बुझ्न मानेको थिएन ।
 
बुधबार दूतावासको टोलीले कमलाको उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग समेत भेट गरेको छ ।अस्पताल प्रशासनसँको भेटमा उपनियोग प्रमुख फुयाँलले बिमारीको परिवारको आर्थिक अवस्था कमजोर रहेको जनाउँदै उपचार खर्च मिनाहा गरिदिन आग्रह गरेका छन् । तर, सबै रकम मिनाहा गर्ने सवालमा अस्पताल प्रशासनले माथिल्लो निकायमा जानकारी गराउनुपर्ने र त्यहाँबाट मात्र निर्णय गर्न सकिने जनाएको छ ।अस्पताल संचालक युएई बाहिर रहेको र उनी आएपछि थप पहल गरिने फुयाँलले जानकारी दिए ।
 
केमो गराउन आर्थिक समस्या
 
कमलालाई अझै ६ साता अस्पतालमै राख्नुपर्ने चिकित्सकले बताएका छन् । उनको ३ वटा केमो गराइसकेको र आगामी साता चौथोँ केमो गराउनुपर्ने उनीहरुले सुझाएका छन् । एकपटकको केमो गराउदाँ ७ हजार दिराम अर्थात २१ हजार रुपैयाँ खर्च लाग्छ । केमो गराउनसमेत आर्थिक समस्या भएकाले विमलले सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।
 
उनको उपचारमा सहयोग गर्न युएईमा रहेका नेपाली संघसंस्था तथा व्यक्तिहरुले तदारुकता देखाएका छन् । गैरआवासीय नेपाली संघ र नेपाली समाजका प्रमुखले बिमारी र उनका आफन्तलाई भेट गरी सहयोग गर्ने जनाएका छन् । यस्तै अबुधाबीमा गायक प्रकाश पौडेलको पहलमा सहयोग संकलन भइरहेको छ ।

Published on: 4 April 2019 | Onlinekhabar

Back to list

;